गणतन्त्रमा राजतन्त्रको सम्झना !

1st january 2017एउटा राजाको निधनपछि अर्काे राजाको घोषणा हुने बेलामा अंग्रेजीमा प्रयोग हुने एउटा वाक्यांश– ‘द किङ इज डेड, लङ लिभ द किङ (महाराजको निधन भयो, महाराज चिरायु रहून्।’

आश्चर्यपूर्ण पंक्ति छ यो। महाराजको निधन र चिरायुको कामना एकै पटक हुन्छ। इतिहासमा महारानी भिक्टोरियाको निधनपछि छोरा एडवार्ड सप्तम राजा हुँदा भने ‘महारानीको निधन भयो, महाराज चिरायु रहून्’ भनिएको थियो। राजा जर्ज छैठौँको निधनपछि एलिजाबेथ महारानी हुने बेलामा यही वाक्यांशलाई दोहोर्‍याइएको थियो– ‘द किङ इज डेड, लङ लिभ द क्विन (महाराजाको निधन भयो, महारानी चिरायु रहून्।’

हाम्रो सन्दर्भमा यस्तो पंक्ति बन्न सक्ने रहेछ– मोनार्की इज डेड, लङ लिभ द रिपब्लिक अर्थात् राजतन्त्र सकियो, गणतन्त्र अमर रहोस्।’

यही हो हाम्रो यथार्थ। तर, प्रत्येक वर्ष पुस–माघ महिनामा हामीलाई राजतन्त्रको गहिरो सम्झना हुन्छ। झल्झली सम्भि्कन्छौँ हाम्रा राजाहरूलाई। राजाहरूलाई मात्र सम्झदैनौँ तिनले हाम्रो प्रजातन्त्रलाई बलात् अपहरण गरेर निरंकुशता लादेको दिनको पनि सम्झना गर्छौं।

अझ पुस २७ गतेको आसपास हाम्रा राष्ट्र निर्माता राजा पृथ्वीनारायण शाहको सम्झना घनीभूत भएर आउँछ। गणतन्त्र अँगालेको मुलुक भए पनि राष्ट्र एकीकरणकर्ता राजाको रूपमा उनको सम्मान गर्नु र योगदानको कदर हुनुपर्छ भन्ने आवाज उठिरहन्छ।

जनआन्दोलन २०६२/६३ पछि अनायासै पुस २७ लाई सार्वजनिक बिदाको सूचीबाट हटाउने काम भयो। त्यसयता निरन्तर त्यसका लागि माग हुँदै आएको छ, तर कुनै पनि सरकारले निर्णय गरेका छैनन्। तर, त्यो दिन सार्वजनिक बिदा दिनुपर्ने र राष्ट्रनिर्माताप्रति सच्चा श्रद्धाञ्जली हुनुपर्ने आवाज बहालवाला मन्त्रीले समेत राख्दै आएका छन्। त्यो शृंखलामा पछिल्लो पटक सहरी विकास मन्त्री अर्जुननर्सिंह केसी जोडिएका छन्।

राष्ट्र निर्माता पृथ्वीको सम्झनामा हुनु स्वाभाविक हो। उनीप्रति नतमस्तक हुने नागरिक धेरै छन्। भलै राष्ट्र एकीकरणलाई लाञ्छित गरेर बोल्ने र लेख्नेहरू पनि नभएका होइनन्। तिनले अभिव्यक्ति स्वतन्त्रताको उपयोग गरेका हुन्। पृथ्वीनारायणले नेपाल एकीकरण गरेको यथार्थलाई कसैले मेट्न सक्दैन– भुल्न सक्दैन।

संयोगले यही महिना दरबार हत्याकाण्डमा परी सपरिवार जीवन गुमाएका राजा वीरेन्द्रको जन्मजयन्तीसमेत पर्छ। पुस १४ गते अनुयायीहरूले उनलाई सम्भि्कए। उनको निधन हुँदा भावुक हुने जनसमुदायसमेत फेरि उनको जन्मजयन्ती मनाउन सालिकतिर धाउने गरेका छैनन्। बरु उनको अप्रजातान्त्रिक छवि विस्तारै चर्चाको विषय बन्न थालेको छ।

राजधानीको मुटु दरबारमार्गमा स्वर्गवासी राजा महेन्द्रको शालिक छ। प्रत्येक वर्ष पुस १ गते उनलाई सम्भि्कन जान्छन् उनका अनुयायीहरू पनि। यो वर्षको पुस १ मा पनि एउटा सानो समूह त्यहाँ माल्यार्पण गर्न पुगेको थियो। त्यसले गर्दा ट्राफिक केही समय अवरोध भइरहे पनि बाटो नै बन्द गर्नुपर्ने तहको भीड थिएन।

पञ्चायतको उत्कर्षका बेला विद्यार्थी जीवन भोगेका हाम्रा निम्ति राजतन्त्र एउटा ‘नोस्टाल्जिया’ जस्तो हुन जान्छ। स्कुले विद्यार्थी हुँदैदेखि ‘श्री ५ वीरेन्द्र : चिरायु रहून्,’ ‘श्री ५ ऐश्वर्य : चिरायु रहून्’ भन्दै प्रभातफेरीमा हिँडेका दिनको सम्झना हुन्छ। अझ चिरायु भन्न पनि नजानेर ‘चिलाइरहून्’को बाल अभिव्यक्ति सम्भि्कँदा अहिले पनि हाँसो उठ्छ।

पृथ्वीले एक्लै राष्ट्र एकीकरण गरेका होइनन् साथमा थिए साथ दिने गोर्खा राज्यका जनता। तर, त्यो महान् अभियानको नेतृत्व उनले गरेका कारण यो राष्ट्र बनेकोमा साधुवाद नभनी रहन सकिँदैन। उनले गरेको योगदानमा त्यसपछिका राजाहरूबाट उल्लेख्य सहयोग हुन सकेन।

त्यसै अढाइ सय वर्षको लामो इतिहास सकिएको होइन। संसारभर अहिले पनि राजाहरू छन्। अस्ति भर्खरै थाइल्यान्डका राजाको निधन भएपछि फेरि नयाँ राजा आए। जापानमा युद्धपछि राजतन्त्रको अन्त्य गर्ने बेला त्यहाँका नागरिक राजप्रासाद बाहिर बसेर रोएको देखेपछि त्यसलाई निरन्तरता दिएको इतिहास पनि हामीले बिर्सेका छैनौँ।

वास्तवमा राजाहरूसँग हाम्रो अभिशप्त इतिहास जोडिएको छ। २०१७ सालको पुस १ मा जननिर्वाचित सरकारलाई तत्कालीन राजा महेन्द्रले नहटाएका भए यो मुलुक अहिलेकै पछौटे अवस्थामा रहने थिएन। त्यसपछि पटक–पटक प्रत्येक १० वर्षमा आन्दोलन गर्नुपर्ने थिएन। उनले खोसेको प्रजातन्त्र फिर्ता गर्न यो मुलुकका नागरिकले गरेको अविराम संघर्ष साक्षी छ। फेरि त्यही प्रकृतिको सैनिक ‘कू’ गरे तत्कालीन राजा ज्ञानेन्द्रले २०६१ माघ १९ मा।

जनआन्दोलन २०६२/६३ ले राजतन्त्र हटाइसकेको पनि १० वर्ष हुन लागिसकेको छ। यतिका पछि आएर पूर्व राजा ज्ञानेन्द्र वक्तव्यबाजी गर्दैछन्– ‘अझै पनि जनताका आस्थाहरू ढलेका छैनन्।’ अहिलेका दलका नेताहरूले काममा ढंग पुर्‍याएनन् भन्दैमा तिनले फेरि विकल्पमा राजा खोजेका छैनन्। यही मुलुक हो जहाँ सिंगै परिवार राजदरबारभित्रको आन्तरिक भोजमा गोली हानेर सकियो। वास्तवमा दरबार हत्याकाण्ड हुनुअघिसम्म एउटा नेपालीलाई समेत थाहा थिएन राजदरबारमा हरेक महिनाको अन्तिम शुक्रबार भोज हुने गरेको थियो।

त्यो यथार्थमा एउटा टापुजस्तो संस्था थियो। राजदरबारमा गोली चलेको रात म समाचार कक्षमै थिएँ। हामी त्यो सूचनाको पुष्ट्याइँका लागि प्रयास गर्दासमेत सफल भएनौँ। कारण त्यो बेलासम्म पनि हामीलाई दरबारको समाचार पाउन कहाँ सम्पर्क गर्नुपर्छ भन्ने थाहा थिएन।

राजनीतिशास्त्री हरि शर्मा भन्ने गर्छन्– नेपाली समाजमा २००७ सालपछि भागेर गएका राजालाई दिल्लीबाट ल्याएर स्थापित गरेको भन्ने भनाइ चल्तीमा थियो। यसले राजाहरू कमजोर छन् र तिनलाई यहीँ स्थापित गरिएको हो भन्ने सन्देश समाजमा दिइरहेको थियो।

वास्तवमा पञ्चायतका उत्कर्षका दिनमा समेत ‘भागेर गएका’ राजालाई फिर्ता ल्याइएको चर्चा हुने गर्थ्यो। त्यो बेला क्रान्तिका लागि त्यो कदम उठाएको रूपमा अभिव्यक्त गरे पनि यथार्थ समाजबाट लुकेको थिएन। राजालाई टीका लगाइदिने भनेर दसैँका बेला मूलढोकामाथि टीका लगाउनेबाहेक नेपाली समाजमा गहिरो सम्बन्ध थिएन।

त्यसै कारण राजतन्त्र सकिँदा पनि खासै ठूलो प्रतिक्रिया देखिएन। राजदरबारबाट निस्केर जाँदा तत्कालीन राजा ज्ञानेन्द्र एक्लै थिए। कहिलेकाहीँ पूर्व राजपरिवार सदस्य जाँदा सामान्य भीड लाग्नु भनेको सर्वसाधारणले ‘सेलिब्रिटी’को मान्यता मात्र दिएका हुन्। त्यस्ता भीड भारतबाट आउने सामान्य साधुका निम्ति पनि लाग्ने गर्छ।

हामी अलि अलमलिएका छौँ। यसको अर्थ यो होइन, नेपाल राष्ट्रको एकताको सूत्र राजामात्र हुन्छन्। अहिले सामान्य नागरिकले समेत सामाजिक सञ्जालमा राष्ट्रिय एकता र समृद्धिका लागि दिएका अभिव्यक्तिमा जिम्मेवारीबोध देखिन्छ। कोही माइबाप आइदेला र समस्या समाधान होला भन्ने कसैले सोचेको छैन।

नेपाल राष्ट्र एकीकरणकर्ता राजा पृथ्वीनारायण शाहका योगदानलाई राष्ट्रले महसुस गर्नुपर्छ। त्यो दिन राष्ट्रिय बिदा मनाएरै नेपाल राष्ट्रको अभ्युदयको महोत्सव मनाउँदा हामी प्रतिगमनको पक्षधर हुँदैनौँ। तर, उनको पंक्तिमा राखेर अन्य कुनै राजा–महाराजालाई पुजिरहनु पर्दैन। कसैलाई अन्य पूर्व राजाहरूको पूजाको रहर भए पुजे हुन्छ। लोकतन्त्रले त्यो स्वतन्त्रता दिन्छ। तिनको ‘उत्कृष्ट’ शासनकालमा नागरिकको अवस्था के थियो? हामी सबैलाई थाहै छ।

तर, हामी पूर्व राजा ज्ञानेन्द्र, उनका दाजु वीरेन्द्र र तिनका बाबु महेन्द्रको निरंकुशताको स्वाद चाखिसकेका नागरिकले तिनको महिमामण्डन गर्न सक्दैनौं। अहिलेभन्दा पोहोर कम जाडो लागेको मात्र हो। तर, त्यो जाडो अहिलेभन्दा दुष्कर थियो।

गणतन्त्र हाम्रो यथार्थ हो। द मोनार्की इज डेड, लङ लिभ द रिपब्लिक।

नागरिक, आइतबार, १७ पुष २०७३



© grluitel.com || Site by: Turup Sangroula