कुमारी कथा

लन्डन सहरको चकाचौधबाट पहिलो पटक काठमाडौं घुम्न आउँदाकी किशोरी इसावेला ट्रिका निम्ति यो ठाउँ अनौठो थियो। प्रथम दृष्टिमै प्रेम भनेजस्तै उनलाई काठमाडौंले मन्त्रमुग्ध तुल्यायो। ८० को दशकतिर झोछेँका गल्लीहरूतिर घुम्दै गरेका ती क्षण अहिले पनि उनको स्मृतिपटलमा ताजा छन्। थाहा थिएन उनी यो ठाउँमा आएर यहीको विषयवस्तुमाथि पुस्तक लेख्दै छिन्। तर, यो ठाउँ र यहाँका मान्छेको प्रेमले बाँधिरह्यो। र, तयार भएको छ त्यही प्रेमको एउटा चिनो- दी लिभिङ गडेज।

इसावेलाको चौथो पुस्तक बनेको छ नेपाली विषयवस्तुमा आधारित ‘दी लिभिङ गडेज।’ कुमारीबारे उनले उपन्यास लेख्न सुरु गरेकी थिइन्। पत्रकार र यात्रा लेखकका रूपमा यस क्षेत्रमा प्रवेश गरेकी उनले यो विषयलाई आख्यानभन्दा गैरआख्यानबाटै न्याय गर्न सकिने महसुस गरिन्। झन्डै १३ वर्षको भगीरथ प्रयत्नपछि तयार भएको उनको यो पुस्तक र उनको लेखकीय प्रवृत्तिमाथि गुणराज लुइँटेलले गरेको इमेल वार्ताका मुख्य अंश :

नेपालमा आफ्नो किताब सार्वजनिक हुने दिनको प्रतीक्षा गरिरहेको यो बेला तपाईं कस्तो महसुस गर्दै हुनुहुन्छ?
म निकै रोमाञ्चित भएकी छु। यो सार्वजनिक हुन १३ वर्ष लामो प्रतीक्षा गर्नु परेको छ। ती सम्पूर्ण समय, अनुभव र भेटघाटहरू पुस्तकमा अनुदित भएको सम्झिँदा अझै मलाई अविश्वासजस्तो हुन्छ।

म वर्तमान र पूर्वकुमारी, तिनका परिवार, हेरचाहकर्ता, ज्योतिषी, तान्त्रिक पुरोहित, विशेषगरी मेरा अनुसन्धान सहयोगी र यस विषयमा अनुसन्धान गर्न सघाउने विषयविज्ञ काशीनाथ तमोटलगायतका धेरैलाई धन्यवाद दिन प्रतीक्षारत छु। यो एउटा असाधारण यात्रा थियो। व्यक्तिगत तवरमा खासगरी यो एउटा थालनीमात्र हो भन्ने मलाई लाग्छ।

तपाईंले जीवित देवी कुमारीबारे कसरी थाहा पाउनुभयो? यस विषयमा लेख्नुपर्छ भन्ने किन ठान्नुभयो?
मैले जीवित देवीबारे १८ वर्षकी हुँदा थाहा पाएँ। म सन् १९८३ मा स्कुलको पढाइ सकेर फुर्सदको समयमा तीनजना साथीसँग काठमाडौं आएकी थिएँ, त्यसमध्ये एकजना चाहिँ पछि मेरा पति बनेका छन्। हामीले फ्रिक स्ट्रिट (झोछेँ) मा कोठा लिएका थियौं। त्यहाँबाट मास्तिर पुरानो राजदरबार हनुमानढोका देखिन्थ्यो।

संयोगले हाम्रो नजिकैको छिमेकी ढोका नै जीवित देवीको घर थियो। म उनीप्रति अत्यन्तै उत्सुक भएँ। राति दोस्रो तलाको झ्यालबाट रातो उज्यालोसहितको सानो आकृति यताउता गरेको देखिन्थ्यो। हामी उनलाई झ्यालमा एक झल्को हेर्न पाउने आशामा हरेक दिनजस्तो कुमारी छेँको आँगनमा पुग्थ्यौं।

त्यो बेला उनी बारेमा धेरै जानकारी पाउनु असम्भवजस्तै थियो। सन् १९९७ मा काठमाडौंमा बस्दै गरेका एकजना अंग्रेज साथीको पाहुना बन्न यहाँ आइपुगेपछि बल्ल मैले उनीबारे अलि बढी जानकारी पाएँ। अन्तत: मैले पूर्वकुमारी रश्मिला शाक्यलाई भेटेँ। त्यो भेटको आधारमा मैले बेलायतको सन्डे टाइम्सलाई एउटा लेख लेखेँ।

सन् २००१ मा राजदरबार हत्याकाण्ड हुनुअघिसम्म मैले कुमारीबारे पुस्तक लेख्ने सोचेकी थिइनँ। म कुमारी र राजाहरूको सम्बन्धबारे जान्न चाहन्थेँ किन देशको सबैभन्दा शक्तिशाली हिन्दू शासकले घुँडा टेकेर सानी बौद्ध केटीसँग शासनको अनुमति माग्ने गर्थे। कसरी यो पद्धति आजको दिनसम्म पनि निरन्तर रह्यो भन्ने थाहा पाउन म उत्सुक थिएँ। यसबीच राजनीतिक घटनाक्रमहरू भएका छन्, राजतन्त्र उन्मूलन भएको छ।

र पनि राजनीतिक घटनाक्रमसँगै यो परम्पराले निरन्तरता पाएको छ अनि नयाँ गणतन्त्रमा पनि उनले अर्थपूर्ण भूमिका निर्वाह गर्नुपर्छ होला भन्ने मलाई जान्नु थियो। यसबाहेक उनलाई पूजा गरिरहेका सर्वसाधारणका निम्ति उनी को हुन् भन्ने जान्नु थियो। अनि मजस्ता नेपालबाहिर बस्ने व्यक्तिहरूका निम्ति पनि कुनै सन्देश होला भन्ने पनि थियो।

तपाईंलाई नेपाली सन्दर्भ बुझ्न कत्तिको गाह्रो भयो?
स्वाभाविक रूपमा एक पश्चिमा व्यक्तिका निम्ति एकजना जीवित व्यक्तिलाई देवीका रूपमा पुज्नु अनौठो लाग्ने पक्ष हो। क्रिश्चियन र जुडियजममा यस्तो केही छैन। हाम्रा एकमात्र ईश्वर निर्विवादरूपमा पुरुष हुन्। हाम्रो धर्ममा भएकी एकमात्र नारी आकृति भर्जिन मेरी निकै निष्क्रिय, समस्यायुक्त र सहायक भूमिमा मात्र छिन्। तिनी असल महिलाले के गर्नुपर्छ भन्ने प्रतिनिधित्व निम्तिमात्र गिर्जाघरमा आउँछिन्।

शक्तिशाली र विस्मयकारी छवि भएका मातृ शक्तिहरू भएको संस्कृतिबारे थाहा पाउनु र यसले समाजमा पार्ने प्रभावबारे बुझ्नु मेरा निम्ति रोमाञ्चक अनुभूति थियो। मैले आफ्नै संस्कृतिलाई आधारभूतरूपमै कति पितृसत्तात्मक छौं भनेर एउटा भिन्न आलोकमा अवलोकन गरेँ- कसरी हाम्रा महत्त्वपूर्ण प्राचीन मातृशक्ति स्थलमा गिर्जाघर स्थापना गरेर धेरै अगाडि हाम्रो मातृशक्ति परम्परालाई ध्वस्त पारियो र बिर्साइयो भन्ने बुझ्न पाएँ। हामीले मातृशक्तिको अवधारणालाई सम्पूर्णरूपमा बिर्सियौं र यो हाम्रो समाजमा बाल दुव्र्यबहार र महिला हिंसाका रूपमा राम्रैसँग प्रतिविम्बित पनि भएको छ।

मैले थाहा पाएसम्म तपाईंले यो पुस्तकमाथि काम गर्न थालेको निकै वर्ष भइसकेको छ। तपाईंलाई बेलाबेलामा यो विषय परित्याग गरौं जस्तो लाग्यो कि? वा यो विषय तपाईंका निम्ति एकदमै रोमाञ्चकजस्तो पनि भयो कि?
यो पुस्तक साँच्चिकै तयार होला त भन्ने जस्तो क्षण निश्चय पनि आएको थियो। साथै मैले मेरो विषयलाई न्याय गर्न सकुँला त भन्ने जस्तो अनुभूति पनि थियो। त्यसकारण यसले मलाई बढी चिन्तित तुल्याएको थियो। मलाई लाग्छ मैले त्यो पूरा गरेकी छु।

‘दी लिभिङ गडेज’ सुरुमा आख्यानका रूपमा लेख्न थालेकी थिएँ तर तत्कालै मलाई आख्यानभन्दा यो गैरआख्यानमै चित्ताकर्षक हुन्छ र त्यसरी नै लेख्नुपर्छ भन्ने महसुस भयो। पाठकलाई उनको बारेमा बताउने तीव्र इच्छाले मलाई तानिरह्यो। सत्यकथा मैले बताउनै पर्छ भन्ने लागेपछि आख्यानबाट गैरआख्यानमा लाग्ने सोच बनाएकी हुँ।

एकातिर यस विषयमा रहेका हल्लाको अन्त्य गर्नु थियो भने अर्कोतिर यो परम्पराबाट हामीले के सिक्न सक्छौं भनेर सिंगो संसारलाई बताउनुथियो। त्यसकारण पुस्तक तथ्यमा आधारित र वास्तवमै होसियारीपूर्वक अनुसन्धान गरेर लेखिएको छ।

यो पुस्तकमा तपाईंले के चित्रण गर्न खोज्नुभएको छ?
कुमारी परम्परासँग जोडिएका धेरै असत्य हल्लाहरू छन्। पूर्वकुमारीले कहिल्यै विवाह गर्दैनन्, जसले यी पूर्वजीवित देवीलाई विवाह गर्छ उसको नराम्रोसँग, रगत बान्ता गरेर मृत्यु हुन्छ भन्छन्।

कुमारीको अवधि सकिएपछि तिनीहरूलाई परित्याग गरिन्छ वा देहव्यापारका लागि मुम्बई वा बैंककमा लगिन्छ वा कुमारी रहेका बेला तिनलाई लागूऔषध खुवाइन्छ, दुव्र्यवहार गरिन्छ वा भोकभोकै राखिन्छ। मान्छेहरूले यसो भनेको म अहिले पनि सुन्दै छु। मैले पुस्तक लेख्नुको एउटा उद्देश्य यी हल्लाहरूलाई सधैंका निम्ति बन्द गर्नु हो।

केही व्यक्तिले कुमारी परम्परामाथि प्रश्न उठाउन थालेका छन्। यस्ता प्रश्नमा हामीले ध्यान दिनु आवश्यक छ?
तथ्य थाहा पाउनु अत्यन्तै आवश्यक छ। लेखक तथा पत्रकारका रूपमा हामीले इमान्दारीपूर्वक अनुसन्धान गर्नुपर्छ। यसका लागि अत्यन्तै बढी समय, बौद्धिक मूल्यांकन र आफैंलाई प्रश्न गर्न सक्नुपर्छ। तथ्यपूर्ण रिपोर्टिङको अभावमा धेरै किसिमका हल्ला चलाइएका छन्।

पूर्वकुमारी रश्मिला शाक्यले आफ्नो उत्कृष्ट जीवनी ‘फर्म गडेज टु मोर्टल’मार्फत यो पक्षलाई राम्ररी उजागर गरेकी छिन्। सनसनी मच्चाउन चाहने पत्रकारहरूका कारण उनी निकैपटक गलत किसिमले उद्घृत भएकी छिन्।

यसको अवधारणामै केही समस्या छन्। यो परम्परालाई बाहिरबाट एउटी बालिका एउटा घरमा सीमित, बाबुआमाबाट टाढा, विशेष अवसर बाहेका बाहिर जान नपाउने पक्षलाई हामी अन्धविश्वास र बाल दुव्र्यवहारको रूपमा हेर्न पुग्छौं। उनीप्रति संरक्षण भावबाट प्रेरित हुन्छौं। मानवअधिकारवादीले विगत दशकतिर उनीमाथि दुव्र्यवहार भएको, महिला र बालबालिकालाई न्यूनस्तरको देखाउने परम्पराका रूपमा आलोचना पनि गरे।

यो किन र कसरी भइरहेको छ भनेर राम्ररी हेर्ने हो भने यो तिनले भनेभन्दा एकदमै फरक छ। कुमारी खासमा महिला र बालबालिका सशक्तीकरण र संरक्षणको पथप्रदर्शक हुन्। उनी हरेक व्यक्ति विशेषगरी शक्तिमा रहेका पुरुषहरूका निम्ति वास्तविक शक्ति भौतिक सम्पत्ति, राजनीतिक संसारभन्दा पर हुन्छ र महिला सिर्जना, हरेक महिलाभित्र चम्किने जीवन जुन पूजनीय र प्रशंसनीय छ भन्ने सन्देश हुन्।

यो पक्षलाई हामी सबैले बुझ्नु आवश्यक छ। यो ठीकठाकसँग चलेको परम्पराभन्दा बाहिर गएर विश्वव्यापीरूपमा महिला र बालबालिका माथि भएका अन्य हिंसालाई हेर्नुपर्छ।

म प्राय: सोच्ने गर्छु बेलायतका प्रधानमन्त्रीले प्रत्येक वर्ष एउटी बालिकासँगै यसैगरी झुकेर शासनको अनुमति माग्दाको क्षण कति सुखद हुन्थ्यो होला। वास्तवमा सबैले र विशेषगरी शक्तिमा रहेका प्रहरी, सेना, राजनीतिज्ञ, बैंकर, डाक्टर, प्रधानाध्यापक, शिक्षक, अध्यागमन अधिकृत पुरुषहरूले नियमित रूपमा बालिकाको पाउमा शिर राख्ने हो भने यो संसार कत्ति धेरै परिवर्तन हुन्थ्यो होला।

के यो पुस्तक संसारभर मन पराइन्छ होला? पाठकले यो पुस्तक किन पढ्नुपर्छ?
मलाई विश्वास छ यो पुस्तकप्रति संसारभरि रुचि छ। विशेषगरी यो समय र युगमा कुमारी पूजाले हामीलाई सिकाउनुपर्ने पक्ष धेरै छन्। उनलाई पूजा गरेर विश्वव्यापी प्रेम र दया प्रदर्शन गरेका छन्। यसले महिला र बालबालिकालाई सम्मान गर्न सिकाउँछ, जुन हामीलाई सम्झाउनुपर्ने भएको छ।

अहिलेलाई यो किताब पेन्गुइन इन्डियाले प्रकाशन गरेको हुनाले नेपाल र भारतीय उपमहाद्वीपमा मात्र उपलब्ध छ। बेलायती र अमेरिकी प्रकाशकले पनि यसलाई चाँडै प्रकाशन गर्नेछन् भन्ने विश्वास मलाई छ।

यो अंग्रेजीमा छापिएको नेपाली कथा हो। तपाईंलाई यो नेपालीमा पनि प्रकाशित होस् भन्ने लाग्दैन?
म यो नेपाली र नेवारी दुवैमा अनुदित होस् भन्ने चाहन्छु। नेपाली पाठकले समेत यसलाई रोचक ठान्नेछन् भन्नेमा म विश्वस्त छु। काशीनाथ तमोटको सहयोगमा कुमारी परम्परासम्बन्धी नयाँ र रोमाञ्चक तथ्यहरू फेला परेका छन्।

धेरै मानिसले सोचेभन्दा निकै नै पुरानो छ यो परम्परा। मैले परम्परागत धेरै किंवदन्तीहरूलाई पनि किताबमा जोडेकी छु, जससँग पाठकहरू परिचित हुनेछन्। स्वस्थानीमा उल्लेखित शिव र सतीको कथा मलाई विशेष मनपर्छ। सतीलाई शक्तिशाली मातृदेवीका रूपमा आकर्षक रूपमा प्रस्तुत गरिएको छ, जसका अगाडि शिवसमेत डराउँछन्।

तपाईंलाई केले लेखनमा आकर्षित गर्छ?
जहाँसम्म म सम्झन्छु, मलाई लेखनले सधैं आकर्षित गरेको छ। मैले बाल्यवस्थामै नाटक लेखेकी थिएँ, जहाँ आफूलाई त्यसकी नायिकाको रूपमा राखेकी थिएँ। मैले कल्पना गरेको केटा हातहतियारले सज्जित मध्यकालीन भलादमी सिपाही (नाइट) र मेरा बहिनीहरूलाई दासको भूमिकामा राखेकी थिएँ। मलाई लाग्छ सबैले स्वाभाविकरूपमा लेखनलाई रुचाउँछन्। म नलेखी बस्ने कल्पना गर्न सक्दिनँ।

कसैले भन्न लागेको कुरा बताइदिने क्षमता अत्यन्तै आल्हादकारी हुन्छ। प्राय: कुनै विषयबारे लेख्न नबसुञ्जेल म के सोच्छु भन्ने म आफैंलाई थाहा हुँदैन। यो गहिरो प्रक्रियाले लेखनलाई अर्थपूर्ण बनाउँछ।

तपाईंको पहिलो भ्रमण र पुस्तक लेखनका निम्ति अनुसन्धान गर्न आउँदाको नेपालमा के फरक पाउनुभयो?
भौतिक परिवर्तनका हिसाबले काठमाडौंमा नाटकीय परिवर्तन भएका छन्। ८० को दशकमा हामी बौद्धतिरका धानखेतमा साइकल कुदाउँथ्यौं। ट्राफिक चोकमा पीपललगायतका ठूल्ठूला रूख देखिन्थे। उपत्यकालाई चक्रपथले छुट्ट्याएको थिएन र थोरैमात्र प्रदूषण थियो। मोटरसाइकल र ट्रकले ठक्कर दिने डर नमानी स्वयम्भूस म हिँड्न सकिन्थ्यो। नदीहरू विषाक्त भइसकेका थिएनन्, कञ्चन पानी भएका तलाउ र फोहराहरू थिए।

यो सुन्दर उपत्यकाको अनियन्त्रित सहरी विकासले बिगारेको वातावरणबाट मुटु छियाछिया हुन्छ। यसकारण पर्यटकहरू यहाँ धेरैबेर रहन इच्छुक हुँदैनन्। त्यसैले उनीहरू यो फक्रिँदै गरेको यो महानगरलाई एक झलक हेरेर सीधै पदयात्रा जान्छन् वा भुटानतिर उड्छन्। अझै पनि काठमाडौंमा हेर्नुपर्ने धेरै कुरा छन्। काठमाडौं, पाटन र भक्तपुर दरबार क्षेत्रमा भएको पुनस्र्थापनाको काम विस्मित पार्ने खालको छ।

काठमाडौं उपत्यका संरक्षण कोषले उत्कृष्ट काम गरेको छ। मैले किशोरवयमा देखेका यहाँका ढल्दै गरेका प्यागोडा शैलीका मन्दिरहरू फेरि उभिएका छन्। यी संसारमै सबैभन्दा सुन्दर सहरी ठाउँ हुन् भन्ने मलाई लाग्छ।

अन्नपूर्ण पोस्ट्, फागुन २४, २०७०

 



© grluitel.com || Site by: Turup Sangroula