घरछेउको निष्ठुर बाटो

29 May 2016 sketchम कपनमा बस्न थालेको झण्डै दुई दशक भयो। सुरुमा त्यो ठाउँमा बस्दाको स्वच्छता र शान्ति अहिले समाप्त भइसकेको छ।
सबैतिर सडक नपुगिसकेको यो गाउँ अहिले घरैघरले भरिएको, ढल नभएको र धुलैधुलो उडिरहेको नारकीय क्षेत्र बनेको छ। सडक विस्तारको दौडमा यो ठाउँ पनि सामेल भएको छ। त्यो बेला सडक धेरै थिएनन्। झरी पर्दा कतिपय बेलामा चिप्लेटी खेल्दै घर पुग्नुपर्थ्यो।

जग्गा प्लटिङ गर्नेहरूका आँखामा यो ठाउँ परेको थियो। जताततै कालोपत्रे बाटो देखापर्न थाल्यो। जताबाट हिँडे पनि बाटैबाटो थियो। मेरो घरअगाडिबाट चखुञ्चा खोला बग्थ्यो। कहिलेकाहीँ ठूलो पानी पर्दा त्यसको रौद्ररूप हेर्न लायक हुन्थ्यो।

खोलावारि हामी कपन गाविसका बासिन्दा र पारि काठमाडौँ महानगरपालिका सरस्वतीनगर। हाम्रो टोलको सहमतिले त्यो खोलालाई ठूल्ठूला ह्युम पाइपभित्र हालेर धोबीखोलामा खसाउने काम भयो। त्यसमाथि सडक कालोपत्रे भयो।

यो सबै कामका लागि स्थानीय बासिन्दाले आफ्नो खल्तीबाट यथाशक्य खर्च गरेका थिए– कम्तीमा २०/२५ हजार प्रतिपरिवारले। राम्रो र फराकिलो सडक बन्यो खोलामाथि।

हामीलाई पानी खानु थियो। ठ्याक्कै कपनमास्तिर महाँकालमा खानेपानीको प्रशोधन र वितरण केन्द्र छ। तर, हामीले त्यहीबेला करिब ३० हजार खर्च गरेर धारा लिनुपर्ने अवस्था भयो। केही वर्ष धारामा पानी आयो। अहिले हामी एक थोपा पानी नपाए पनि प्रत्येक महिना पैसा तिरिरहेका छौँ।

बाहिरबाट हेर्दा राम्रै विकास भएजस्तो देखिन्थ्यो। प्रायः यी सबै काममा स्थानीयको सक्रियता र स्रोत बढ्ता थियो। सरकारी बजेट त्यसमा कति थपिन्थ्यो भन्न सकिन्न। स्थानीय निकाय हुँदा अलिअलि बाटोका निम्ति पनि सहायता थपिन्थ्यो।

राम्रो सडक देखेपछि ठूला बस र ट्रक चल्न थाले। कालोपत्र धेरै टिकेन। हामीले गरेको पिचमाथि अहिले धुलैधुलो छ। एक वर्ष जतिअघि बिग्रेको हाम्रो बाटोमा मिलनचोकतिरबाट कालोपत्रे गर्दै गरेको देखियो।

‘कसले यो काम गर्न लागेको हो?’ कालोपत्रे गर्दैगरेका व्यक्तिलाई सोध्दा भने, ‘सडक विभागले।’

आधा किलोमिटर पनि पिच नगरी उनीहरू बेपत्ता भए। बाँकी सडकको हालत उस्ताको उस्तै रह्यो। मिलनचोकबाट सात तलेतिर अलिकति कालोपत्रेमाथि कालोपत्र थपेको देखियो। तर, त्यसमा पनि अहिले ठाउँठाउँमा खाल्डाखुल्डी देखिन थालेको छ।

मेलम्ची आयोजनाका निम्ति भनेर अहिले कपनआसपासका सम्पूर्ण सडक खनिएको छ। अहिले त्यही पाइप भित्र हालेर फराक भएको सडकमाथिबाट दस चक्के गाडीसमेत गुड्छन्। ती गाडीको गुडाइले बाँकी सडकमात्र ध्वस्त भएन, भूकम्पले हल्लाएका घरहरू थरर्र काम्छन्। हामी अहिले छिनछिनको भूकम्प भोगिरहेका छौँ।

प्रायः सडकमा सार्वजनिक यातायातका गाडी कुदाउँदा रोडपर्मिट लिनुपर्ने हो। तर, कसले हेरिदिने त्यो। अझ हामीले आफ्नो खर्चले राखेका ती पाइप फुटे भने त्यसपछि त्यहाँ उत्पन्न हुने मानवीय संकटको समाधान कसले गरिदिने?

सरकार नामको चरी हामीले त्यहाँ देखेका छैनौँ। कुनैबेला गाविस रहेको त्यो ठाउँ एकाएक सरकारले घोषणा गरेपछि नगरपालिका भएको छ। बूढानिलकण्ठ नगरपालिकाको बासिन्दा भएपछि हामीले त्यसबाट कुनै विकास निर्माण पाउन सकेका छैनौँ। साइनबोर्ड थपियो विकास नदारत। बरु अन्त्यहीन धुलो, ठूला गाडीको गड्गडाहट, कोलाहल र आतंकमा हामी परेका छौँ।

यतिबेला कपन छिर्ने कुनै बाटो छैन। महाँकालबाट छिर्ने बाटो एक वर्षदेखि खण्डहरजस्तो छ। त्यो बाटो कालोपत्रे भएको केही दिनमै खनेर खानेपानीले पाइप गाड्न थालेको थियो। अर्को बाटो गोपीकृष्णबाट छिरिसक्नु छैन। सिंगै गाडी छिर्ने खाल्डाहरू छन्। सुकेधारातिरको बाटोको हालत पनि उस्तै छ। लाग्छ, पिच गर्ने भए भने पनि ठूलो पानी पर्ने दिन पर्खेलान्। बस्, त्यसपछि केही दिनमै त्यो कालोपत्रे उप्किएको दोष त्यो एकझर पानीले पाउनेछ।

हरेक दिन बिहान ३ बजेदेखि ठूला गाडीको आतंक हुन्छ। त्यो बाटोबाट ती हिँड्न नहुने हो। किनकि, त्यो बाटो तिनको भार धान्ने किसिमकै छैन। ड्युटीमा बस्ने प्रहरीलाई त्यो बाटोको नाजुक स्थिति थाहा हुने कुरा भएन! स्थानीय पनि जो त्यसमा संलग्न थिए, तिनलाई बाहेक नयाँ मानिसलाई त्यसको वास्तविकता थाहा हुँदैन।

यो कपनको मात्र कुरा होइन राजधानी काठमाडौँ अन्य नगरपालिका र गाउँभित्रका सडकको हालत उस्तै छ। तराई–मधेसको अलि अघिको हाम्रो भ्रमणका क्रममा पनि सडकको त्यही हालत हामीले देखेका थियौँ। सहरका केही सडक फराकिला छन्। तर, सडक पेटीमा हिडिसक्नुको अवस्था छैन। सडकहरूको अवस्था हेर्दा युद्धभूमिजस्तो लाग्छ। सिंगै मानिस छिर्न सक्ने खाल्डा खनेर त्यतिकै छाडिएका छन्, त्यहाँ कुनै खतराको संकेत छैन।

नागरिकको कार्यालय रहेको सुन्धारा क्षेत्रनजिकैको पेटी गएको एक वर्षमा आधा दर्जनपटक भत्काइयो। कहिले के नमिलेको भनेर त कहिले के थप्ने भनेर। अहिले चोकचोकमा आइल्यान्ड बनाउने भनेर अर्को आतंक भइरहेको छ। केहीअघि तिनै आइल्यान्डले सडक जाम गरे भनेर भत्काइएको थियो।

कतै उप्रिमाथि थुप्री छ। कतै वर्षौं हुँदा पनि कालोपत्रे हुँदैन। कपनमा बितेका दुई दशकमा दोहोर्याआएर कालोपत्रे गर्ने काम कतै भएन। सायद ती बाटाको पिच भएको भनेर धेरै पटक बजेट निकासा र खर्च भएको हुँदो हो। यसबारे अध्ययन/अनुसन्धान गर्ने जाँगर कसैलाई छैन।

यी बाटाहरूमा सधैँ आतंकित भएर हिँड्नुपर्छ। सहरमा बस्ने यी मानिस नारकीय जीवन व्यतित गरिरहेका छन्। हाम्रो सहने बानी र सरकार तथा स्थानीय निकायको अकर्मण्यताको कुल योगफल नै कपनका जस्ता भयावह सडकको अवस्था हो।

यस्तो अवस्था नहोस् पनि किन? मुलुकको एकमात्र महानगरपालिकाले कछुवा गतिमा सडक निर्माण गर्नमा कीर्तिमान कायम गरेको छ। काठमाडौँ राजधानीमात्र होइन, यसले सिंगै मुलुकलाई प्रतिनिधित्व गरेको ठानिन्छ। यसले चार वर्षमा जम्मा २७ किलोमिटर सडक निर्माण गरेछ!

काठमाडौँ महानगरपालिकाले निर्माण गर्नुपर्ने सडक सय किलोमिटरभन्दा बढी छ। यस हिसाबले १४ वर्ष अवधिमा केवल सय किलोमिटर बाटो महानगरपालिकाले बनाउन सक्नेछ। यस अर्थमा हामी कपनबासीले धुलो नउड्ने र हिलो नहुने कालोपत्रे सडकको परिकल्पना गर्नु बेकार छ।

यो स्थितिमा भारतीय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीलाई उद्धृत गर्दै अप्रिल ६, २०१६ को इकोनमिक टाइम्स अनलाइनमा लेखिएको समाचारको सम्झना हुन्छ। उनले भनेका थिए, ‘भारतमा प्रतिदिन २० किलोमिटर बाटो निर्माण भइरहेको छ।’

प्रतिदिन २० किलोमिटरका दरले सडक निर्माण हुँदा एक वर्षमा ७ हजार ३ सय किलोमिटर हुन्छ। गडकरीले मे महिना प्रधानमन्त्री नरेन्द्र मोदीको सरकार दुई वर्ष पुगेसँगै प्रतिदिन सडक निर्माणको काम २५ किलोमिटर पुर्यानउने घोषणासमेत गरेका थिए।

यो गति त्यतिमै सीमित हुने छैन। आगामी पाँच–छ महिनामा प्रतिदिन ३० किलोमिटर सडक निर्माण हुने उनले बताए। यस हिसाबले एक वर्षमा करिब ११ हजार किलोमिटर सडक भारतमा थपिने छ। हामीकहाँ गाडी थपिइरहेका छन्। तर, बाटो त्यही अनुपातमा बढाउने कुरा छैन।

आर्थिक वर्ष २०७२/७३ को बजेट ल्याउनुअघि सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणले मुलुकको विकासको निराशाजनक चित्र प्रस्तुत गरेको छ। सर्वेक्षणअनुसार नेपालले प्रतिदिन ०.३८ किलोमिटर अर्थात् आधा किलोमिटरभन्दा कम सडक निर्माण गर्दै आएको छ।

यस हिसाबले प्रति वर्ष १३८.७ किलोमिटर सडक हाम्रो सरकारले निर्माण गर्नेछ। चालु आर्थिक वर्षको आठ महिनामा ९२ किलोमिटर मात्र सडक निर्माण हुन सक्यो। सडक निर्माणको यो सुस्त गतिले भौतिक पूर्वाधार विकासको दयनीय अवस्था उजागर गरेको छ।

मेरा आँखामा राम्रो निद्रा पर्न नपाएको धेरै भइसक्यो। एक दिन अफिसमा सहकर्मीहरूले सोधे पनि, ‘के तपाईंलाई सञ्चो छैन?’

‘सञ्चो होइन, निद्रा पुगेको छैन,’ मैले जवाफ दिएँ।

हाम्रो क्षेत्रको सडक कहिले सुध्रेला र राम्ररी सुत्न पाइएला? हाम्रो क्षेत्रको गुमेको स्वच्छता फेरि फर्केला? प्रशान्त महासागरमा तैरिरहेको नेपाली झण्डासहितको पानीजहाज किन्नुअघि हाम्रो घरछेउको निष्ठुर बाटो कालोपत्रे भइदिए हुन्थ्यो!

नागरिक, आइतबार १६ जेष्ठ, २०७३



© grluitel.com || Site by: Turup Sangroula