मतदाताको मन

22 may 2017स्थानीय तह निर्वाचन सम्पन्न भएको एक साता बितिसके पनि अझै मत परिणामको प्रतीक्षा सकिएको छैन। बरु राजधानी खाल्डोभित्रैको भक्तपुर नगरपालिकाका प्रमुखले आइतबार पद बहाली गरिसकेका छन्। एकातिर मत परिणाम प्राप्त भइरहेको छ अर्कोतिर जनप्रतिनिधिले काम पनि थालिसकेका छन्।

पहिलो चरणको निर्वाचनले प्रदेश ३,४ र ६ का सर्वसाधारणलाई पूरै ब्यस्त तुल्याएको छ। निर्वाचनसम्बन्धी आकलन गर्न, भोलिको स्थानीय तहको गतिविधिको कल्पना र दलहरूको उपलब्धि चर्चाले सबैलाई छपक्कै छोपेको छ। बाँकी प्रदेश १, २, ५ र ७ मा निर्वाचनको चटारो सुरु भइसकेको छ। पहिलो चरणको निर्वाचनले यी क्षेत्रका मतदातादेखि सम्भावित उम्मेदवारसमेतलाई रोमाञ्चित तुल्याएको छ।

निर्वाचनमा मधेसकेन्द्रित दलको सहभागिता हुन लागेको सुखद समाचारले पनि धेरैलाई उत्साहित तुल्याएको छ। संविधानसभाद्वारा जारी संविधान कार्यान्वयनको महान् मार्गमा मुलुक प्रवेश गरिसकेको देखिएको छ। संविधान जारी गर्दाका जे/जस्ता असन्तुष्टि छन्, तिनलाई सम्बोधन गर्दै जाने अवस्थामा मधेसका दलसमेत पुग्नु आफैंमा सन्तोषलाग्दो विषय हो। दलहरूले आफ्ना मुद्दालाई जीवन्त तुल्याउँदै निर्वाचनमा जानु नै अहिलेको अवस्थाको बुद्धिमत्तापूर्ण कदम पनि हो।

पहिलो चरणको निर्वाचनको सम्पूर्ण परिणाम नआए पनि केही महत्वपूर्ण संकेत यसले गरेको छ। काठमाडौं उपत्यकाका दुई महानगरपालिका काठमाडौं र ललितपुरमा विवेकशील नेपाली दल र साझा पार्टीका उम्मेदवारले ल्याएको मत परिणामले प्रमुख दललाई केही पाठ पढाएको महसुस हुँदैछ। कांग्रेस, एमाले र माओवादी केन्द्रजस्ता तुलनात्मकरूपमा पुराना, लामो इतिहास र जनस्तरमा भिजेको छविविपरीत नयाँ दलहरूलाई सर्वसाधारणले पत्याएर जुन स्तरमा मत दिएका छन्, त्यसले यहाँका मतदाताको मानसिकतामा आएको परिवर्तन पनि महसुस गर्नुपर्ने अवस्था आएको छ।

साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले निर्वाचनअघि रेस्टुरामा गएर मेनु हेरिसकेपछि अन्तिममा मःमः अर्डर गर्ने नेपाली बानी सांकेतिकरूपमा उल्लेख गरेका थिए। अर्थात् धेरै दलको उपस्थिति भए पनि अन्तिममा कांग्रेस, एमाले र माओवादीलाई नै मतदान गर्ने प्रवृत्तितर्फ उनको संकेत थियो। तर मतदाताले मेनु हेरेर मःमः भन्दा अन्य परिकार पनि अर्डर गर्न खोजेको भने प्रस्ट देखिएको छ।

यसपटकको स्पष्ट संकेत के पनि हो भने राम्रो विकल्प पाउने हो भने मतदाताको मत अन्यत्र पनि जान सक्ने रहेछ। कुनै पनि दलविशेषले मतदातालाई आफ्नो ‘विर्ता’ सम्झने दिन गएछन्। तर एउटा निश्चित प्रवृत्ति के हो भने केन्द्रीय होस् वा स्थानीय सरकार, त्यसलाई चलाउन सक्ने विकल्पसहित भने दलहरू आउनैपर्ने हुन्छ।

अहिलेका ठूला भनिएका दलहरू पनि एक दिनमा बनेका होइनन्। ती निर्माणताका केही व्यक्ति मिलेरमात्र बनेका हुन्। कांग्रेस र एमालेको इतिहास त्यही हो। माओवादी केन्द्रको हकमा पनि यही नियम लागु हुन्छ। कुनै बेला बागबजारको भित्तामा लेख्न संघर्षरत माओवादीको खुला मोर्चा संयुक्त जनमोर्चाले लखेटिनुपरेको अवस्था पनि थियो। ‘दीर्घकालीन जनयुद्ध’ सुरु हुँदा केही थान बन्दूक र व्यक्तिका भरमा त्यो सुरु भएको थियो। तर कालान्तरमा त्यसको विस्तार हुँदै गएको हो।

प्रमुख दलहरूबारे अहिले धेरै असन्तुष्टि सुनिन्छ। तैपनि निर्वाचनमा तिनैलाई मतदान गरेका छन्। यो अवस्थाबाट लाग्न सक्छ, जनता सधैँ हाम्रै पकेटमा छन्। स्थिति त्यो होइन। जेलनेल र विगतको दुःखकष्टका आधारमा जनताले मत दिने, सत्तामा पुर्‍याउने चरणबाट मुलुक अघि बढिसकेको छ। अहिले काम गर्न सक्ने जुनसुकै दलमा रहेका व्यक्तिलाई मत दिनुपर्छ भन्ने भावना स्थानीय तहमा देखिएको छ।

कांग्रेस, एमाले र माओवादीको इतिहास र दुःखबाट सिकेर नयाँ दलले काम गर्न थाले भने आगामी निर्वाचनमा तिनीहरूले विस्तारै आफूलाई उपस्थित गराउँदै जान सक्ने अवस्था देखिएको छ। राजधानीस्थित काठमाडौं महानगरपालिकामा भर्खर २१ वर्ष उमेरकी विवेकशील दलकी रञ्जु दर्शनालाई मतदाताले दिएको विश्वास हेर्दा आफैँमा आश्चर्यलाग्दो छ।

त्यति मात्र होइन राजनीतिलाई ‘फोहरी खेल’का रुपमा लिँदै विमुख रहेको युवा शक्ति यसपटकको निर्वाचनबाट आकर्षित भएको छ। योग्य युवाले राजनीति मार्फत् मुलुकमा सम्वृद्धिका लागि काम गर्ने बेला आएको प्रष्ट संकेत यसले गरेको छ।

परिवर्तनका पदचाप सुनिन थालेका छन्। निश्चय नै प्रमुख दलहरूले अहिले निर्वाचन जितिरहेका छन्। तिनीहरूलाई हामी नै जनताबाट रुचाइएका हौं भन्ने अवश्यै लागेको छ। तर आफूलाई समयानुकूल परिवर्तन गर्दै नजाने र आमजनताका मनमा गढेर रहेको वितृष्णा मेटाउने प्रयास नगर्ने हो भने आगामी दिन सहज हुने छैनन्।

नयाँ नयाँ दलहरूले अन्तर्राष्ट्रिय जगतमा समेत उल्लेख्य उपस्थिति देखाउन थालेका आधारमा पनि यसो भन्न सकिन्छ। फ्रान्सको अहिलेको निर्वाचनमा राष्ट्रपति बन्न सफल इमान्युअल म्याक्रोंले एक वर्षअघि मात्रै दल खोलेका थिए। मतदाताले सधैँ ‘मेरा बाजेले घिउ खाएका थिए अहिले हात सुँघ्’ भन्ने अवस्थालाई विश्वास गरिहाल्दैनन्।

यसपटक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निम्ति पनि निर्वाचन सुखद हुन सकेन। संविधानसभा निर्वाचनका बेला ‘एक भोट दाइलाई एक भोट गाईलाई’ भन्ने मतदाता यसपटक कता गए? मतदाताले निर्वाचित भएर जाने दलले सत्ता, संसद् र सार्वजनिक स्थानमा देखाउने व्यवहारलाई विशेष महत्वका साथ हेरेका हुन्छन्। राप्रपालाई मतदाताले यसपटक नरुचाउनुको कारण पक्कै पनि त्यो दलका सञ्चालकहरूले महसुस गरेको हुनुपर्छ।

निर्वाचनमा एमालेले जसरी बढारेर लैजाने अपेक्षा गरेको थियो, त्यो पनि देखिएन। कांग्रेस पनि जसरी खत्तमै हुन्छ भन्ने थियो, त्यो पनि भएन। माओवादी केन्द्रको त पत्तासाफै हुन्छ भन्ने थियो, त्यो पनि भएन। यी तीन दल अहिले सबैभन्दा अगाडि देखिएका छन्। तर यी तीन दलले पाएको मतका आधारमा पनि आममतदाताको मानसिकता भने उदार लोकतान्त्रिक शासन व्यवस्थाप्रति विश्वास गर्छन् भन्ने हो।

कांग्रेसले धेरै मेहनत पनि गर्नुपर्दैन, वर्षैभरि यसलाई मानिसले गाली पनि गरिरहेका हुन्छन् तर मत भने उसैलाई दिन्छन्। यो प्रवृत्तिबाट साम्यवादी सिद्धान्तमा विश्वास गर्ने दलहरूले ध्यान पुर्‍याउनु आवश्यक छ। मुलुकमा नागरिकले कांग्रेसको विकल्पमा उदार लोकतान्त्रिक शासन व्यवस्था मन पराउने राजनीतिक शक्ति खोजी गरिरहेका छन्।

एमाले र माओवादीले अहिले पनि त्यसको विकल्प दिन सकेका छैनन्। एमालेलाई माओवादीभन्दा तुलनात्मकरूपमा उदार माने पनि यसपटक उसले कांग्रेससँग गरेको तालमेलबाट ठूलो लाभ लिएको छ। कांग्रेससँग तालमेल गर्ने र रुखमा मत दिने पुष्पकमल दाहालको व्यक्तित्व कांग्रेसलाई मतदान गर्ने मतदाताका निम्ति निश्चय पनि ‘जनयुद्ध’ गर्ने प्रचण्डभन्दा भिन्न महसुस भएको हुनुपर्छ।

त्यतिमात्र होइन, दाहालले निर्वाचनमा कांग्रेस जिते पनि, एमाले जिते पनि आफैँले जितेजस्तो लाग्छ भनेर एउटा उदात्त प्रजातन्त्रवादीले दिन सक्ने अभिव्यक्ति दिएका छन्। यो उनको कति ‘कलापूर्ण’ अभिव्यक्ति हो, समयले नै पुष्टि गर्दै लैजाला। तर, तथष्ट र उदारवादमा विश्वास गर्ने मतदातालाई भने यस्ता अभिव्यक्तिले निश्चय पनि आकर्षित गर्छ।

नयाँ दलहरूलाई यहीँनेर अवसर छ। विवेकशील, साझा वा यस्तै अन्य कुनै नाममा भविष्यमा आउने दलहरूले आफूलाई उदार लोकतान्त्रिक दलका रूपमा अघि बढाए भने तिनले सबैजसो दलको विकल्पका रूपमा आफूलाई अघि बढाउन सक्नेछन्। अहिले पनि कांग्रेस, एमाले वा माओवादीका विकल्पमा मत दिन चाहनेका निम्ति उपयुक्त दल छैन।

निर्वाचन परिणामले दलहरूको संख्या साघुरो पार्दै आएको छ। तर अहिले भएका यी तीन प्रमुख दलमात्र होइन, राप्रपालाई समेत मत दिने मतदाताले नयाँ दललाई विश्वास गर्नेछन्। राप्रपालाई अलि विश्वास गर्नेहरू पनि अहिले अन्यत्र लागेको देखिएकै छ। अहिले नयाँ दलले कांग्रेस, एमाले र माओवादीकै मत काटेको पनि देखिएको छ।

अतः यो निर्वाचनलाई सबैजसो दलले आफ्नाबारेमा सर्वसाधारणले कस्तो अवधारणा राख्छन् भन्ने सर्वेक्षणका रूपमा लिनुपर्छ। काठमाडौं र ललितपुरका महानगरपालिकामा अभिव्यक्त मत भविष्यमा नयाँ दलले जति धेरै उम्मेदवार दिन्छन् र आफूलाई विस्तार गर्छन् त्यति नै अन्यत्र पनि देख्न पाइनेछ। आफूलाई आमजनताको अपेक्षाअनुसार परिवर्तन गर्ने अवसर अहिले सबैजसो दललाई आएको छ।

नागरिक, सोमबार, ०८ जेठ २०७४



© grluitel.com || Site by: Turup Sangroula