भुइँचालोले ४८ घन्टा फन्फनी घुमाउँदा!

GRL Twitteगोपीकृष्ण सिनेमा हलनिर पुग्दा मेरो मोटरसाइकल एकाएक असन्तुलित हुन थाल्यो। टायरमा हावा खुस्किएजस्तै लरबराउन थाल्यो। छेउमै गुडिरहेको अर्को मोटरसाइकल पनि लड्खडाउन थालिसकेको थियो। अगाडि मानिसहरू भक्ल्याकभुक्लुक लड्न थाले।

एकाएक वातावरण कोलाहलमय हुन थाल्यो। मानिसहरू चिच्याउन थाले। सुरूमा त भुँचालो गएको भन्दा कसैले आक्रमण गरेर पो मानिसहरू यसरी भागाभाग गर्न थालेका हुन् कि भन्ने जस्तो लाग्यो। मानिसहरू ‘लौ भुइँचालो गयो’ भन्दै चिच्याउन थालेपछि यसको रौद्ररुप देखिन थाल्यो।

एकाएक नजिकैका घरहरू हल्लिएका देखिन थाल्यो। जसोतसो मोटरसाइकल रोकेँ। मेरो नजिकै भएका अर्का सहयात्रीले पनि रोके। उनको मोटरसाइकल ढल्यो। त्यसमाथि मेरो मोटरसाइकल पर्‍यो। दुई मोटरसाइकलले एकअर्कालाई अंकमाल गरेजस्तै अनायासै हामी पनि एकअर्कालाई भर दिएर उभियौं। जिउ असन्तुलित भइरह्यो।

हामीले एकअर्कालाई समातेर अडिन खोज्यौँ। मानिसहरू के गर्ने र कसो गर्ने अवस्थामा पुगे। मलाई भने सडक फाट्यो वा बिजुलीको खम्बाले थिच्यो भने के गर्ने भन्ने पिर भयो। बल्ल बल्ल त्यो तीव्र गतिको भूकम्प रोकियो।

आफू बाँचेपछि स्वाभाविकरूपमा आफूले माया गर्ने सबैभन्दा नजिकका मानिसहरूका सम्झना हुने रहेछ। पाँच मिनेट मात्रै अगाडि छोरीलाई घरमा छाडेर हिंडेको थिएँ। सिंगापुरबाट आएका हाम्रा एकजना मित्र जानियल जकरियासँग सहकर्मी नारायण वाग्लेले बोलाएको १२ बजेको लञ्चका निम्ति बालुवाटार जाँदै थिएँ।

चारजनाको परिवारमा पत्नी विराटनगरतिर, छोरा मामाघरतिर गएका थिए। बस हामी दुईजना बाबुछोरी मात्र थियौं। छोरीले बिहानको खाना बनाइसकेको हुनाले उनैले कर गरेर अलिकति बिहानै खाएको थिएँ। ‘नारायण अंकलसँगै खाने आज, छोरी’ भन्दै मैले उनीसँग थोरै भाग मात्र बसेर साथ दिएको थिएँ।

एकाएक छोरीको मायाले बाइक उठाउनतिर लागेँ। जसोतसो त्यसलाई उठाएर घरतिर दौडाउन थालेँ। मनिसहरू ढलेकालाई उठाउन थालेका थिए। केही मानिस घाइतेहरूलाई ल्याएर मोटरमा हाल्न थालेका थिए। आफूलाई भने घरको अवस्था कस्तो भयो होला भन्ने चिन्ताले गाँज्यो। घरबाट बाइकमा दुई मिनेट पनि उता गएको छैन यस्तो अवस्था भयो।

अनि दुई मिनेट टाढाको दूरी पनि कति धेरै टाढा हुने रहेछ भन्ने अनुभव त्यो बेला भयो। बाइक फर्काएर केही अगाडि मात्र पुगेको थिएँ एक किशोरी र उनका भाइले रुँदै ‘अंकल हामीलाई पुर्‍याइदिनू न’ भन्न थाले। मैले केही नसोची तिनका निम्ति बाइक रोकेँ। अरु मानिसले सोध्दै थिए– कोसँग जान लागेको?

बस्, त्यो बेला उनीहरूलाई कोसँग जान लागेको भन्दा पनि कतिखेर आफ्नो परिवारका सदस्यलाई भेट्ने भन्ने भइरहेको थियो। केही माथि पुर्‍याइदिएपछि उनीहरू आत्तिदै रोक्नु भने। त्यो बेला उनीहरूले बाटोमा आइरहेका आफ्नो परिवारका सदस्यलाई देखिसकेका थिए।

उनीहरूलाई त्यहाँ छाडेर म अगाडि बढेँ।

बाटोमा यत्रतत्र आत्तिएका मानिसहरू थिए। तिनलाई छल्दै अगाडि पुगेँ। हाम्रो टोलको सात तले भवन पुग्दा त आश्चर्य भयो, मानिसहरूले बाटो छेकिसकेका थिए।

‘बाटो छैन,’ तिनीहरूले सावधान बनाए। यसो हेर्छु त ठाडो हेर्दा टोपी खस्लाजस्तो साततले भवन सडकमा लम्पसार परेर सुतिसकेको छ। एकछिन अघसम्म मलाई यस्तो भयानक भुकम्प गएको होला भन्ने मलाई लागेकै थिएन।

हतारहतार गरेर गोजीबाट मोबाइल झिकेर एकदुई क्लिक गरेँ। त्यसपछाडि घर पुग्न फेरि हतारिएँ। ‘यस्तो बेलामा पनि बाइक चलाउने?’ मानिसहरू मलाई सचेत गराइसकेका थिएँ। जहाँसम्म पुग्न सकिएला पुगौला भन्दै अगाडि बढेँ। अरु बेलाको यो दुई मिनेटको बाटो पनि आज कत्ति टाढाजस्तो!

घर पुगेँ। घर अगाडिको खाली जमिनमा पूरै छरछिमेकीहरू आइसकेका थिए। मेरो घर पस्ने बाटो छिमेकीको पर्खाल लडेर थुनिइसकेको थियो। बाइक रोकेर सोधेँ– ‘छोरी तिमी कहाँ छौं।’

उनलाई देखेपछि आश्वस्त भएँ। एकैछिन अघिको दृश्यले खुट्टा थरर्र कामे। भुइँचालो गएको बेला अहिलेसम्म कहिल्यै सवारी चलाएको अनुभव थिएन। दुई पाङ्ग्रे, त्यसमा पनि स्पिडमा भएको भए दुर्घटना अवश्यम्भावी थियो। गाडी लिएर हिडेको भए फर्केर आउँनै मुस्किल हुने रहेछ।

०००

म टोलमा भुइँचालोपछि थरर्र काम्दै एउटा इँटामाथि थचक्क बस्दै आफूले एकैछिन अघि खिचेको फोटो मोबाइलमा हेरेँ। म सधै हिड्ने बाटोमा उभिएको त्यो सात तले भवनको दशा देखेर आफूलाई थाम्न सकिनँ। तत्काल त्यसलाई ट्वीट गर्नासाथ त्यही नै नेपालमा गएको भुइँचालोको जानकारी गराउने सम्भवतःपहिलो तस्विर बन्न पुगेछ।

 

 

GRL Twitte



© grluitel.com || Site by: Turup Sangroula