ओली एक निर्मम ठट्टा

11th january sketchप्रधान मन्त्री केपी शर्मा ओलीले शुक्रबार राजधानीमा आफ्ना कार्यकर्ताका निम्ति आयोजना गरेको कार्यक्रममा घरघरमा ग्यास पुर्यारउने घोषणा गरेयता सिंगै मुलुक हाँसिरहेको छ। विशेष गरी सामाजिक सञ्जालमा उनका भनाइले मनोरञ्जनपूर्ण सिर्जनालाई बढावा दिएका छन्। किसिम–किसिमका हास्यरसप्रधान सिर्जनाहरूले सिंगै मुलुकमा यतिबेला हाँसोको लहर छ।

प्रधान मन्त्रीले सगर्व घोषणा गरेका छन्– ‘अब काँधमा बोकेर, केमा बोकेर, मोटरसाइकलमा बोकेर हिँड्नु पर्दैन। सिलिन्डर ग्यासको फेज (युग) समाप्त गरिदिन्छु। कति बुलेट आए भनेर गन्ने दिन पनि गए।’ यसो भनिरहँदा उनलाई सुन्ने कार्यकर्ता पनि कम्ती रमाइलो मानिरहेका देखिन्नन्। त्यो बेलाको भिडियो अहिले भाइरल भइसकेको छ जसरी उनको गैँडासम्बन्धी प्रवचन अहिले सर्वाधिक चर्चामा छ।

कार्यकर्ताको भेलामा उनी थप खुल्दै गए– ‘केही समय दिनू, पाइपबाट ग्यास घरघरमा पुर्यालउँछु। घरघरमा चुलोचुलोमा पाइप पुर्याोइदिन्छु। पिटिक्क खोल्दा सिलिन्डरबाट आउने ग्यास अब पाइपबाट आउँछ।’

ओलीको कुरा नाजायज छैन। तर, कुरा जायज भए पनि कार्यान्वयन नहुँदा यी सबै उडन्ते लागेका हुन्। उनले भन्ने गरेजस्तो हावाबाट बिजुली उत्पादन पनि हुन्छ। धेरै देशका उपभोक्ताले भान्छासम्म आएको पाइप पिटिक्क खोल्दा ग्यास आउँछ। ओलीले यो कुरा भन्दा हाँसोबाहेक केही प्रतिबिम्बित हुँदैन। अहिलेका मानिस प्रधान मन्त्रीको भाषणप्रति विश्वस्त हुन सक्दैनन्। उनले भन्ने गरेका विषय कसरी कार्यान्वयन हुन्छन्, त्यसलाई तर्क र प्रमाणका आधारमा उनीहरू बुझ्न खोज्छन्।

‘प्रधान मन्त्रीले घरघरमा ग्यास ल्याइदिने कुरा सुनेर कस्तो लाग्यो, दाइ?’ दाउरामा चिया पकाइरहेका पसलेले रिसाउँदै भने– ‘अलिकति पत्याउने कुरा गर्नुपर्छ नि। हामी सबैलाई थाहा छ, राजनीति गर्नेले अलिअलि बढाइचढाइ गर्छन् तर अलिकति पनि नमिल्ने कुरा गर्न मिल्छ?’

यो मुलुकमा हावाबाट बिजुली निकालिएको पनि हो। मुस्ताङको कागबेनीमा ३० मेगावाट क्षमताको हावाबाट बिजुली निकाल्ने प्लान्ट स्थापना भएको थियो। त्यसले हावाको बेग थाम्न सकेन र भत्कियो। त्यसपछि त्यसलाई बनाउने र पुनः सञ्चालन गर्ने काम भएन। पाल्पा, मुस्ताङ, खुम्बुजस्ता उपत्यका, जोमसोम, कागबेनीलाई हावाबाट बिजुली उत्पादन गर्न सक्ने क्षेत्रका रूपमा पहिचान भइसकेको छ। तिनलाई कार्यान्वयन गर्नेतर्फ सरकारको ध्यान कहिल्यै गएन।

राजधानी काठमाडौंमा मिथेन छ भन्ने सबैलाई थाहा छ। तर त्यसले कति धान्छ? त्यो उत्पादन गर्न कति वर्ष लाग्छ भन्ने थाहा नपाई यसै बोलेरमात्र पुग्दैन। होइन भने यसका लागि सर्वसाधारणले फेरि अनावश्यक खर्च गर्नुपर्ने हुन्छ। जुन संरचनाका निम्ति देशले खर्च गर्छ त्यसले एक वर्ष पनि काम गरेन भने त्यो यसै खेर जान्छ।

ओलीले चाँडै काठमाडौंमा डिजेलबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारी साधनले प्रतिस्थापन गर्नेसमेत बताएका छन्। यो पनि कार्यान्वयन हुँदैन भन्ने सबैलाई प्रष्ट जानकारी छ। ट्यांकरमा बोकेर ल्याएको डिजेल र पेट्रोल गाडीको सट्टामा विद्युतीय गाडी काठमाडौं उपत्यकामा चलाएको भए यहाँको प्रदूषण कम हुन्थ्यो। तर, विद्युतीय गाडीमा सबैभन्दा धेरै कर लगाएर र अनेकन हण्डर खपाएर कार्यान्वयन हुन नदिने नै सरकार र यसका निकाय हुन् भन्ने सबैलाई थाहा छ।

जनतालाई राम्ररी थाहा छ– उनले यो गर्दैनन्। त्यसैले उनका यी अभिव्यक्ति ‘हावा’ हुन भन्ने निष्कर्ष निकाल्दै सर्वसाधारण एउटा महँगो मनोरञ्जन लिइरहेका छन्। हावाबाट बिजुली निकाल्छु, घरघरमा ग्यासका पाइप पठाइदिन्छु भन्ने अभिव्यक्ति उनको हालैको बालुवाटार उठ/बसका क्रममा आउने संगतको प्रतिफल भएको सामाजिक सञ्जालमा समेत थाहा भइसकेको छ।

एक जनाले टि्वटरमा लेखेका छन्– ‘हलुका नलिऔं। माफिया र तस्करहरूको ठूलै चलखेल चलिरहेको छ बालुवाटारमा, तिनले भनेका सुनौला कथाले ओलीको दिमाग उत्तेजित हुँदा अन्टसन्ट बकिरहेका छन्।’ त्यसो त ओलीलाई स्वप्नद्रष्टाका रूपमा देख्नेहरूको जमात पनि कम्ती छैन। ओलीको ‘हावा’ विषयक अभिव्यक्तिहरूलाई प्रतिरक्षा यसरी नै गरिँदै पनि छ। अहिले सबैभन्दा गाह्रो काम नै ओली निकट रहेका रफु मास्टरहरूलाई परेको छ। धेरै ठूलो भ्वाङ पर्दा तिनलाई पनि रफु भर्न गाह्रै परेको छ।

प्रधान मन्त्री ओलीले केही दिनअघिसम्म ड्याङका ड्याङ काम गर्न चाहन्थेँ तर सकिँन भन्दै थिए। अहिले आएर अरुले थाहा पाए भने काम गर्न नपाइने रहेछ त्यही भएर भित्रभित्रै खुसुखुसु काम गर्दैछु भन्दैछन्। हल्ला र प्रचार नगरी उनले खुसुखुसु गरेको कामले परिणाम ल्याउला भन्ने विश्वास कसैलाई छैन। त्यही भएर उनले जति यस्तो भाषण गर्छन् उतिउति सित्तैको मनोरञ्जन ठानेर रमाइलो पनि गरिरहन्छन्।

ओली प्रधान मन्त्री हुँदा यिनले सर्वसाधारणका समस्या हल गर्ने उपाय ल्याउँछन् भन्ने आमअपेक्षा थियो। यसअघिका प्रधान मन्त्री सुशील कोइरालाले केही गरेनन्, अबकाले चाहिँ अवश्यै जनताका दुःख निवारण गर्छन् भन्ने पनि लागेको थियो। यिनी प्रधान मन्त्री भएका निकै दिनसम्म सर्वसाधारणले सरकारलाई राम्ररी काम गर्न र जथाभावी नझुक्न आग्रह गरिरहे। एक किसिमले राष्ट्रिय भावनाले ओतप्रोत भएको समय थियो त्यो। ओलीलाई भने त्यो स्थिति आफ्ना निम्ति समर्थन हो भन्ने भ्रम रह्यो।

यत्रो अभाव र संकटबीच पनि सर्वसाधारणमा सरकारप्रति आक्रोश थिएन। कारण एउटै थियो– भारतको नाकाबन्दी। सरकारले व्यवस्थित किसिमले काम थाल्छ र यी समस्याबाट सधैँका निम्ति मुक्त हुने बाटामा हिँड्न थाल्छ। परिस्थिति त्यस्तो भएन। हेर्दाहेर्दै माफियाहरूले सबैभन्दा बढ्ता फाइदा उठाउन थाले। कालाबजारियाहरूले राज्यको संरक्षण पाए। सरकारकै जिम्मेवार उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले सरकारलाई काला बजारियाले सहयोग गरेको जानकारी दिएर स्थिति उदाङ्गो पारिदिए।

‘कालो अर्थतन्त्र’ हाम्रो वास्तविकता बन्न पुगेको छ। तर, सरकारले अहिलेको परिस्थितिलाई सहज बनाउने काम गरेन। किन गरेन भने अहिलेकै परिस्थिति कायम रहेमा सरकारमा रहेको दल, तिनका निकटस्थ र लगानीकर्ताहरूले कमाइको मौका पाएका छन्। तराई–मधेसको असन्तुष्टि समाधानका निम्ति गम्भीर पहल हुँदै भएन।

आठ–दश दिनमा एउटा बैठक हुन्छ, त्यो पनि साँझतिर। फेरि अर्कोपटक बस्ने गरी टुंगिन्छ। सर्वसाधारण आशा गरेर सिंहदरबारतिर हेरिबस्छन्, काम हुँदैन। त्यसपछि निष्कर्ष निकाल्न कुनै गाह्रो हुँदैन, कारण सरकारमा हुनेहरूलाई समस्याले छुँदैन। बाँकी जनता मरुन् कि बाँचून् के मतलब भनेजस्तो स्थिति छ। होइन भने कति पटक हामीले ‘निर्णायक’ भनिएका वार्ता देखिसक्यौं।

भारतले नाकाबन्दी गरेपछि चीनतिरका नाका खोल्नुपर्छ भन्ने आवाज मुखरित भयो। सरकारले भने सकेसम्म त्यतातिर हेर्नै चाहेन। भएका निर्णय पनि कार्यान्वयन भएनन्। त्यतातिरका बाटा खोल्न नेपाली सेनालाई जिम्मा दिने भने पनि त्यसलाई लागु हुन नदिन सरकारको तर्फबाट धेरै भूमिका खेलेको देखियो। कतिपय मन्त्रीहरू नै यसका विरुद्धमा लागेको स्पष्टसँग सार्वजनिक भइसकेको छ। तर यसमा पनि सरकार मौन छ।

कुनै एउटा देशविरुद्ध अर्को देशलाई प्रयोग गर्ने अवस्थामा हामी छैनौं भन्ने प्रष्ट भइसकेको छ। छिमेकी चीनले पनि भारतलाई चिढ्याएर पेट्रोलियम पदार्थ नदिने निश्चित जस्तै भयो। पहिले दिएको १३ लाख लिटर पेट्रोल र पछिल्लो पटक उपप्रधान मन्त्री थापालाई दिने भनेको १४ लाख लिटर पेट्रोलमै चित्त बुझाउनुपर्ने अवस्था रह्यो। नेपालले चीनसँग व्यापारिक सम्झौता गर्ने पहल गरेन।

एउटै कुरा कति भन्नू! ओलीजस्ता नेताहरूबाट मुलुक र मुलुकबासीले अहिले भोगेका समस्याको समाधान छैन भन्ने प्रष्ट भइसकेको छ। ठट्टाले देश चल्दो रहेनछ। यिनका जोक्सले मात्र हाम्रो पेट भरिन्न। सहरमा यतिबेला नागरिकहरू आपसमा ठट्टा गर्दै हासिरहेका छन्– ‘हा..हा..हा.. पाइपमा पानी दिन नसक्ने सरकारले ग्यास पठाइदिने रे।’

नागरिक, सोमबार २७ पुस, २०७२



© grluitel.com || Site by: Turup Sangroula