कदीसँग बिजुली बात

अाेबिच्युरी
Kamal maniएकाबिहानै नेपाली साहित्यका दीर्घसेवी कमलमणि दीक्षितको निधनको खबर सुन्नासाथ धेरै अवसरमा उनीसँगका सम्झना तँछाडमछाड गर्न थाले । उनीसँग मैले टेलिफोनभन्दा बढ्ता बिजुली पत्रमार्फत् धेरैपटक वार्तालाप गरेको थिएँ ।

टेलिफोनमा कुरा गर्न खोज्दा बोल्ने मौका नहोला भनेर यसो गरिएको होइन । उनको प्रविधिप्रतिको लगावलाई ध्यानमा राखेर बिजुलीपत्र अर्थात् इमेल गर्नु उचित ठानेको थिएँ । त्यतिमात्र होइन इमेल गर्दा उनले सुविधाअनुसार काम गर्न पाउन् भन्ने उद्देश्य पनि रहन्थ्यो ।

धेरैका आदरणीय दादाजी कदीलाई मैले पनि इमेलमा ‘आदरणीय कमलमणि दीक्षितज्यू’को सम्बोधनसहित अनुरोध गर्ने गरेको थिएँ । उनीबाट पनि स्नेहपूर्वक ‘प्रिय’ सम्बोधनसहित इमेल प्राप्त हुन्थ्यो । त्यतिमात्र होइन, उनको छोटो इमेलको अन्त्यमा लेखिएको हुन्थ्यो– ‘अरु पछि । स्नेही, कमलमणि ।’

प्रायः पाटनढोकामा उनका छोरा कुन्द र कनक, छोरी रूपा र परिवारका अन्य सदस्यले आयोजना गर्ने कुनै न कुनै कार्यक्रममा उनीसँग अनेकपटक जम्काभेट भएका छन् । भेट भएपछि अत्यन्त उज्यालो अनुहार र उत्साहसाथ कुरा गर्ने उनीसँगका प्रत्येकजसो भेट अविश्वमरणीय रहन्थे ।

त्यसमा पनि मदन र जगदम्बाश्री पुरस्कार वितरण समारोहमा नपुग्दा केही छुटेकै अनुभव हुन्थ्यो । त्यसैले दसैं छेक पारेर आयोजना हुने यो समारोहले चाडबाडले छपक्क छोपिसकेको अनुभूति दिन्थ्यो । अनि त्यो कार्यक्रममा उनको सहभागिता देख्दा एउटा मानिस कतिसम्म उत्साही र सक्रिय हुन सक्छ भन्ने अनुभूति हुन्थ्यो ।

मदन पुरस्कार वितरण समारोहलाई नेपाली ढाँचाकाँचामा ढालिएको हुन्छ । त्यसमा प्रयोग हुने नेपाली शब्दले हामीलाई कायल पार्छ । पुरस्कार प्रापकलाई बेहुला वा बेहुलीको रूपमा ‘ओल्क्याएर’ ल्याउने चलन छ । यो सबैमा उनैको परिपाठले काम गरेको हो । नेपाली भाषाको ‘ओल्क्याउने’ शब्द अंग्रेजीको ‘एस्कर्टिङ’ गर्ने भनेजस्तै हो ।

कुनै महत्वपूर्ण व्यक्तिलाई अघिपछि लागेर मञ्चसम्म बाटो देखाउने प्रक्रिया हो यो । करिब डेढ दशकअघि हामी कान्तिपुरमै काम गरिरहेका बेला अखबारको शैलीपुस्तक तयार पार्ने सिलसिलामा सहकर्मी गोविन्द अघिकारी र मैले उनलाई भेटेका थियौँ । हामीले नेपाली भाषाका धेरै विद्वान्लाई भेट्ने र शैली पुस्तिकालाई अन्तिमरूप दिने सोच बनाउँदै गर्दा उनलाई पनि भेटेका थियौँ ।

अखबारमा कस्तो शैली उचित हुन्छ होला भन्ने हाम्रो जिज्ञासालाई उनले सजिलो पार्दै भनेका थिए– ‘अखबारले शैली आफै बनाउने हो । त्यो शैलीलाई अरूले पछ्याउँछन् ।’
वास्तवमा उनको यो जवाफले हामीलाई निकै सजिलो भएको थियो । वास्तवमा अखबारको भाषाशैली दैनिक प्रयोगका आधारमा परिमार्जन गर्दै जाने हो । अनुपयुक्तजस्ता लाग्ने शब्दलाई अब आइन्दा प्रयोग नगर्ने भन्ने निर्णय पनि आफैँले गर्ने हो ।

नागरिक दैनिक सुरु भएपछि उनीसँग धेरै पटक लेखको विषयमा छलफल भएको थियो । उनी आफूले लेख लेखिसकेपछि इमेलमार्फत् योग्य भए छापिदिन अनुरोध गर्दै पत्र पठाउने गर्थे । उनले लेखेका केही मेल अझै पनि मेरो ‘मेलबक्स’मा सुरक्षित रहेछन् । ती इमेल दोहो¥याएर पढ्दा उनको विनयी व्यवहार फेरि झल्झली भएर आएको छ ।
इमेल लेख्ने बेलामा अंग्रेजीकै सहारा लिनुपथ्र्यो । तर, उनैको सक्रियतामा नेपाली युनिकोड अक्षरको थालनीले इमेल लेखाइसमेत सहज भयो । उनले लेखेकामध्ये २०६७ भदौ ९ को इमेलमा लेखेका रहेछन्– ‘मैले एउटा लेख लेखेको छु फेरि । त्यो पनि राणाकालको इतिहाससँगै जोडिने खालको छ, तर त्यति चाखलाग्दो छैन । ‘नागरिक’को कुनै शनिवासरीय अंकमा हाल्न मिल्छ कि ? भरखरैजस्तो मेरो लेख छापिसकेकाले नागरिकमा ऐले मिल्दैन कि ? भए पनि, एक फेरा इमेल गरेर तपाईं–छेउ पठाइदिऊँ ? हेरेर आफ्नो विचार भन्नुहोला । अनि जे गर्ने गरौँला । हुन्न ?’

अखबारको सम्पादकका रूपमा दैनिक सयौँ इमेल प्राप्त हुन्छन् । दुई पंक्ति इमेल पनि रोचक ढंगले लेख्दा त्यो संग्रहणीय हुन सक्छ । पहिलेका इमेलहरू मेलबक्स भरिँदा मेटे पनि कदीका भने मैले राखेकै रहेछु । उमेर र अनुभवको शिखरमा आइपुगेर आफूले लेखेको लेख पनि धेरै उम्दा नभएको आफैले स्वीकार गरेका छन् । तर, त्यो उनको कुरा हो । खासमा उनले लेखेका सबैजसो सामग्रीमा केही न केही पुरानो प्रसंग, तथ्य र अनुभव जोडिएकै हुन्छ ।
प्रत्येक वर्षजस्तो मदन पुरस्कार वितरण समारोहपछि उनले निकालेका एकभन्दा बढी थान पुस्तकसमेत पाइन्थ्यो । हरेक दिनजस्तो समयमा कार्यालयमा जाने र अध्ययन÷अनुसन्धान गर्ने बानीले उनलाई करिब ७५ वटा पुस्तकको लेखक तथा सम्पादक बनाएको हो । उनकै सम्पादनमा निस्किने ‘नेपाली’ पनि उत्तिकै उम्दा मानिन्छ अध्ययन÷अनुसन्धानमा रूचि राख्नेका निम्ति ।
प्रायः लेखकहरूले अखबारका सम्पादकलाई आफ्नो लेख राम्रो भएको जिकिर गर्छन् । अझ लेख आइसक्न पाएको हुँदैन हेर्नुभयो ? भनेर ताकेता पनि लाउँछन् । कदीले पनि ताकेता लाउँथे, तर इमेलबाटै । संयोगले उनको यो लेख छापिन केही दिन पर्खन परेको थियो । तर, उनले सुन्दर किसिमले त्यसबारे लेखी पठाउने गरेका थिए ।
उनको छोटो इमेल– ‘त्यो लेख त आज पनि आएको रहेनछ ।

नआएकोमा मलाई आपत्ति छैन, बरू त्यो ‘नागरिक’ मा नसुहाउने भए खबर पाऊँ । म अन्तै दिन्छु होला ।’
इमेलबाटै संवाद गर्ने बानी परेको हुँदा मैले उनलाई बेलाबेलामा कुनै न कुनै लेखका निम्ति आग्रह गरी पठाउने गरेको थिएँ । दुई प्रसंग भने निकै रोचक छन्– एउटा आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको दुई सय वर्ष र अर्को वाग्मती अभियन्ता हुतराम वैद्य । यी दुई प्रसंगमा उनलाई पर्याप्त समय नदिई आग्रह गर्दासमेत लेख प्राप्त भयो । तर, उनले अलि समय दिएर लेख्ने ‘आडर’ गर्नुहोला भनी हल्का व्यंग्यसमेत गर्न भ्याएका थिए ।

भानुसँग सम्बन्धित आलेखका क्रममा हाम्रो इमेल संवाद यस्तो हुन गएछ :
यसपटकको भानु जयन्तिमा केन्द्रित भई यहाँले केही लेखिदिन सक्नुहोला कि भन्ने आग्रह गर्दै यो इमेल लेख्दैछु । सामग्री शनिबार छापिनेछ । यही शुक्रबारसम्म यहाँले लेख्न सक्नुभए ज्यादै जाति हुने थियो । बाँकी भेटमा कुरा गर्ने नै छु ।
उनको जवाफ :
धन्यवाद छ । तपाईंले नै भनेपछि क्यै त लेख्नैपर्ने हो । तर, समय सारै छोटो दिनुभयो । भए पनि, भ्याएँ भने शुक्रबार अर्थात् भोलि साँझसम्म इ–मेल गरुँला ।
आफूलाई मन पर्ने र विषय बुझेका लेखक पाउन सजिलो छैन । त्यही भएर फेरि यताबाट जवाफ गयो– मलाई थाहा छ, तपाईंको अथाह ज्ञानबाट एक लोटा निकाल्न गाह्रो छैन । तर, समयमै भन्नुपर्छ भन्नेमा हेक्का पु¥याइनछु । म आशावादी छु, केही अवश्यै प्राप्त हुन्छ भन्नेमा ।
त्यो दुई पंक्तिको इमेलले काम ग¥यो । कदीबाट जवाफ आयो–

तपाईंको ममाथिको विश्वास देखेर नतमस्तक भएँ । म भोलि एउटा छोटोछोटो क्यै अवश्य पठाउनेछु । तर, छोटै भए पनि त्यसमा कुनै नयाँ कुरा होला नै भन्ने लाग्दछ । बरू, म नेपाली युनिकोडमा मात्र लेख्न सक्ने भएकाले त्यही पीडीएफ गराएर पठाउँछु । कृपा गरेर यथोचित गरिदिनुहोला ।

केही घन्टापछि फेरि उनको लेखको अट्याचमेन्टसहित यी पंक्ति खामिएर आए इमेलमा– ‘आज्ञा शिरोपर’ गरेर हतारैमा यौटा लेख तयार पारेर पठाएको छु । तर, ‘हतारको काम लतार’ हुन्छ, तपाईंलाई थाहै छ । त्यसै हुँदा लेख टापटिपेमात्र हुन सक्यो । जेजस्तो छ, हुने भए प्रयोग गर्नुहोला ।

तर, लेख उनले भनेजस्तो टापटिपे थिएन । छोटो, मीठो र भानुमाथि प्रकाश पार्न सक्ने थियो । उनको लेख शनिबारको अंकका निम्ति बेजोड सामग्री बन्न पुग्यो । उनीमाथि आभार व्यक्त गर्दै भोलि शनिबार छापिने उनलाई जनाउ दिएँ ।

छापिएपछि उनको फेरि दुई पंक्तिको छोटो इमेल आयो– ‘आभारी त म भएँ, गुणराजजी, त्यति राम्रोसित, सम्मानसाथ मेरो छोटो लेखलाई प्रकाशित गरिदिएकोमा । धन्यवाद छ ।’
हातैले पत्र लेख्नुपर्ने समय पार गरेर पुरानो पुस्ताका यी लेखकले बिजुलीपत्रलाई माध्यमका रूपमा स्वीकार गर्नु चानचुने विषय होइन । उनले लेखेका यस्ता इमेल धेरैले पाएका होलान् । मलाई भने उनले लेखेका छोटा इमेलले एकसाथ उनको व्यक्तित्व, विनयशीलता र प्रविधिप्रतिको विश्वासलाई प्रकट गरेका थिए ।
प्रातः भ्रमणमै रहेका बेला उनको निधनको खबर सुनेर पशुपति आर्यघाट पुग्दानपुग्दै उनको पार्थिव शरीर पनि बिजुलीगतिमा विद्युतीय शवदाह गृहमा ‘राख’ भइसकेको थियो । तर, उनले स्नेहपूर्वक लेखेका बिजुलीपत्र दोहो¥याएर पढ्दा उनी आफैँ अगाडि उभिएर बोलेजस्तो विद्युतीय अनुभूति भयो ।

नागरिक, शनिबार, २३ पुष २०७३



© grluitel.com || Site by: Turup Sangroula