शीतलनिवासमा ‘राजा’ भेटियो

rajaहामी सबै पञ्चायतका बेलामा जन्मेका, बाल्यकाल त्यही कालमा बिताएका र त्यस बेलाको लोकप्रिय सञ्चारमाध्यम रेडियो सुनेकाहरूलाई अहिले पनि एउटा गीत कन्ठै छ :

चौतारीमा राजा भेटियो
चौतारीमा रानी भेटियो

वास्तवमै त्यस बेलाको बालचेतनामा यसले प्रभाव पारेको थियो– कतै चौतारामा राजा भेटिए भने! गीतमा राजा चौतारीमा भेटिए पनि वास्तविक जीवनमा भेटिँदैनथे। बेलाबेलामा लावालस्करसहित क्षेत्रीय भ्रमणमा हिँडे पनि सबैले तिनलाई चौतारा–पँधेरामा भेट्ने मौका पाउँदैनथे।

२०४६ सालको राजनीतिक परिवर्तनपछि भने साँच्चिकै राजा देखिए। अलंकारलाई वास्तविक रूपमै देखिनेगरी पहिरिइन्छ। त्यो आलंकारिक थियो। काम निर्वाचित जनताका प्रतिनिधिले गर्न थालेका थिए।

राजालाई अलंकार भएर मात्र बस्न कहाँ मञ्जुर थियो र! बिस्तारै अलिअलि गर्दै अधिकार आफूतिर तान्न थाले। दाइ राजा वीरेन्द्रको दरबार हत्याकाण्डमा निधन भएपछि सिंहासनारूढ ज्ञानेन्द्रले भन्न थाले– देखिने तर नबोल्ने राजा बन्न चाहन्नँ।

पूर्वराजासँग जोडिँदा राष्ट्रपति परिवारको ‘खान्दानी इज्जत’ त बढेको होला तर गणतान्त्रिक पद्धतिका हिसाबले फाइदा गरेको छैन। व्यक्तिका रूपमा पनि अहिलेको पद्धतिका उनी विरोधी हुन् र बेलाबेलामा असन्तुष्टि प्रकट गर्दै आएका छन्।

उनी बोलेनन् मात्र, चले पनि। उनले प्रजातन्त्र मासेर निरंकुशतन्त्र थालनी गरे, आफ्ना पिता राजाको जस्तैगरी आफ्नै सहयोगी ल्याएर मन्त्रिमण्डल पनि बनाए। हामीले रेडियोबाट सुनेका तुल्सी गिरी, कीर्तिनिधि बिष्टहरू मन्त्रिमण्डलका वरिष्ठ सदस्य हुन आइपुगे।

समयले कोल्टे फेर्‍यो। आन्दोलन सफल भई मुलुकमा गणतन्त्र स्थापना भयो। यो पद्धतिले दुईजना राष्ट्रपति पनि जन्माइसक्यो। संयोगले ती दुई राष्ट्रपति सम्धी साइनोभित्र पनि बाँधिइसके। एउटा नयाँ शासक वर्ग मुलुकमा उदाइसकेको छ।

यसपालि संयोगले राष्ट्रपति निवासबाट बेहुली अन्माउने शुभसाइत पनि पर्‍यो। राष्ट्रपति विद्यादेवी भण्डारी पुत्रीको पूर्वराष्ट्रपति डा. रामवरण यादव परिवारसँग साइनो जोड्ने शुभकार्य हुन पुग्यो। धेरै हिसाबले यो संयोगपूर्ण रह्यो– एक पहाडकी, अर्का तराईका, एक वामकी, अर्का प्रजातन्त्रका!

तर, चर्चा त्यसरी हुन पुगेन। पूर्वराजा ज्ञानेन्द्रवीरविक्रम शाहको व्यक्तित्वले यो विवाहलाई छपक्कै ढाकिदियो। पूर्वराजा–महाराजासँगको सम्बन्ध खानदानीपनको परिचायक हो। त्यसैले त्यस परिवारका सदस्यहरूलाई निमन्त्रणा गरेर आफूलाई त्यही वर्गमा पुगेको संकेत दिनु नराम्रो होइन।

पूर्वराजाको परिवार सामान्य नागरिकसरह भइसकेको छ। नागरिकका रूपमा हामी पनि सरकारका गतिविधिप्रति असन्तुष्ट भएर बोल्छौँं, उनी पनि एक सामान्य नागरिकसरह बोल्छन्।

यति हुँदासम्म केही छैन। तर, जब उनी कुनै विज्ञप्ति जारी गर्छन्, त्यति बेला मन्त्रिपरिषद्मा तातो छलफल हुन्छ। पूर्वराजा ज्ञानेन्द्रको विज्ञप्तिमाथि पुष्पकमल दाहाल मन्त्रिपरिषद् बैठकमा छलफल भएको समाचार पढेर सबै आश्चर्यचकित भए। आखिर असामान्य नागरिकबाट सामान्य बनेका ज्ञानेन्द्रको वक्तव्यले त्यत्रो चर्चा पाउनुपर्ने आवश्यकतै थिएन।

हाम्रा राजनीतिक दलका गतिविधिले भने उनलाई बिस्तारै स्थापित गर्ने काम गरिरहेका छन्। राष्ट्रपति निवासले पूर्वराजालाई पाहुना बनाएर निमन्त्रणा गर्दाको सन्देश के जान सक्छ भन्नेमा ध्यान पुर्‍याएको देखिएन।

राष्ट्रपति निवासमा हुने निजी समारोह पनि मुलुकको राजकीय परम्पराभन्दा अलग हुन सक्दैन। राष्ट्रपतिका प्रत्येक व्यवहारको प्रभाव मुलुकमा पर्छ। राष्ट्रपति निवासमा बोलाएर उनलाई पूर्वराजाका रूपमा मान्यता दिइसकेपछि आउँदा दिनमा अब सबैजसो राजकीय कार्यक्रममा उनलाई निमन्त्रणाका लागि बाटो खुला भएको छ।

सर्वसाधारणलाई भेट्ने मामिलामा हाम्रा राष्ट्रपतिहरूले पूर्वराजाहरूकै ढाँचा–ढर्रा अवलम्बन गर्ने गरेको पाइन्छ। गणतन्त्रका राष्ट्रपतिहरू सर्वसाधारणसँग हात मिलाउँदैनन्, विदेशीसँग भने गला मिलाउन पनि तिनलाई आपत्ति हुँदैन।

हाम्रा राष्ट्रपतिलाई विदेशीले आएर धाप मार्छन्। सामाजिक सञ्जालतिर बाबा रामदेवले आफ्ना राष्ट्रपति प्रणव मुखर्जी र नेपाली राष्ट्रपतिलाई भेटेका तस्बिर देखिन्छन्। बाबा रामदेव तिनै हुन्, जसले मुखर्जीलाई भेट्दा र यहाँका विद्या भण्डारी वा रामवरण यादवलाई भेट्दाको भावभंगिमा हेर्न लायकको हुन्छ।

रामदेवका पतञ्जली औषधि उत्पादन कारखानाको उद्घाटनका क्रममा राष्ट्रपति भण्डारीबाट वीरगन्ज र कारखाना क्षेत्र बारामा भ्रमण भयो। बाबा रामदेव र उनका नेपाली साझेदार उपेन्द्र महतोको प्रयासले राष्ट्रपति भण्डारीविरुद्ध स्थानीयले कुनै नकारात्मक गतिविधि गरेनन्। उनका लागि यो एउटा अवसर थियो, त्यहाँका नारीका हृदयमा पुग्ने। उनी कुनै ठाउँमा उत्रिएर सडक किनारामा उभिएका महिलाका हात छुँदै तिनको सन्चोबिसन्चो सोध्न सक्थिन्। उनलाई राष्ट्रपति निवासको सुरक्षा र कर्मचारीतन्त्रले खोपाको देउताबाहेक केही बनाएको छैन।

चुनावमा उनलाई ‘जनताकी छोरी’ भनेर मानिसले जिताएका पनि हुन्। तर, शीतलनिवास छिरेपछि उनले ‘जनताकी छोरी’ हुनुमा गर्व गरेको देखिएन। बरू उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ले भने बेलाबेलामा कार्यक्रम स्थलमा पुगेपछि पनि जनसाधारणसँग भेट र कुराकानी गरेको देखिन्छ। राष्ट्रपति भण्डारीले आफ्नो स्थानलाई जनमन जोड्ने माध्यमका रूपमा प्रयोग गरेको आजका मितिसम्म देखिएको छैन।

राजनीतिकर्मीले राजाहरूलाई हिजोका दिनमा जनताबाट अलग भएर टापुसरह बसेको देखेका छन्। तिनको अवचेतन मनमा ती राजाहरूकै जस्तो व्यवहार गहिरोगरी बसेको हुन सक्छ। त्यसैको प्रतिबिम्ब बेलाबेलामा सार्वजनिक भइरहन्छ।

गणतन्त्र हाम्रो आफ्नो पद्धति हो। हामी सबैको केही न केही योगदान यसमा छ। पूर्वराष्ट्रपति रामवरणका बेलामा गणतन्त्र दिवसमा कुनै न कुनै जमघट हुने गर्थे। अहिलेका राष्ट्रपतिका बेलामा पनि आयोजना भयो तर विदेशी कूटनीतिकर्मी वा यस्तै अन्यका लागि। त्यहाँ सर्वसाधारणलाई कुनै स्थान थिएन र छैन पनि।

हिजो राजाहरूले सैनिकमञ्च टुँडिखेलमा बसेर घोडेजात्रा हेर्थे। आज राष्ट्रपतिले पनि सोही ढाँचामा हेर्दैछन्। हाम्रा जनता भने उसैगरी टुँडिखेलको बारमा च्यापिएर हेर्छन्, अग्ला रुखमा उक्लेर पनि हेर्छन्! के हाम्रा संस्थाहरूले कुनै परम्पराको थालनी गर्नु आवश्यक छैन, जहाँ सर्वसाधारणको सम्मान होस्?

राष्ट्रपति एउटा ‘संस्था’ हो, त्यहाँ हुने कार्यक्रम महोत्सवमय हुनुपर्छ। त्यसले जीवनका हरेक क्षेत्रलाई छुने प्रयास पनि गर्नुपर्छ। हामीले शुक्रबार राति अमेरिकी राष्ट्रपतिको शपथग्रहण समारोह टेलिभिजनबाट हेरिरहँदा त्यही अनुभूति भइरहेको थियो। अझ अमेरिकी राष्ट्रपतिले बाइबल हातमा लिएर शपथग्रहण गरेपछि नेपाली समाजमा समेत हाम्रा हिन्दू, बौद्ध र अन्य धर्मको उपस्थिति हुनुपर्ने आग्रह सामाजिक सञ्जालमा देखिन थालेको छ।

पूर्वराजा ज्ञानेन्द्रसँग राष्ट्रपति भण्डारीको पारिवारिक सम्बन्ध हुन सक्छ। उनले तिनलाई यथोचित सम्मान दिन वा पारिवारिक जमघटमा बोलाउन सक्छिन्। तर, राष्ट्रपति भएका बेला बोलाउनु हुन्छ वा हुन्न भनी सोच्ने काम उनकै हो।

यति बेला धेरैको मनमा उब्जेको प्रश्न हो– पूर्वराजालाई बिहेको निम्तो दिइएको चाहिँ किन रहेछ?

यति बेला ‘राष्ट्रवादी धार’ को नेतृत्व एमालेले गरिरहेको सन्देश विभिन्न कोणबाट गइरहेको छ। राष्ट्रवादका आआफ्नै परिभाषा र मानक होलान् तर केही अडानका कारण एमालेलाई त्यो श्रेय सर्वसाधारणले पनि स्वस्फूर्त ढंगमा दिइरहेका छन्। त्यही शृंखलाको एउटा विन्दुका रूपमा पूर्वराजालाई पनि जोड्न खोजिएको हुन सक्छ। यसो भयो भने उनीसँग आस्था राख्ने समूह पनि यो प्रक्रियामा जोडिन सक्छ।

पूर्वराजासँग जोडिँदा राष्ट्रपति परिवारको ‘खान्दानी इज्जत’ त बढेको होला तर गणतान्त्रिक पद्धतिका हिसाबले फाइदा गरेको छैन। व्यक्तिका रूपमा पनि अहिलेको पद्धतिका उनी विरोधी हुन् र बेलाबेलामा असन्तुष्टि प्रकट गर्दै आइरहेका छन्। अझ बिहेमा उनी गइदिएपछि चर्चा पनि सुरु भएको छ– शीतलनिवासमा पूर्वराजाको आकर्षण!

हो, हाम्रो परिवर्तनको पद्धति फरक छ। राजपाठ छाडेपछि निर्वासित हुनुपर्ने अन्यत्र मुलुकका पूर्वराजाहरूको परिस्थितिभन्दा भिन्न यहाँ सरकारले नै उनलाई सम्मानपूर्ण बस्ने ठाउँ दिएको छ। उनकी माताका निम्ति अहिले पनि दरबारमै एउटा ठाउँ पनि दिइएको छ। उनी बस्ने ठाउँमा एकपटक बिजुली काटिँदा सर्वसाधारणले अरिंगालले जसरी सामाजिक सञ्जालमा आक्रमण गरेपछि सुचारु गर्नुपर्ने अवस्था पनि आयो। हाम्रोजस्तो कमजोर स्मृति भएको मुलुकमा पूर्वराजाको आकर्षण हुनु र आफ्नो व्यवहार पनि राजाहरूकै जस्तो हुँदै जानु गणतान्त्रिक मुलुकका नेताहरूको स्वास्थ्यका निम्ति हानिकारक हुन सक्छ।

झापाका पत्रकार चन्द्र भण्डारीले लेखेको यो गीतजस्तो परिस्थिति प्रत्येक पटकका आन्दोलनपछिका नेताले सिर्जना गरेका छन्– संसारलाई फेर्छु भन्थ्यो

आफैं फेरिएछ…।
नागरिक, आइतबार, ०९ माघ २०७३



© grluitel.com || Site by: Turup Sangroula