नोबेल बिजेताका काँधमा चढेर र्‍यालीमा जान्थे बासु

बाल श्रम विरूद्ध विश्व र्‍यालीमा काँधमा चढेर सहभागी हुँदै बासु।

भारतीय बाल अधिकारकर्मी कैलाश सत्यार्थीले पाकिस्तानी शिक्षाकर्मी किशोरी मलाला युसुफजायीसँगै यस वर्षको नोबेल शान्ति पुरस्कार पाएपछि भारतीय सञ्चार माध्यमहरूले उनको कथा भन्न यस्ता पात्रलाई पनि खोजे जसलाई उनले सडकबाट टिपेर काँधमा चढाएका थिए।

काठमाडौंका सडक वालक बासु राईलाई बाल दासताविरूद्ध क्रियाशील अधिकारकर्मी सत्यार्थीले फिलिपिन्सको राजधानी मनिलामा भेटेका थिए। नौ वर्षे ती टाठा बालकका व्यवहारले उनलाई यसरी तान्यो कि त्यसपछि उनीहरू जीवन र अभियानकै अभिन्न बन्न पुगे।
‘हामी र्‍यालीमा जाँदा उहाँ मलाई काँधमा बोकेर हिड्नु हुन्थ्यो,’ सत्यार्थीले नोबेल पाएको घोषणापछि टाइम्स लाइभ टिभीले बताएको एउटा कार्यक्रममा अन्तर्वार्ता दिएर फर्केका भावुक बासुले सेतोपाटीसँग भने, ‘त्यो साँच्चिकै काँधमा काँध मिलाएर हिडेको अवस्था थियो।’

कैशाल सत्यार्थीसँग उनको रिहाविटेसन सेन्टर मुक्ति आश्रम अगाडि—


बालबालिकाको क्षेत्रमा क्रियाशील गैर सरकारी संस्था सिविनले राईलाई सन् १९९८ मा मनिला लिएर गएको थियो। त्यही सत्यार्थीले बासुलाई देखेका थिए। ‘सुरुमा त यी बाक्ला र काला दाह्री भएका मान्छेसँग बोल्न पनि डर लागेको थियो,’ वासु सम्झिन्छन्, ‘पछि उहाँ आफैं आएर मसँग कुरा गर्नुभयो।’

‘तिमी भविश्यमा बालबालिकाका समस्याका निम्ति कसरी लड्न चाहन्छौं?’ सत्यार्थीले त्यो बेला उनलाई सोधेका थिए, ‘हामीले हाम्रो अधिकार माग्नु पर्छ भन्ने जवाफ दिएपछि उहाँ निकै खुसी हुनु भयो।’
मोडेल बन्ने सपना बोकेकी आमाले छोडेर गएपछि उनी बाबुसँग एक्लै भए। चार वर्षको उमेरमा बाबुको पनि मृत्यु भएपछि यिनी सडकमा पुगेका थिए। सडकमै बिरामी भएर मुर्छित भएपछि उनी सिविन पुर्‍याइएका थिए।
मनिलामा सत्यार्थीसँग भेट भएपछि बासु ६ महिनासम्म उनीसँग रहे र विश्व पदयात्रा अभियानकै क्रममा २० वटा मुलुकको भ्रमणमा सरिक भए।
‘उहाँले ममा केही प्रतिभा देख्नुभयो,’ बासु भन्छन्, ‘मैले पनि उहाँबाट धेरै कुरा सिक्ने मौका पाएँ। बाल अधिकार, बाल श्रमजस्ता विषयमा उहाँले मलाई सिकाउनु भयो।’
‘आफ्नो जीवनमा जेसुकै घटना हुन्छ, त्यसका निम्ति आफैं संघर्ष गर्नुपर्छ,’ सत्यार्थीले उनलाई भन्ने गरेका थिए। बासुलाई सत्यार्थीको मन परेको कुरा चाहिँ अरूका निम्ति लड्न तयार हुनु नै हो।
तीस वर्षअघिको भारतमा विश्वविद्यालयको प्राध्यापक र इलेक्ट्रोनिक इन्जिनियरको पेशा निकै सुरक्षित र फाइदा दिने किसिमको थियो। तर, सत्यार्थीले तिनलाई तिलाञ्जली दिएर बाल श्रम विरूद्ध क्रियाशील भए। त्यस क्रममा यिनीमाथि भौतिक आक्रमण हुँदा समेत कहिल्यै कर्तव्यबाट च्युत भएनन्।
बासु प्रत्येक साता कम्तिमा पाँच पटकजति दिल्लीस्थित सत्यार्थीको घरमा जान्छन्। यिनी घरमा पुगेनन् भने सत्यार्थी आफैंले पनि घन्टौ टेलिफोनमार्फत् आफ्नो काम र बालबालिकाको क्षेत्रमा हुनुपर्ने अभियानबारे यिनलाई बताउँछन्।
मनिलाबाट फर्केर काठमाडौं आएपछि उनी एकाएक काठमाडौंलाई छाडेर दिल्ली पुगेका थिए। उनी सीधै सत्यार्थीकहाँ पुगेर उनलाई आश्चर्यमा पारेका थिए। त्यसपछि उनकै रेखदेमा उनी त्यहाँ बसे, पढे, सिके र उनको अभियानका हिस्सा समेत बने।

सत्यार्थी, आइएलओकी निर्देशक र बासु उनको पुस्तक विमोचन कार्यक्रममा


भर्खरै बासुले लेखेको पुस्तक ‘फ्रम दि स्ट्रिट अफ काठमाडौं’ राजधानी काठमाडौंमा विमोचन समेत भयो।सिविनका संस्थापक एवं राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गौरी प्रधान समेत आफ्नो संस्थाबाट हुर्किएका यी बालकको प्रगति देखेर भावुक भएका थिए। आफैंसँग १६ वर्षदेखि बसिरहेका यी तन्नेरीबारे पुस्तकको भूमिका सत्यार्थीले नै लेखिदिएका छन्। पढ्नुहोस् समाचारमा।

सत्यार्थीको नोबेल प्राप्तिले नेपाली सहकर्मी तरंगित

‘प्रत्येक पटक हामी भेट्दा बालबालिकाको क्षेत्रमा ल्याउनु पर्ने परिवर्तन र राजनीतिबारे छलफल गर्छौं,’ बासुले भने, ‘मसँग भएका प्रत्येक कथाहरू म उहाँलाई सुनाउने गर्छु।’
बाल्यवस्थामा भेटेका बासु आज सत्यार्थीलाई आफ्ना प्रेम कथासमेत सुनाउने लक्का जवान भइसकेका छन्। ‘तिमी पाँच फिट तीन इञ्च अग्लो मात्र भएकोले तिम्रा समस्या मैले समाधान गर्न सकेको छु, तिमी ६ फिट अग्लो भएको भए मैले पनि केही गर्न नसक्ने रहेछु,’ सत्यार्थीले बेलाबेलामा ठट्टा गर्दै दिने गरेका अभिव्यक्ति बासुले उद्धृत गरे।
‘उहाँले ममा इमानदारी र सम्भावना दुबै देख्नु भयो,’ बासु भन्छन्, ‘उहाँ मलाई जहिल्यै सचेत गराउँदै भन्नु हुन्छ, तिमी कहिल्यै बिग्रनु हुँदैन।’
बाल वाधा श्रम उन्मुलनका निम्ति सत्यार्थीको अभियानको एउटा हिस्सा हुन पाउँनुलाई खुसीको क्षणका रूपमा बासु चित्रण गर्छन्। ‘उहाँ मेरा निम्ति समान उद्देश्यका सहयोद्धा, गुरु र पिता हुनुहुन्छ,’ थोरै मात्र नेपाली शब्द बोल्न जान्ने तन्नेरी बासुले अंग्रेजीमा भने, ‘उहाँ पनि मलाई छोरा भन्नु हुन्छ।’
‘मेरा निम्ति पनि पुरस्कार भन्दा पनि ठूलो अरूका निम्ति संघर्ष गर्नु हो भन्ने लाग्छ,’ बासु अगाडि थप्छन्, ‘उहाँ पुरस्कारका निम्ति योग्य हुनुहुन्छ।’
 स्लमडग मिलेनायरका निर्देशक, नोवेल विजेता सत्यार्थी र बासु एक कार्यक्रममा


बासुलाई सत्यार्थीले पाएको नोबेल शान्ति पुरस्कार आफैंले पाएको भन्दा बढ्ता खुसी छ। ‘यो मेरा निम्ति निकै गर्वको क्षण हो,’ उनी भन्छन्, ‘उहाँको कामले नोबेल पुरस्कार मार्फत् अन्तर्राष्ट्रिय सम्मान पाएको छ। यो नै मेरा निम्ति हर्षको विषय हो।’

बासुलाई सत्यार्थीको जुनसुकै अभियानमा आफैं अघि सर्ने र नेतृत्व लिने कार्यशैली मन पर्छ। ‘उहाँ जहिल्यै नेतृत्व लिनु हुन्छ,’ उनले भने, ‘उहाँ सधैँ बालबालिकाका निम्ति काम गर्नुहुन्छ र तिनीहरूसँगै बस्नु हुन्छ।’
काठमाडौंका यी पूर्व सडक बालकका निम्ति काठमाडौं अहिले पनि उत्तिकै प्रिय छ। दिल्लीमै रहेर उनले स्नातक गरेका छन्। विश्व प्रशिद्ध मानिस बनेका पितासमान भर र मित्र समान स्नेह दिने सत्यार्थीकै अभियानमा उनी भए पनि अब उनलाई काठमाडौं आउन मन छ। उनी प्रतिक्षारत छन्।
‘मैले केही संस्थाहरूमा आवेदन गरेको छु,’ बासु भन्छन्, ‘जस्तोसुकै काम पाउनासाथ म काठमाडौं आउँछु। मलाई त्यही बसेर काम गर्न मन छ।’
काठमाडौंका सडकदेखि अन्तर्राष्ट्रिय मञ्चमा पुगिसकेका बासुका निम्ति काठमाडौं आउनु एउटा सपना बनेको छ, जहाँ बसेर उनी आफ्नो विगतजस्तै अवस्थामा रहेका बालबालिकाका निम्ति क्रियाशील हुन चाहन्छन्।
‘जन्मभूमि भनेको नै त्यही रहेछ जहाँ हामी पुग्नासाथ भावुक हुन्छौं,’ बासुले भने, ‘म अस्ति काठमाडौं आएका बेला त्यही भावुतामा डुबेको थिए।’


© grluitel.com || Site by: Turup Sangroula