प्रतीक्षा नयाँ खेलाडीको

2-october-2016पत्रकारका रुपमा हामी दैनिक विभिन्न व्यक्तिलाई भेटिरहेका हुन्छौँ। यसरी भेटिनेहरू सामान्य चियापसलेदेखि राष्ट्राध्यक्ष वा सरकार प्रमुखसम्म पनि हुन सक्छन्। अनि हामीलाई बोलाएर कुरा सुन्ने वा सुनाउनेहरू पनि उत्तिकै हुन्छन्। यो पेशाको सौन्दर्य पनि सायद यही नै हो।

गत साताका दुई राजनीतिक भेटघाटको प्रसंग चर्चा अहिलेको नेपालका लागि सान्दर्भिक हुन सक्छ। दुई राजनीतिक दलका दुई भेटमा हामी धेरै पत्रकार निम्त्याइएका थियौँ। यी दुई हुन्– नेपाली कांग्रेस र विवेकशील नेपाली दल।

कस्तो संयोग! एउटा पुरानोमध्येको एउटा दल कांग्रेस। अर्को भर्खरै दर्ता भएको र दोस्रो संविधानसभा चुनावमा स्वतन्त्र सदस्यलाई उठाएर सुरु भएको नयाँ दल। यी दुईका बीचमा तुलना हुन सक्दैन। तर, तिनको राजनीतिक कर्मको चर्चाचाहिँ आआफ्नो आकारअनुसारकै छ। निर्वाचन आयोगमा १५९ दल दर्ता छन् भने संसद्मा प्रतिनिधित्व गर्ने ३१ दल रहेका छन्। कांग्रेस संसद्भित्र रहेको सबैभन्दा ठूलो दल हो भने विवेकशील अहिलेसम्म संसद्मा पुग्न नपाएको युवाहरूको पहलमा सुरु भएको दल।

राजनीति भन्नेबित्तिकै एक किसिमको वितृष्णा छ मुलुकमा र जनस्तरमा पनि। पहिलापहिला राजनीति भन्नासाथ परिवर्तनको संवाहक शक्तिका रूपमा जसरी लिने गरिएको थियो, त्यो विस्तारै कमजोर हुँदै गएको छ। प्रायः दलहरू पत्रकारलाई यदाकदा बोलाएर के गर्नुपर्ला भनेर सोध्छन्। पत्रकारहरू सर्वसाधारणको सम्पर्कमा भइरहने हुनाले तिनका बारेमा सर्वसाधारणले के सोच्लान् भन्ने बुझ्न पनि यस्तो भेटघाटको सिलसिला मिलाउने गरिन्छ। सत्तामा हुने दलका निम्ति यो खासै आवश्यक हुन्न, किनभने ती स्वार्थ समूहबाट घेरिएका हुन्छन् र सोही समूहबाट जे सुन्छन् त्यसैलाई सत्य ठान्छन् र पाइला चाल्छन्।

विवेकशील नेपाली दलबाटै पहिलो चर्चा गरौँ। यो दल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक गोविन्द केसीको सत्याग्रहदेखि चर्चामा छ। यसले त्यो आन्दोलनलाई आत्मसात गरी सहयोग पुर्‍याउँदै आएको छ। संयोगले फेरि डा. केसी ९ औँ आमरण अनशनमा छन्। र, यो दलले विगतमा झैँ यो आन्दोलनलाई सहयोग पुर्‍याउनुपर्ने अभिभारा छँदैछ। तर, यो आन्दोलनमा अन्य धेरै व्यक्ति पनि जोडिएका छन्, जसलाई मुलुकको स्वास्थ्य सेवा र शिक्षाप्रति तीव्र चासो छ।

विवेकशीलले बेलाबेलामा आफूले के गर्नुपर्ला भन्ने जिज्ञासा प्रेसका सामु राखिरहेको पाइन्छ। यसपटक बानेश्वरमा यसले आयोजना गरेको छलफलमा सबैजसो सञ्चार माध्यमको प्रतिनिधित्व थियो। त्यसमध्येका एकजना सहभागी विश्लेषक एवं लेखक श्रीकृष्ण अनिरुद्ध गौतमले भने, ‘मैले अहिलेसम्म विवेकशीलका बारेमा एक शब्द लेखेको छैन।’

वास्तवमा विवेकशीलले विस्तारै यसको बारेमा लेख्न र बुझ्न हामीलाई आकर्षित गर्न थालेको छ। यसबारे एक शब्द पनि नलेखेका धेरैलाई अब यसले लेख्न उत्प्रेरित पनि गर्न थालेको छ। त्यो छलफलमा धेरैले विवेकशीलका सदस्यलाई आगामी निर्वाचनमा राम्रो गर्न सुझावमात्र दिएनन्, अन्य दलको अकर्मण्यताले नेपाली जनता विकल्प खोज्न तत्पर भएको पनि बताए।

वास्तवमा अहिलेका प्रमुख दल एकैदिनमा बनेका होइनन्। कांग्रेस, एमाले, माओवादी केन्द्र र मधेसी दलहरूको लामो क्रियाशीलताले तिनलाई आजको अवस्थामा ल्याइपुर्‍याएको हो। मुलुकको परिवर्तनका संवाहक रहेका यी शक्तिको क्रियाकलाप्रति पनि जनमानसको अत्यन्तै ठूलो असन्तुष्टि छ। यस अर्थमा पनि तिनको विकल्प के हुन सक्ला भन्ने ध्यान अहिले चौतर्फी छ।

निश्चय नै यी ठूला दलको विकल्प हुन सक्ला र? भन्ने हामी सबैलाई लाग्न सक्छ। आजका यी ठूला दल हिजो पनि थोरै युवा मिलेर तत्कालीन समयलाई सम्बोधन गर्नका निम्ति नै जन्मिएका हुन्। र, तिनले साँच्चिकै समयको गति पक्रिएर मुलुकलाई यहाँ ल्याइपुर्‍याएका छन्। तर, अबको समयलाई तिनलाई राम्ररी प्रतिनिधित्व गर्न सक्दैनन् कि? भन्ने भाव अहिले मुखर हुन थालेको छ।

विवेकशीलका नेताहरूलाई त्यहाँ हामीले भन्यौँ– अब समय आइसक्यो। आमजनमानसमा देखिएका असन्तुष्टिलाई सम्बोधन गर्न उनीहरूले अर्को एउटा आन्दोलन अघि बढाउने बेला पनि भइसक्यो। प्रत्येक पटक मुलुकमा ठूला परिवर्तनपछि देश समृद्धिको बाटोमा लाग्छ भन्ने भावनामा तुषारापात भएको छ। मुलुकमा आएको नयाँ राजनीतिक परिवर्तन र संविधानको रक्षा गर्नै नसक्ने नेतृत्व भएका ठाउँमा अर्को आन्दोलनको अपेक्षा हुनु स्वाभाविक हुने रहेछ।

विवेकशीलको छलफलमा उठेका विषय र सम्भावना देखेर यसमा संलग्न युवाहरू झन् उत्साहित भएका छन्। अहिलेसम्म मुलुकको अहितमा कुनै काम नगरेका यी युवाले नागरिकलाई सुख दिने बाटोमा लग्ने सम्भावना देखिँदैछ। देश बिगार्नेहरूलाई यत्तिकै गालीमात्र गर्नुभन्दा पनि सम्भावना भएका युवा यसमा प्रवेश गरेर हस्तक्षेप गर्नु अहिलेको आवश्यकता हो।

अघिल्लो दिन विवेकशीलको छलफल थियो, भोलिपल्ट अर्थात् शुक्रबार कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले राजधानीको तीनकुनेमा यस्तै भेलाको आयोजना गरे। पत्रकारलगायतबाट आएका सुझाव आफै टिपेर बसेका उनलाई प्राप्त सुझावको कार्यान्वयनमात्र हुने हो भने फेरि कांग्रेसको जय भन्ने जमात झनै विस्तारित हुनेछ।

वैयक्तिक स्वतन्त्रता र लोकतन्त्रका निम्ति निरन्तर लडेको कांग्रेसजस्तो दलले मुलुकका निम्ति केही गर्न सकेन भने त्यसपछि अरुलाई गुहार्नु पर्ने पनि हुन्छ। शान्तिप्रक्रियामा प्रभावशाली भूमिका निर्वाह गरेका सिटौलाको संविधान निर्माणमा रहेको योगदानलाई सबैले सम्झना गरेका छन्। तर, उनकै अगाडि यो संविधान कार्यान्वयन हुनेमा धेरैजसो वक्ता पत्रकारहरूले आशंका व्यक्त गर्दा पक्कै पनि उनी गम्भीर बनेको हुनुपर्छ।

राजनीतिक परिवर्तनपछि मुलुकको आर्थिक विकासका निम्ति दलहरूले प्रभावकारी भूमिका खासै खेल्न सकेनन्। अझ प्राप्त परिवर्तन संस्थागत गर्नका निम्ति तिनले आपसमा मिलेर काम पनि गर्न सकेनन्। संविधान जारी गर्ने बेलामा दलहरूबीच जुन तहको एकता थियो त्यो निरन्तर हुन नसक्दा अहिले समस्या झनै गम्भीर हुन थालेको छ। २००७ सालको परिवर्तनदेखि नै प्रत्येक पटक नेताहरूमा देखिएको झैझगडा र गोलमाल अहिलेसम्म जारी छ। त्यसैले मुलुक दिनानुदिन अधोगतिमा हिँड्दो छ।

सिटौला मुलुकका समस्याप्रति राम्रै जानकार छन्। तर, उनी आफैले पनि दलभित्र गर्न सक्ने धेरै कुरा देखिएको छैन। अहिले मुलुकभित्र मात्र होइन दलभित्रै पनि विग्रह छन्। कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो दलभित्रका सबै समूहलाई समेटेर लैजान सकेको देखिएको छैन। एमालेभित्रका समस्या छरपस्ट हुने थिए, तर अहिले सत्ताबाट बाहिरिएको हुनाले केही साम्यजस्तो हुन पुगेको देखिएको छ।

माओवादी केन्द्रको त झन् बेहाल छ। ‘जनयुद्ध’देखि शान्ति प्रक्रियासम्म प्रभावकारी भूमिका निर्वाह गरेका डा. बाबुराम भट्टराई अहिले नयाँशक्ति पार्टी खोलेर क्रियाशील छन्। एक हिसाबले नयाँशक्तिदेखि विवेकशील नेपालीसम्मका दलले अहिलेसम्म अड्डा जमाएर बसेका पुराना दललाई चुनौती दिने नै छन्। अहिलेको राजनीतिक तस्बिरले यही संकेत गर्छ।

जनताको शक्तिअगाडि कसैले पनि दम्भ नराखे हुन्छ। ठूला दलहरूले समयमै आफूलाई सुधारेनन् भने तिनलाई चुनौती दिने शक्ति पनि सतहमा आउनेछन्। भारतमा अरविन्द केजरीवालको आमआदमी पार्टीले त्यो रूपमा सफलता हासिल गर्ला भन्ने कसलाई पो लागेको थियो र? हाम्रा दलका नेताहरूले पनि आफूलाई सुधार गरेनन् र आफूलाई हटाइसकेको राजाको ठाउँमा राखे भने पक्कै पनि घाटा हुन सक्छ।

विवेकशील पार्टी भर्खरै उदाउँदै गरेको भए पनि यसप्रतिको बढ्दो चासो उल्लेख्य छ। नयाँशक्ति पार्टीप्रतिको चासो पनि उत्तिकै छ। अझ यसअघि कतै नलहसिएका युवा राजनीतिमा आए भने त्यसले सर्वसाधारणको मत तान्ने अवस्था बन्नेछ। आउने चुनावले नेपाली राजनीतिमा नयाँ खेलाडीहरू ल्याउने तयारी गरिरहेको अनुभूति हुँदैछ यतिबेला।

नागरिक, आइतबार, १६ असोज २०७३



© grluitel.com || Site by: Turup Sangroula