विकृतिको विरासत

Gunda Naikeको बेढी खतरनाक ? गुन्डा नाइके कि गुन्डाका नाइके ?
हाम्रो समाजमा को बढी खतरनाक देखिन्छन्– गुन्डा नाइके कि गुन्डाका नाइके ? गुन्डा नाइकेले केही करोड रुपियाँका निम्ति हत्यासमेत गरी समाजमा आतंक मच्चाउँछन् । गुण्डाका नाइकेले रक्तहीन लुटमार्फत् मुलुकलाई अधोगतिमा पुर्‍याउँछन्।

संयोगले योबेला गुन्डा नाइके र गुन्डाका नाइके दुवैबारे मुलुकमा चर्चा चुलिएको छ । निर्माण व्यवसायी महासंघ अध्यक्ष शरदकुमार गौचनको गत सोमबार हत्या भएपछि गुन्डा नाइकेहरू एकाएक चर्चामा छन् । कुन गुन्डालाई कसको संरक्षण छ भन्ने विवरण त्यसयता सार्वजनिक पनि भइरहेका छन्।

यहाँ उल्लेख गरिएका व्यक्तिहरूको भूमिका हेरेर आफैँ आकलन गर्न सकिनेछ आखिर मुलुकका निम्ति सबैभन्दा खतरनाक को हो ? यसअघिको एउटा लेखमा घटना उल्लेख भइसकेको छ– एकजना नवनियुक्त मन्त्रीले कुनै एउटा सार्वजनिक संस्थानका महानिर्देशकलाई बोलाएर पाँच करोड रुपियाँ माग गर्छन् । तिनले दिन तयार नभएपछि हटाउन सम्पूर्ण शक्ति लगाएको पनि देखिएको छ।

जनआन्दोलन २०६२/०६३ यता गुन्डा नाइके भन्दा गुन्डाका नाइके बढ्ता खतरनाक देखिएका छन् । तिनले मुलुकका प्रमुख पद बिक्रीलाई आफ्नो व्यवसाय बनाएका छन् । सांसदजस्तो गरिमामय पदसमेत किनेर एकथरीले नीतिगत भ्रष्टाचारलाई बढावा दिँदा यसको अवमूल्यन हुन पुगेको छ । संसद्ले आफ्नो कार्यकाल पूरा गरिसकेको छ । तर, यसका विकृति कालान्तरसम्म देखिनेछन्।

शिक्षा र स्वास्थ्य क्षेत्रको व्यापारीकरणका लागि व्यावसायिक स्वार्थ गाँसिएका सांसदहरूको भूमिका यसबीच सार्वजनिक भइसकेको छ । संसद्ले पारित गरिसकेको शिक्षा विधेयकले विद्यार्थीलाई योग्य शिक्षकबाट पढ्ने अवसर गुमाएको छ । राजनीतिक प्रभाव प्रयोग गरी स्कुल पुगेका अयोग्य शिक्षकलाई स्वतः स्थायी गर्ने गरी बनाइएको ऐनले वर्षौंसम्म नेपालको शिक्षालाई नकारात्मक प्रभाव पारिरहनेछ।

त्यो विधेयकका कारण शिक्षाको गुणस्तर खस्किन्छ भन्ने आवाज उठे पनि शिक्षा मन्त्रालयको नेतृत्वले त्यसलाई सच्याउनु आवश्यक ठानेन । अन्ततः त्यो विधेयक पारित भइसकेपछि सर्वत्र विरोध भए पनि त्यो विरोधमै सीमित भएको छ । राष्ट्रपतिबाट त्यसलाई पुनर्विचारको लागि पठाउन सके पनि केही हदसम्म गल्ती सच्याउन सरकारलाई प्रेरणा मिल्न सक्थ्यो । तर, त्यसलाई लामो समयसम्म अड्काएर राख्न सक्ने अवस्था राष्ट्रपतिको पनि छैन।

गुन्डा नाइकेले गोली चलाएर दश–बीस करोड रुपियाँ कमाउनुभन्दा पनि खतरनाक काम राज्यको नेतृत्व गर्नेहरूले गलत नीति बनाउनेबाट हुन्छ । पछिल्ला वर्षमा राम्रो काम गर्नेले डराउनुपर्ने अवस्था सिर्जना भएको छ । गलत काम गर्नेले चारैतिरबाट सहयोग पाउने अवस्था मुलुकमा देखिएको छ।

चिकित्सा शिक्षा र सेवाको क्षेत्रमा राम्रो काम गराउनका निम्ति डा. गोविन्द केसीले १४ औँ पटक अनशन गर्नुपरेको छ । आफ्नो जीवन संकटमा पारेर उनले संघर्ष गरे पनि प्राप्त उपलब्धिलाई जहिल्यै शून्यमा झार्ने प्रयास यहाँको राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र र माफिया समूहबाट भएको छ । सर्वसाधारणको स्वास्थ्य र तिनले पाउने सेवालाई बिगार्ने गरी कसैले योजना ल्यायो भने त्यो स्वतः पारित भई अघि बढ्न सक्छ।

लोकतान्त्रिक शासन व्यवस्था भनेको गुणवत्तामा आधारित हुन्छ । त्यहाँ गुणका आधारमा निर्णय हुन्छ । हामीकहाँ भने यसको ठीक विपरीत अवस्था देखिएको छ । कुनै सरकारी कर्मचारीले अनियमितता नगरी काम गर्छु भन्यो भने उसले सुख पाउँदैन । उसलाई त्यहाँबाट सरुवा गरिन्छ वा अनेकन दुःख दिइन्छ । तर, आफूले कमाइ गर्ने र माथिल्ला तहमा बुझाउने हो भने उसका लागि यस्ता ठाउँ रोजीरोजी प्राप्त हुन्छ।

यतिबेला आएर सम्झँदा पनि आश्चर्य लाग्छ– कस्ता मानिसका निम्ति हामीले लोकतन्त्र ल्याउनुपर्छ भनेर लडेका रहेछौँ । प्रत्येक पटक हामी शासन व्यवस्था परिवर्तन भएपछि परिस्थिति सुध्रिएला भनेर दौडिरहेका रहेछौँ । शासन बदलिए तर शासक बदलिएनन् । त्यसैकारण कहिल्यै पनि अपेक्षित परिणाम पनि पाउन सकिएन।

वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले केही वर्षअघि प्रज्ञा भवनको प्रेक्षालयमा उभिएर भगवानसँग पुकारा गर्दै गाएको गीतसँगै समवेत स्वरमा हामीले पनि गाउनुपर्ने भएको छ– ‘एउटा राम्रो नेता दिन किन तिमीले टाउको कन्यायौ ?’ प्राकृतिक सौन्दर्यले हराभरा नेपालले असल नेता नपाउनुको दुःख तिनले हाँस्यव्यंग्यात्मक शैलीमा गाएका भए पनि यथार्थ त्यही हो।

हामीकहाँ धेरै जनता असल र थोरै नेता कमसल छन् । ती थोरैलाई चिन्न नसक्दा मुलुकको अधोगति भएको हो । एउटा प्रधानमन्त्री हुने व्यक्तिमात्र असल पाउने हो भने पनि मुलुक अघि बढ्न गाह्रो छैन । प्रधानमन्त्रीले गुणका आधारमा मात्र निर्णय गर्ने हो भने त्यसको प्रभाव तलसम्म पर्न थाल्छ । त्यसमा पनि हामीकहाँ असल कामका लागि स्वाबासी दिने जनता छन् ।
यदाकदा हामी कुनै जिल्लाका प्रहरी, प्रशासन वा शिक्षाका प्रमुख हाकिमको कामले राम्रो प्रभाव पारेपछि तिनलाई सरुवा हुँदा फूलमाला पहि¥याएर पठाएको देखिन्छ । तर, त्यसरी फूलमाला पहिर्‍याउन पाउने यस्ता राष्ट्रसेवक भने धेरै कममात्र झुल्कन्छन् । अधिकांशको ध्यान कसरी आफू बन्ने भन्नेमात्र हुन्छ।

हामीकहाँ सबैभन्दा ठूलो समस्या आफ्नो कामभन्दा बढ्ता अरुको काम जान्नु हो । शिक्षकलाई पढाउनभन्दा बढी राजनीतिमा रुचि छ । राजनीति गर्नेलाई व्यापारमा रुचि छ । व्यापार गर्नेलाई राजनीतिबाट नीति परिवर्तन गर्न सकिन्छ भन्ने जानकारी छ । त्यही भएर अहिले धेरैजसो दलमा व्यापार व्यवसायदेखि दलाली गर्नेहरूसम्म संसद्मा पुग्न आतुर छन्।

प्रदेश र संसद्को निर्वाचनका निम्ति सिफारिस भएका नाम देख्दा भविष्यको विधायकको काममा कति विकृति देखिएला भन्ने अनुमान अहिल्यै गर्न सकिन्छ । भ्रष्टाचारको आरोपमा जेल गइसकेका व्यक्तिले टिकट बाँड्ने जिम्मेवारी पाउनु एउटा गुन्डा नाइकेलाई निर्वाचनको उम्मेदवार बनाउनुभन्दा बढ्ता घातक हुन्छ । देशैभरिबाट गुन्डा नाइकेका साथै विभिन्न आरोपमा सजाय पाएका वा कारबाहीबाट उम्किएका व्यक्तिहरूले उम्मेदवार बन्ने मौका पाउनु आफैँमा लोकतन्त्रको उपहास हो ।

कुनैबेला हामी नेताहरूलाई त्यागका प्रतिमूर्तिजस्तो देख्थ्यौं । अहिले पुराना र त्यागीको ठाउँ गुन्डा, दलाल र समाजका विषाक्त तत्वले लिएका छन् । प्रजातन्त्रमा जस्ता कर्तालाई छानेर पठाइन्छ त्यो पनि त्यस्तै हुन्छ । गुन्डा नाइके र गुन्डाका नाइके दुवैथरीलाई त्यसमा पठाएपछि प्रजातन्त्र पनि गुण्डा नै बन्छ । त्यसले सर्वसाधारणका लागि सुखद् अवसर सिर्जना गर्न सक्दैन ।

संविधानले समाजवाद उन्मुख राज्यव्यवस्थाको परिकल्पना गरेको छ । यस्ता कर्तालाई छानेर पठाएपछि हाम्रो व्यवस्था कति समाजवादी हुने हो ? निर्वाचनको मुखमा भइरहेका वामपन्थी र प्रजातन्त्रवादी गठबन्धनले पनि अहिले धेरै आशावादी बनाउन नसक्नुको कारण यही हो ।

अहिलेसम्मका विकृतिलाई यथावत् राखेर हुने गठबन्धन लोकतान्त्रिक शासन व्यवस्थाका निम्ति झनै चुनौतीपूर्ण हुन्छन् । अहिलेसम्मका विकृतिबाट सच्चिने गरी कुनै पनि गठबन्धनले सार्वजनिक प्रतिज्ञा गरेको पनि सुनिएको छैन । बरु तिनले सिफारिस गरेका मानिसका अनुहार देखेर झनै डर मान्नुपर्ने अवस्था आएको छ ।

लोकतान्त्रिक व्यवस्थाभित्र अहिले देखिएका गुन्डा नाइकेभन्दा गुन्डाका नाइकेबाट बढी घात हुन सक्ने देखिएको छ । गुन्डालाई एउटा बलियो प्रहरीले ठीक पार्न सक्छ । तर गुन्डाका नाइकेका हातमा शासन सत्ता पुग्यो भने त्यसले मुलुकमा वितण्डामात्र मच्चाउन सक्छ । यो खतरनाक प्रवृत्तिमाथि अहिल्यैदेखि ध्यान दिनु आवश्यक छ ।

विकृतिको विरासतले मुलुकलाई लक्ष्यमा पु¥याउन सक्दैन । अबको एक दशकमा नेपाल र नेपालीलाई सुरक्षित र सुसंस्कृत लोकतान्त्रिक शासन व्यवस्थामा पु¥याउने हो भने विकृतिको अन्त्य आवश्यक छ । त्यसका लागि सत्पात्रका हातमा प्रदेश र केन्द्रको शासन जानुपर्छ । त्यति गर्न सकिएन भने हामी नेपालीले कुकुरले नपाएका दुःख पाउनेछौँ ।

नागरिक, सोमबार, ३० असोज २०७४



© grluitel.com || Site by: Turup Sangroula