लुभुको लोभलाग्दो सम्पदास्थलको यो गति!

timthumb.phpयस पटकको महाभूकम्पले हाम्रा धेरै सम्पदास्थल र सांस्कृतिक क्षेत्र भग्नावशेषमा परिवर्तन गरेको छ।

ललितपुरको लुभुमा जहिल्यै पुग्दा यो सांस्कृतिक ठाउँले मनलाई पुलकित तुल्याउँथ्यो। यहाँका सोझा नेवार बासिन्दा, तिनका दैनिक गतिविधि र यहाँको आँगनमा रमाइरहेका बालबालिकालाई देख्दा जताततै जीवन देखिन्थ्यो।

वैशाख १२ को भुइँचालोले यो ठाउँका धेरै घर चर्किए। केही भत्किए पनि। यी घरहरुको खतरनाक अवस्था देखेर स्थानीय बासिन्दा त्यहाँबाट पालको बासमा सरे।

लुभुको गेटले नै यसको वैभवको चिनारी दिन्थ्यो। तर, त्यो गेट आफैंमा खतरनाक बनेपछि अपरान्हतिर उनीहरूले यसलाई भत्काए। बिहान भने यो गेट आफैं जसोतसो उभिइरहेको थियो।

जनजीवन सामान्य बनिरहेकै बेला मंगलबार गएको ७.३ म्याग्निच्युडको भुइँचालोले १७ दिनअघि गएको भुइँचालोले जर्जर बनाइसकेका घरहरुलाई कामै नलाग्ने गरी भत्कायो।

भूकम्प अघिसम्म हेरौं हेरौं लाग्ने यो ठाउँ यतिबेला पस्नै पनि डरलाग्दो भएका छन्। आफ्नै घरका सामान पनि स्थानीयले निकाल्न पाएका छैनन्।

बुधबार यहाँ पुग्दा स्थानीय बासिन्दाहरू लुभुको जर्जर गेटबाहिर बसेर आफ्ना भत्किएका घर र सम्पदालाई हेरिरहेका थिए। डराई डराई अलि भित्र जाँदा प्रायः घरहरु उनीहरुले छाडिसकेका थिए। भित्र एक तले एउटा टहरोजस्तो घरसँगै राखिएको पालमा स्थानीय बासिन्दाहरु बसेका थिए।

कोही त्यही पत्रिका पढेर आफूजस्तै अन्यत्रको विवरणको जानकारी लिइरहेका थिए भने साना बालबालिकाहरु तिनै धराप भइसकेका ठाउँमा पनि खेलेर जीवनलाई सामान्य बनाइरहेका थिए।

द्वन्द्वकालमा नेपाल घुम्न आएका बेला एकजना बेलायती पत्रकारले हाम्रा नानीहरू चिच्याएको र खेलिरहेको देखेर भनेका थिए–यस्तो अवस्था सशस्त्र द्वन्द्वको स्थितिमा देख्न पाइन्न।

नभन्दै यसपटक पनि चारैतिर भत्किएका संरचना, पटकपटकको भुकम्प र क्षति देख्दादेख्दै पनि हाम्रा नानीहरूले बालसुलभ व्यवहार देखाउन छाडेका छैनन्।

उनीहरू भत्केको घर छाडेर पालमा पुगे पनि तस्विर खिच्नेबेलामा रमाइलो हाउभाउ गर्न पछि पर्दैनन्। यसले पनि देखाउँछ यसपटकको यो भूकम्पको पीडा र त्रासदीबाट हामी छिट्टै बाहिर आउने छौं। त्यति मात्र होइन यी भग्नावशेष भइसकेका हाम्रा सम्पदा र सम्पत्ति पुनः हाम्रा निम्ति सुरक्षित र रहरलाग्दा हुने छन्।

सेतोपाटी, वैशाख ३०, २०७२

 



© grluitel.com || Site by: Turup Sangroula