धरहरा ढल्दा अम्मलले बचायो धनबहादुरलाई

भूकम्पको पहिलो साता

धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ। तर, नौ तले धरहराको सबैभन्दा माथिको तलामा डिउटीमा जानुअघि चुरोट खान नरोकिएका भए ६६ वर्षीय धनबहादुर अधिकारीले यतिबेला भूइँचालोको अनुभव सुनाउन पाउने थिएनन्।

धन्य, चुरोटको बानीले उनको जीवन बचायो। यसो भनेर कसैले पनि चुरोटको तल नबसाओस्। यो जीवनको एक संयोग मात्र हो।

भुइँचालो गएको साता पुगेको बेला धरहरा परिसरमा भेटिएका धनबहादुरका लागि त्यो दिन सपनाजस्तो लाग्छ। र, उनलाई त्यो घटना सपना भइदिए हुन्थ्यो भन्ने लाग्छ। सबैभन्दा तलको तलासम्म भत्किएको धरहराले उनलाई सपनाजस्तो विपनामा पुर्‍याइदिन्छ।

त्यसो त उनकै कम्पनीकी एक महिला सहकर्मीले केही महिनाअघि धरहरा ढलेको सपना देखेकी थिइन्। तर, सपनाका कुरा कसले पत्याइरहन्छ र? धरहराको जिम्मा लिएर सञ्चालन गरिरहेको कम्पनीका यी कामदारहरू केही दिनयता त्यही बसेर यस विषयमा छलफल गरिररहेको हामीले फेला पार्‍यौं।

नेपाली सेनाका यी पूर्व अमलदार त्यो दिनको घटना सम्झेर अहिले पनि आश्चर्यमा पर्छन्। ‘भगवानको कृपाले बाँचियो’ उनले भने, ‘यो अम्मल नलागेको भए मलाई के हुन्थ्यो म भन्न सक्दिनँ।’

धादिङ फूलखर्क गाविसस्थित दाङसिङ स्थायी बसोबास भएका जागिर र सन्तानको भविश्यका निम्ती राजधानी काठमाडौं आएका २०२७ सालमा हो। त्यसयता उनले २०४६ सालमा जागिरबाट अवकास लिएर पनि राजधानी काठमाडौंमै बस्दै आएका छन्। अब जीवनमा अर्को एउटा सम्झनायोग्य दिन थपिएको छ– वैशाख १२, २०७२।

पर्यटकीय प्रयोजनका लागि निजी कम्पनीले लिएपछि उनी धरहराका सुरक्षा गार्ड भएर पाँच वर्षदेखि यहाँ कार्यरत थिए। उनलाई कहिल्यै लाग्दैनथ्यो धरहराको अवस्था पनि यस्तो हुन्छ भनेर।

अरू पैसा तिरेर काठमाडौंको सौन्दर्य र टाढा क्षितिजसम्म हेर्न धरहरा पुग्थे। उनी भने सित्तैमा दिन बिराएर ती अनुपम दृश्य हेर्थे।

यो १ सय ९० वर्षअघि मुलुकका प्रथम प्रधानमन्त्री भीमसेन थापाले बनाएको पुरानो धरोहर १९९० सालको भुइँचालोमा परेर ध्वस्त भइसकेको थियो। पछि तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरले यसको पुननिर्माण गराएका थिए।

अहिले यी भत्केका संरचना अगाडि आइपुगेका सर्वसाधारण भावुक हुन्छन्। ठाडो उभिएको धरहराजत्तिकै यो ढल्दा पनि हेर्न आइरहेका छन्। ‘फ्रान्सका लागि आइफेल टावरजस्तै थियो धरहरा हाम्रा लागि,‘ भत्केको यो संरचनाअघि उभिएका गुलाब चौधरीले भने।

धरहरा जगैसम्म झरेपछि यसपटकको ७.८ रेक्टर स्केलको यो भुइँचालोको विध्वंशको एउटा बिम्बजस्तो हुन पुगेको छ। भुइँचालो जाने बित्तिकै धेरैलाई यो तहमा मुलुकमा धनजनको क्षति भयो होला भन्ने लागेकै थिएन। अहिले यसबाट मारिनेको संख्या ७ हजार नाघिसकेको छ।

सबैलाई आफू समालिँदैमा ठिक्क भयो। त्यसपछि आफ्नो टोल। त्यसपछि समाज हुँदै देशसम्मको अवस्था अवगत हुन थाल्यो। भर्खर दुर्गम ठाउँहरूको अवस्थाबारे थाहा हुन थालेको छ। राजधानी काठमाडौंका सबैभन्दा पुराना धरोहर सबै भत्किएका छन्।

यी कैयन वर्षदेखि ठिंग उभिएका संरचनाको यो हाल भयो भने दुर्गम गाउँमा कमजोर जग र कच्ची माटोका घरहरूले यो भूकम्प सहन सक्ने कुरा भएन।

धनबहादुर जस्तै सबैलाई आफ्नो जीवनकालको यो अनुभव भएको छ। जिन्दगीभरिका लागि सबैसँग सुनाउने एउटा कथा भएको छ। ‘बाजे तपाईं धन्न बाँच्नु भएछ,’ उनलाई चिन्नेहरूले यसै भन्दै उनको जीवन बाँचेकोमा बधाई दिइरहेका छन्।

***

सधैँझैँ धनबहादुर सबैभन्दा माथिल्लो तलामा रहेको आफ्नो डिउटीमा जान तयार भए। त्यो ठाउँको डिउटी दिन बिराएर हुने गथ्र्यो। त्यो दिन उनको पालो परेको थियो। उनको काम रेलिङ भएको ठाउँबाट सहरको दृश्यावलोकन गर्नेहरूलाई सुरक्षित रहन सजग गराउने थियो।

दिउँसोको १२ बज्न लाग्दै थियो। उनलाई फेरि चुरोटको तलतल लाग्यो। ‘अब चुरोट खाएरै जानु पर्ला भनेर म एकै छिन अल्मिलिएँ’ उनले भूकम्पको सम्झना गरे, ‘तर, एकै छिनमा केले छोपेजस्तो भयो।’

धनबहादुरकै अगाडिकी महिला मुर्छित भएपछि ‘ए के भयो बहिनी’ भन्दै उनले उठाएर अगाडि रेस्टुराँ र प्रतिक्षालय भएतिर ल्याए। एकैछिनमा त्यहाँ धुलोको कुहिरीमण्डल भयो। उनले के भयो भन्ने ठम्याउनै नपाई चिहिलबिहल हुन थाल्यो। चौतर्फी हाहाकार मच्चियो।

उनको त्यही बसेर घाइतेहरूलाई अस्पताल पठाउन सघाए। घर परिवारसँग उनी बेखबर थिए। ‘बेलुका हाकिमसा‘बलाई भनेर म लैनचौर, ढुंगेधारामा गएँ,’ उनले भने। उनी चुरोटले बाँचेँ भन्दै डेरा भएको ठाउँमा पुग्दा छोरीहरू भने उनलाई खोज्दै धरहरामा आइपुगेका थिए।

आठजनाको परिवारका मुली धनबहादुरले पेन्सन र अहिले पनि धरहराको डिउटीबाट परिवार पाल्दै आएका छन्। उनी बाँचे। तर, त्यो दिन उनकै ठाउँमा डिउटीमा रहेका उनका साथीको भने त्यही दिन निधन भयो।

धनबहादुरले भत्किएको धरहरा अघि उभिएर आफ्नो कथा सुनाइरहँदा युगकवि सिद्धिचरण श्रेष्ठका दुई कविता पंक्ति अझै ढोकाको दुई छेउमा उसैगरी धरहराको महिमा मण्डित गर्दै बोलिरहेका थिए–

ठाडो नाक समस्त कान्तिपुरको हे उच्चता कृतिम

ज्यामी लाख थियौ पवित्र पसिना हे मेघको आश्रम

सेतो स्तम्भ सुकीर्तिको धरहरा! देउ मलाई विदा

हे अग्लो प्रहरी सरी नगरको! देउ मलाई विदा।

सेतोपाटी, वैशाख २०, २०७२



© grluitel.com || Site by: Turup Sangroula