नयाँ शक्तिको नियति

asar 6पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा नयाँ शक्ति नेपाल गठन भएयताका सन्दर्भ–चर्चा अझै सेलाइसकेको छैन। बरु यसको औचित्यमाथि विभिन्न कोणबाट छलफल भइरहेका छन्। १ सय ६५ भन्दा बढी दल भएको मुलुकमा एउटा दल गठनले यतिविधि तरंगित गर्नुमा अझै पनि समाजको अभीष्ट बु‰न सक्ने राजनीति आवश्यक भएको देखाउँछ।

संविधान जारी भएलगत्तै असोज ९ गते भट्टराईले आफू क्रियाशील तत्कालीन एकीकृत नेकपा माओवादी परित्याग गरेका थिए। तराई–मधेस आन्दोलन चलिरहेको त्यो विषम परिस्थितिमा उनी त्यताको भ्रमणमा निस्किए पनि। संविधान जारी भएपछि त्यहाँका बासिन्दालाई आश्वस्त तुल्याउन अन्य दलका नेता तराई–मधेस जान आनाकानी गरिरहेका बेला भएको उनको भ्रमणको पक्ष र विपक्षमा स्वर सुनिएका थिए।

पुरानो दल छाडेर नयाँ निर्माण अनौठो घटना होइन। तैपनि डा. भट्टराईको यो पहल आफैंमा चर्चायोग्य बन्नुमा केही कारण छन्। दस वर्ष लामो ‘दीर्घकालीन जनयुद्ध’ परित्याग गरी मूलधारको राजनीतिमा सक्रिय डा. भट्टराईका निम्ति दल छाडेर हिँड्नैपर्ने परिस्थिति सिर्जना भयो। आफ्नै नेतृत्वमा उक्त दललाई डोहोर्‍याउने परिस्थिति धेरै प्रयास गर्दा पनि उनले पाउन नसकेका हुन्। तैपनि दलभित्र उनको प्रभावशाली स्थान थियो। सम्पूर्ण नेतृत्व नपाए पनि कार्यकर्ता र जनतामाझ आफ्नो प्रभावकारी छवि स्थापित गरिसकेकै थिए।

यस स्थितिमा नयाँ दल खोलेर राजनीति अघि बढाउन खोज्नु असजिलो बाटो रोज्नु हो। उमेरसँगै व्यक्तिले सहज वातावरण अपेक्षा गरिरहेको हुन्छ। उनले फेरि दललाई संगठित गरेर अघि बढ्ने असहज बाटो रोजेका कारण पनि उनीप्रति ध्यानाकर्षण भइरहेको छ। नेपाली राजनीतिमा डा. भट्टराईले लिएका घुम्ती र बिसौनी आफैँमा रोचक छन्।

२०५२ फागुन १ देखि ‘जनयुद्ध’ सुरु गर्दा धेरैलाई त्यसले उचाइ प्राप्त गर्नेमा विश्वास थिएन। त्यसलाई अघि बढाउन उनले खेलेको भूमिका सुरुदेखि सार्वजनिक चर्चाको विषय थियो। पार्टी अध्यक्ष पुष्पकमल दाहाल त्यसको तीन वर्ष पुग्दासमेत सार्वजनिक परिदृश्यमा थिएनन्। त्यही भएर उनको ‘डक्टर्ड’ तस्बिर सार्वजनिक गर्दै दलले ‘प्रचण्डपथ’ अंगीकार गरेको सार्वजनिक गरेको थियो।

भूमिगत दलका प्रमुख नेताका रूपमा डा. भट्टराईको चर्चाले नेतृत्वलाई अत्यन्तै शंकित तुल्याएको थियो। त्यसो त धेरै वर्ष उनले दाहालसँग आफू ‘विलीन’ भएको बताइरहे। आफ्नो दल र सिद्धान्तका निम्ति उनले गरेको यो समर्पण नै थियो। सामान्यतः कुनै व्यक्तिमा अर्को व्यक्ति यसरी विलीन हुन सक्दैन।

दाहालका सूत्री उद्धृत गरेर लेख लेख्नुपर्ने बाध्यता दलभित्र रहे पनि डा. भट्टराई त्यसपछि पनि ‘सिद्धान्तकार’ का रूपमा चित्रित भइरहे। यो रूपमा चित्रित हुन सक्नुमा त्यसभित्र खेलेको भूमिका र दलबाहिरको संसारमा उनको प्रभाव कारक थियो। उनको जुझारुपन निरन्तर प्रकट भइरहन्थ्यो। त्यतिमात्र होइन, आफ्ना चोटिला लेखमार्फत उनी सार्वजनिक चर्चामा रहिरहे।

भूमिगत राजनीतिबाट खुला भएपछि धेरैजसो वाम नेताहरू खुइलिएका छन्। २०४६ सालको जनआन्दोलनको सफलतापछि भूमिगत जीवन त्याग गरी सार्वजनिक भएका तत्कालीन नेकपा (माले) (हाल एमाले) का नेताहरूको नाम उल्लेख गरी ‘को हुन् …?’ भन्ने समाचार छापिने गर्थे। तिनको जीवन अत्यन्त तिलस्मी थियो। कालान्तरमा उनीहरूका व्यवहारले भूमिगत कालको जीवनभन्दा अग्लो तिनको व्यक्तित्व छायामा परेको थियो।

कहिलेकाहीँ परिस्थितिले पनि नयाँ संगठन, व्यक्ति वा आन्दोलनलाई सार्वजनिक जीवनमा आउन प्रेरित गर्छ। २०४६ सालको जनआन्दोलनलगत्तै प्रजातान्त्रिक लोक दल गठन भएको थियो तर त्यो टिक्न सकेन। त्यसयता धेरै दल बनेका छन्, तैपनि वर्चस्व भने कांग्रेस, एमाले, माओवादी र क्षेत्रीय रूपमा उदाएका मधेसवादी दलहरूकै छ।

नयाँ शक्तिका निम्ति अहिलेको अवस्था किन अनुकूल छ? यस प्रश्नको जवाफ दिनुअघि माओवादी केन्द्रले २०५२ पछि हासिल गरेको उपलब्धि हेर्नु उचित हुन्छ। प्रजातन्त्र आएपछि चुलिएका जनआकांक्षा सम्बोधन गर्न सत्तामा भएका दल विफल भएका थिए। संसदीय निर्वाचनमा विफल भएर खुम्चिएको संयुक्त जनमोर्चाको माउ पार्टी माओवादीसँगै भूमिगत भएपछि सत्तासँग रिसाएका धेरै व्यक्तिले नरम नीति लिएका थिए।

त्यो सरकारवालालाई देखाइदिने रिसबाट समेत प्रेरित थियो। त्यो बेला मुलुकको राजनीतिमा उदाउँदै गरेको नयाँ शक्तिले मुलुकमा केही गर्ला भन्ने अपेक्षा थियो। र, त्यो आशा संविधान सभाको पहिलो निर्वाचनका बेलामा समेत कायमै थियो। तर, आफू शक्तिशाली भएपछि माओवादीमा भष्मासुर प्रवृत्ति विकास हुँदै गयो। अन्ततः त्यही प्रवृत्तिले त्यसलाई सिध्यायो। अहिलेलाई यो प्रसंगमा यत्ति नै।

डा. भट्टराईको नयाँ शक्तिका निम्ति अहिले यस्तै एउटा परिस्थिति बन्न गएको छ। प्रमुख दलहरूले लोकतन्त्रमा अत्यावश्यक ‘मेरिटोक्रेसी’लाई बेवास्ता गरेका छन्। जतासुकै दल र यसका आसेपासेकै हालीमुहाली मुलुकमा चलेको छ। मुलुकमा प्रजातन्त्र बहाली गर्ने भनेको कुनै दलमा नलाग्ने र स्वतन्त्र रहने व्यक्तिहरूले बाँच्नै नसक्ने अवस्था ल्याउने रहेछ भन्ने परिरहेको छ।

सत्तारूढ र प्रमुख विपक्षले समेत मुलुकको विकास निर्माणको कामलाई बेवास्ता गरेका छन्। सर्वसाधारण अत्यन्तै निराशाको अवस्थामा बाँचिरहेका छन्। मुलुकभित्र आशाका किरण नदेखी युवा शक्ति विदेशका कहर काट्न हिँडिरहेका छन्। यो बेलामा विकास–निर्माण तथा आर्थिक समृद्धिको ठोस योजनासहित आएको नयाँ शक्ति नेपाल दलले आशाको सञ्चार गरेको छ।

प्रमुख दलहरूको हेपाहा प्रवृत्तिमाथि जवाफ दिने मौका आउला कि नआउला भन्नेमा पनि सर्वसाधारण छन्। यसका निम्ति नयाँ शक्ति पार्टीले पनि आश्वस्त पार्नुपर्ने पक्ष धेरै छन्। हुन त सर्वसाधारणको अभीष्ट बुझेर सार्वजनिक शपथमार्फत यसको जवाफसमेत दिएको देखिन्छ। वाम विचारधारी मात्र होइन, गैरवामहरूलाई पनि दलभित्र उत्तिकै स्थान दिएर अरूभन्दा फरक हुने संकेतसमेत यसले गरेको छ।

यो दलको आन्तरिक प्रजातान्त्रिक अभ्यास स्वस्थ रह्यो र आफ्नो दलको सीमित घेराभित्र मात्र नरही स्वतन्त्र व्यक्तिहरूलाई समेत राष्ट्रिय भावधारामा अगाडि बढाउन सक्यो भने सर्वसाधारण मतदाताले नयाँ शक्तिलाई किन नहेर्ने भन्ने भावना आउन सक्छ। यसै पनि डा. भट्टराई काम गर्न इच्छा राख्ने नेताका रूपमा चिनिएका छन्। उनकै बेलामा काठमाडौंमा सडक विस्तारको काम अघि बढ्यो। उनी त्यो बेला सक्रिय नभएका भए काठमाडौंको अवस्थामा सुधार आउने थिएन। मौका पाएको खण्डमा यिनले केही गर्लान् भन्ने आशा सबैमा देखिन्छ।

अझै पनि नयाँ शक्तिप्रति केही विषयमा शंका छन्। डा. भट्टराई ‘दीर्घकालीन जनयुद्ध’ गलत थियो भन्न सक्ने स्थितिमा छैनन्। तर सबैको विश्वास जित्ने हो भने आफ्नो विगतप्रति अलोचित हुन पनि तयार हुनैपर्छ। चीनको ‘सांस्कृतिक क्रान्ति’लाई त्यहाँको नेतृत्वले गल्ती भएको पछि स्वीकार गरेको थियो। परिवर्तनका निम्ति हिंसा आवश्यक छैन भन्ने भावना फैलनु आवश्यक हुन्छ। सायद भट्टराईलाई सोधिने यो प्रश्न भने यथावत् रहनेछ।

मुलुकलाई गणतन्त्रसम्म ल्याइपुर्‍याउन ‘जनयुद्ध’को भूमिका थियो भन्ने लाग्नु स्वाभाविक हो। यथार्थमा यो मुलुकमा जहिल्यै प्रजातान्त्रिक र वाम शक्तिको संयोगले मात्र परिवर्तन सम्भव भएका छन्। मुलुक गणतन्त्रमा पुग्नुमा पनि यी दुईको संयोग मुख्य पक्ष हो। यस स्थितिमा विगतप्रति आलोचित हुँदै समृद्ध नेपालको २५ वर्षे लक्ष्य पूरा गर्न लाग्ने हो भने डा. भट्टराईको नयाँ शक्तिले मुलुकले खोजेको निकास दिन सक्नेछ।

अझै पनि धेरैलाई नयाँ दलप्रति विश्वास नहुने कारण हिजोको हिंसा–हत्याको राजनीतिमा संलग्नता नै हो। आखिर त्यो पृष्ठभूमिबाट आएको दल परित्याग गरी नयाँ शक्ति बनाएका नेताले यसमा पुनर्विचार गर्दा विश्वासको घेरा बढ्न सक्छ। डा. भट्टराईलाई मन पराए पनि उनी र उनको दलले विगतमा लिएको नीतिप्रति आलोचनात्मक धारणा राख्ने जमात देशमा ठूलो छ। अहिलेका परिवर्तनमा त्यो विगतको भूमिका भए पनि हिंसाको राजनीतिचाहिँ आलोचित हुनुपर्छ।

नयाँ शक्ति गठनले एमालेबाहेक सबैलाई धक्का दिने धारणा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले यसको उद्घाटन समारोहमा व्यक्त गरेका थिए। वास्तवमा दल गठनको कामसमेत पूरा नभई यति धेरै चर्चा र चासोले यसको भविष्य सुखद रहेको संकेत गरिरहेका छन्। यो दलको उपस्थितिले अन्य दललाई समेत सच्चिन र प्रतिस्पर्धाका निम्ति तयार हुन हाँक दिइरहेको देखिन्छ। तर नयाँ शक्तिले नयाँ हुन कोसिस भने गर्नैपर्छ।

नागरिक, सोमबार, ०६ असार २०७३



© grluitel.com || Site by: Turup Sangroula