सयथरी सहयोगी हातहरू

भक्तपुर गुण्डुमा छाप्रा बनाउँदै फ्रेञ्च स्वयंसेवी

‘भूकम्प पीडितलाई राहतै पुगेन’ प्रायः फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालतिर गुनासो सुनिन्छ, ‘के गर्नु सरकारै खत्तम छ!’

सरकार होइन म आफू चाहिँ के गर्दैछु भनी ध्यान दिने रहर लाग्दो युवा पुस्ता पनि हाम्रो समाजमा छ। तिनीहरूले सरकारलाई गाली नगरी आफ्नो समय स्वयंसेवी काममा लगाइरहेका छन्।

राजधानी काठमाडौंका केही युवती शनिबार दिउँसो आफ्ना साथीहरूसहित भक्तपुर सहरभन्दा दक्षिणतिरको यो सानो र सुन्दर गाउँमा बाँसका घर बनाउँदै गरेका भेटिए। उनीहरूसँगै होस्टेमा हैँसे गर्नेहरूमा तिनका विदेशी साथी पनि थिए।

राजधानी काठमाडौंका नजिकै भए पनि यो गाउँको चर्चा राष्ट्रिय स्तरमा कमै छ। आखिर भूइँचालो पीडित गाउँ यो मात्र होइन। सबैजसो घरको अवस्था यस्तै छ भूकम्प प्रभावित जिल्लाहरूमा।

गुण्डु गाउँका खेतमा गहुँ पाक्न लागेको छ। बारीमा काउली र अन्य तरकारी पनि लहलहाउँदै छ। तिनी राहतका नाममा आउने केही केजी चामल, दाल आदिका लागि तड्पिएका पनि छैनन्।

तिनलाई अबका केही सातामा भित्रिन लागेको मनसुनबाट ओत लाग्ने एउटा बास चाहिएको छ। अहिल्यै पनि घरबाट बाहिर पालमुनि बस्न सक्ने अवस्था छैन। लामखुट्टेले सातो लिन थालिसकेको छ। रातिको समय जाडो हुन्छ। त्यसैले कसैले दिएको एउटा पालले तिनको रात कट्दैन।

‘राहत त जोसुकैले दिइरहेका छन्,’ काठमाडौं बालुवाटारकी प्रविज्ञा बस्नेत निर्माणाधीन बाँसको घरमा काँटी ठोक्दै भनिन्, ‘वर्षा आउन लागेको हुनाले सुधारेर राम्रो बाँसको घर बनाउन लागेका हौं।’

यो गाउँका ३३ वटा घर भत्किएको तथ्यांक उनीहरूसँग छ। गाउँमा पक्की घर कमै छन्। भएका पनि अब बस्नै नहुने गरी भत्किएका छन्। ती पक्की घरवालाहरूले समेत अस्थायी टहरो बनाउन प्रयोग गर्ने बाँस सहयोग मागिरहेका थिए।

हजारौं माइलको यात्रा पहिलो पाइलाबाट सुरु हुन्छ भनेजस्तै उनीहरूले पहिलो नमूना घर पूरा गर्नै लागेका थिए।

प्रविज्ञासँगै आरोही निरज कार्की, ज्वागलकी श्रद्धा बस्नेत, कलाकार निश्चल ओलीलगायत १२ जना दिनभरि खटिरहेका थिए।

हात कालै बनाएर काम गरिरहेका भेटिए दुई फ्रेन्च नागरिक आर्नड र लाउ। त्यस्तै धर्तीमाता सस्टेनेबल वर्कसप खोलेर बसेकी ताइवानी नागरिक क्लेयर लिन र उनका साथी धमाधम बाँस फोर्न लागेका थिए।

कसैले बाँस फोर्ने, कसैले त्यसलाई ल्याएर काँटी ठोक्ने, कसैले मिलेनमिलेको हेर्ने गरिरहेका थिए। अनि यो समूहमा रहेका मध्ये केही शनिबार एक दिन आफ्नो कामबाट छुट्टी लिएर स्वयंसेवा गर्न आएका थिए।

निश्चल त्यसैमध्येका एक हुन्। उनी अरु दिनमा राजधानीका सम्पदास्थलको कला पुननिर्माणका निम्ति सक्रिय हुन्छन्। संगम सिल्पकारलाई पनि आफ्नो कार्यालय रुम टु रिडबाट शनिबार मात्र फुर्सद मिल्छ। उनी भूकम्पको तेस्रो शनिबार पनि आफूलाई स्वयंसेवामा लगाउन त्यहाँ पुगेकी थिइँन्।

‘एउटा शनिबार चाहिँ मैले सेवा गर्न पाइनँ’ उनले थक्थकाउँदै भनिन्, ‘देशमा यत्रो ठूलो क्षति भएको बेला आफैं केही गर्नुपर्छ जस्तो लाग्यो।’

राजधानी शहरका पढेलेखेका यी युवायुवतीको कामले स्थानीय बासिन्दाहरूलाई समेत प्रभावित पारेको छ। उनीहरू पनि तिनीहरूको काम सघाउन थालेका छन्।

***

देशभरि हजारौं स्कुल भुइँचालोले भत्किएका छन्। त्यसमध्ये उत्तम सञ्जेल संस्थापक रहेका समता शिक्षा निकेतनका २३ मध्ये एउटा स्कुल मात्र भत्कियो। भत्केको स्कुल गोर्खाको मात्र हो। उनका बाँकी सबै स्कुल बाँसले बनेका छन्। यही एउटा स्कुल मात्र पक्की घर थियो।

समता स्कुलको फराकिलो मैदान मात्र होइन स्कुलका प्रत्येक कोठामा यसपटक हजारौं मानिसले आश्रय लिए। समता स्कुलका बेञ्च र टेबुल अहिले बाहिर मैदानमा राखेर सर्वसाधारणले भित्र कोठालाई आश्रय बनाइरहेका छन्। राजधानी उपत्यकादेखि भूकम्प प्रभावित अन्य क्षेत्रमा यिनै स्कुलमा सर्वसाधारण बास बसेका छन्।

सर्वसाधारणलाई आफूले आश्रय दिन पाएकोमा खुसी सञ्जेल स्कुलका बेञ्च र टेबुल बिग्रेकोमा भने  चिन्तित छन्। घाम र पानीले ती सबै पसाङ्गिएका छन्। ‘स्कुल लाग्न थालेपछि सबै मर्मत गर्नुपर्छ,’ उनी भन्छन्।

पहिलो पटक वैशाख १२ मा भुइँचालो गएपछि जनजीवन शान्त भइसकेको थियो। स्कुलबाट सर्वसाधारण घर फर्किसकेका थिए। तर, १८ औं दिनमा वैशाख २९ गते आएको दोस्रो धक्काले फेरि स्कुल भरिभराउ भएको छ। त्यसपछि पटकपटकका धक्काले हजारौंलाई यहाँ आश्रय लिन सजिलो भएको छ।

***

बौद्धस्थित समता स्कुलमा शनिबार राहत बाँड्दै आइपुगे जनकपुरका दुई सहयोगी– महावीर यादव र कुशेश्वर महतो। विश्व हिन्दू परिषदद्वारा संचालित जनकल्याण प्रतिष्ठानका कार्यकर्ता हुन यी दुई।

राजधानी काठमाडौंको गौरीघाटमा आफ्नो संस्थाको बैठकका गरिरहेका बेला उनीहरूले पहिलो भूकम्पको धक्का महसुस गरे। त्यसैको भोलिपल्टदेखि उनीहरू राहत अभियानमा खटेर ठाउँ–ठाउँमा पुग्न थाले।

पहाडे–मधेसी वा जातजाति वा धार्मिक भावनालाई पर राखेर एउटा नेपालीले अर्को नेपालीलाई सहयोग गर्ने उदात्त भावना प्रकट भइरहेको छ। सहयोगका लागि सक्रिय भएका यी दुई जनकपुरबासीहरूको अनुहारमा थकाइका रेखा देखिन्नन्। यी दुई जना उनीहरूजस्तो १५ सय स्वयंसेवीको भूकम्प पीडित १४ जिल्लाका विभिन्न क्षेत्रमा सक्रिय छन्।

यसपटक मधेसले भूकम्प पीडित क्षेत्रमा देखाएको सक्रिय सहभागिताले भाइचाराको भावनालाई अरु बढाएको छ। उनीहरूले आवश्यकता अनुसार, अनाज, पाललगायतको व्यवस्था गरिरहेका छन्।

‘पहिले धोती आयो भन्थे’ महावीरले मुस्कुराउँदै भने, ‘अहिले भगवान आएजस्तो गर्छन्। हामीले आफ्ना दाजुभाइ दिदीबहिनीलाई सेवा गर्न पाएका छौं। यसैमा हामीलाई खुसी लागेको छ।’

सेवाका निम्ति अर्को ठाउँमा जाँदै गर्दा महावीर र कुशेश्वरले एक पंक्ति गीत सुनाए–

तराईमा हुरी आउँदा पहाडले छेक्नु पर्छ

पहाडमा जाडो आउँदा तराईले सेक्नु पर्छ…।

***

अलिकति भरथेग पाए सबै अघि बढ्न तत्पर छन्। राजधानी काठमाडौंभित्र भन्दा बाहिर आ–आफ्ना घर बनाउन तयार भइसकेका छन्। सबैले जस्ता पाताको छाना लगाएर भए पनि बासको बन्दोबस्त गरिरहेका छन्।

काभ्रेको चण्डेनी गाविसको मण्डन, ज्वानेटार वडा नं. १ मा नेपालहरूका बाक्लै घर छन्। उनीहरू प्रायःका घर ढलेका छन्। अधिकांशले ढलेका घरबाट ज्यान जोगाए। उनीहरू ज्यान जोगिएकोमै धन्य मानिरहेका छन्।

त्यही गाउँका ९० सालको भूइँचालोसमेत भोगेका लोकनाथ नेपाल रमाइलो पाराले सुनाउँछन्- म त सिंगै छानो बोकेर बसेको थिएँ।

९० सालको भुइँचालोमा ७ वर्ष उमेरका यी जेष्ठ नागरिकका टाउकोमा लागेको चोट निको हुने क्रममा छ। यसपटकको भुइँचालोमा उनलाई घरले छोपेको थियो। स्थानीय उनलाई निकाल्न सफल भए।

यी गाउँलेहरूले पनि सरकार आइनपुगेको गुनासो पनि गरेनन्। अनि सरकारले दिनुपर्ने पाल वा यस्तै अन्य राहत सामग्रीको पनि उनीहरूले प्रतिक्षा गरेनन्। भूकम्पले भत्काएका घरबाट जर्‍याकजुरुक उठेर उनीहरूले फेरि आफ्नो बासको बन्दोबस्त गर्न थाले उनीहरू।

घर ढले पनि त्यसमा जोगिएको अनाज बाहिर निकालेका थिए। भत्केकै घरहरूमा प्रयोग भएको जस्ता पातालाई उनीहरूले ल्याएर पालभन्दा अलि व्यवस्थित घर बनाए। ठूलो पानी पर्दा, हावा हुरी चल्दा वा भूकम्प जाँदा पनि थेग्ने खालका यी टिनका घरले उनीहरुको आत्मविश्वास बढाएको थियो।

तिनले आफ्ना भत्केका घरहरू देखाए। बारीको कान्लैबाट तल अविरल बगिरहेको इन्द्रावती देख्न सकिन्थ्यो। इन्द्रावतीको सौन्दर्यमा कुनै खोट थिएन। त्यसैगरी बगिरहेको थियो, जसरी हाम्रो जीवन चल्छ। बिस्तारै फर्किएको जीवनले आशाका किरण देखाउन थालिसकेको छ।

‘बस्न योग्य कुनै घर छैनन’ जानासाथ भेटिएका स्थानीय वासिन्दा दिपक नेपाल भन्दै थिए, ‘हामी धेरै तनावमा थियौं। तनावमै रहिरहनु भन्दा ओत लागेर बस्नु उचित लाग्यो।’

सरकारको सहयोग वा राहतको प्रतिक्षा गरिरहेको भए अहिलेको एकैछिनमा पानी पर्ने, हुरी र बतास आउने अनपेक्षित मौसमको सामना गर्न उनीहरूलाई गाह्रो पर्ने थियो।

आफ्ना भत्किएका घर देखाउने क्रममा उनीहरूले अलि तल इन्द्रावतीकै किनारमा रहेको माझी वस्तीमा धेरै जनधनको क्षति भएको उनीहरूले बताए। त्यहाँ मात्र १० जनाको मृत्यु भएको थियो।

काभ्रेका चण्डेनी र ज्याम्दीमा भूकम्पले बढता ताण्डव गरेको थियो। ज्याम्दीमा मात्रै ३४ जनाको मृत्यु भएको थियो। चण्डेनीमा ३५ जनाको मृत्यु भएको थियो। भूकम्पको ज्यादा प्रभावमा रहेको सिन्धुपाल्चोकसँग जोडिएको काभ्रे पनि अछुतो रहेन।

स्थानीय निकायको निर्वाचन नभएको झण्डै दुई दशक पुग्न थालेको छ। गाउँमा सरकारको उपस्थिति भएन भन्ने गुनासो जताततै सुनिन्छ। स्थानीय निकाय जनप्रतिनिधिविहिन बनाउँदाको वेफाइदा सबैले महसुस गरेका छन्।

तैपनि घटनाको विवरण लिन र आवश्यक राहतको व्यवस्थाका लागि केन्द्रबाट सरकारी टोली वैशाख २३ गते यो गाउँमा आइपुगेको थियो। सरकारले केही गरेन भन्दाभन्दै पनि गर्नेहरू खुरुखुरु काममा जुटेकै छन्।

यो गाउँमा अरु पनि केही सुखद पक्षहरू सुन्न पाइयो। विदुर नेपाल जिल्ला अदालतका कर्मचारी हुन्। त्यो दिन उनलाई घरले पुरेको थियो। स्थानीय दाजुभाइले तत्कालै उद्धार गरेर उनलाई निकाले। उनको टाउकोमा लागेको घाउ निको हुँदैछ।

यसरी बाँचे पनि उनी कार्यालय गए। फेरि भत्केको घरको सट्टा एउटा छाप्रो हालेर आउने ईच्छा व्यक्त गरेपछि उनी गाउँ आउन पाएका रहेछन्।

स्थानीय भेटेरिनरीका कर्मचारीले गाउँमा आएर घाइते पशुहरूको उपचार गराइदिए। भूकम्पजस्तो त्रासदीपूर्ण दैवी विपत्तिका बेला मानिस मात्र होइन घरपालुवा पशुपन्छीहरूको अवस्था पनि उत्तिकै जटिल हुन्छ।

यसपटकको भुइँचालोमा परेर धेरै पशुपन्छी पनि मरे। तिनीहरूप्रति चासो राख्ने संघसंस्था र व्यक्तिहरू पनि यसपटक देखिए।

०००

कहिलेकाहीँ अभिसापमा बरदान हुन्छ। ज्वानेटार गाउँको सुकेको पानीको मुहान चालु भएको छ। पानीको पहिले सुकेको पानीको मुहानमा आवश्यकता भन्दा बढी पानी आउन थालेपछि स्थानीयहरू अब भविश्यमा राम्रोसँग तरकारी र अनाज फलाएर जीवनलाई सुखमय बनाउने आशा राख्न थालेका छन्।

‘यो पानीमात्रै सुकेन भने, केही वर्षमै हामीले हाम्रो बन्दोवस्त गर्न सफल हुनेछौं,’ दिपक नेपालले भने।

सरकारको सहयोग आओस् वा नआओस् सबै आ–आफ्नो तयारीमा जुटेका छन्। सरकारको आलोचना गर्दै पालभित्र बस्ने भन्दा झन् सक्रिय हुनुपर्छ भन्ने भावना गाउँगाउँमा देखिएको छ।

नेपालीहरूमा आफैं अघि बढ्ने र मौका पर्दा एउटाले अर्कालाई सहयोग गर्ने भावना यसपटक भलिभाँती प्रकट भएको छ। आवश्यक पर्दा सहयोग गर्ने सयथरी हातहरू अघि बढेको देखिएको छ। हम्रो मुलुकलाई चाँडै जीवन दिन यसले ठूलो भूमिका खेल्ने देखिएको छ।

सेतोपाटी, जेठ ३, २०७२

 



© grluitel.com || Site by: Turup Sangroula