हामीले आफूलाई पर्यटक प्रेमी देशकारूपमा उभ्याए पनि ससाना कुराले उनीहरूलाई पिरोल्छ भन्नेमा ध्यान पुर्याउन सकेका छैनौं। राजधानीमै सार्वजनिक शौचालय, यातायातको दुर्गति वयान गरी साध्य छैन।
सिंगापुरका सडक वा कुनै कार्यक्रममा नेपाली भेट्नासाथ यहाँका बासिन्दाको पहिलो प्रतिक्रिया हुन्छ – ‘साह्रै सुन्दर देश।’ महिनौंसम्म फोहोर नउठ्दा, धुलाम्य र गाडीको धुवाँमा हिड्नु पर्दा हामीलाई नेपालको सौन्दर्य कतै हराएजस्तो लाग्छ। तर, सामान्य सिंगापुरवासीका लागि नेपाल सौन्दर्यको खानी हो। देशको सौन्दर्य त्यहाँका बासिन्दाका मिलनसार र फरासिलो व्यवहारले अझ बढाउँछ। यहाँ फेलापरेका धेरैजसोको भन्छन् – ‘नेपाली साह्रै मिलनसार।’
यो औपचारिकता पूरा गर्न भनिएको होइन। गत मंगलबार यहाँको सबैभन्दा ठूलो अखबार दी स्ट्रेट्स टाइम्सले नेपाल यात्रासम्बन्धी विशेष सामग्री ‘पिक्स अफ पर्फेक्सन’ (सम्पूर्णताका चुचुरा) प्रकाशित गर्यो। मुखपृष्ठमै तस्विरसहित यसले ‘लाइफ’ पृष्ठ पढ्न पाठकलाई आमन्त्रण गर्यो। पाटन दरबार स्क्वायरको झण्डै आधा पृष्ठ ढाक्ने तस्बिरसहित दुई पृष्ठ लामो आलेखको आग्रह थियो – ‘नेपालमा पदयात्रामा रुचि नभएका यात्रुले पनि मनोरञ्जन गर्न सक्ने धेरै थोक छन्।’
अखबारका अनुसार, नेपालमा झण्डै नौ हजार मिटर उचाइका हिमालयलाई बेवास्ता गर्न सकिन्न। तर, जो पदयात्रामा जान सक्दैनन् तिनका निम्ति अरू धेरै रमाइला ठाउँ बाँकी छन्। पदयात्रामा जानेले पनि अरू कामका निम्ति आफ्नो शक्ति संचय गर्नु उचित हुने सल्लाह लेखमा दिइएको छ। यसरी दिइएको पाँच सल्लाहअनुसार पर्यटकले पाटन दरबार स्क्वायरको स्थानीयपनमा रमाउन सक्छन्। यहाँ भगवानका मूर्ति किन्न पाइन्छ, तर मोलतोल गर्न भने भुल्नु हुन्न, सल्लाह दिइएको छ। यहाँका धुलाम्य र पुराना र तर राम्ररी जिर्णोद्धार गरिएका भवनको प्रशंसा गरिएको छ।
पाटन दरबार स्क्वायरपछि बौद्धनाथको आध्यात्मिकपनसँग घुलमिल गर्न आग्रह गरिएको छ। गोधूली साँझमा रम्न लेखमा सम्झाइएको छ। त्यसपछि नगरकोटबाट सूर्योदयको दृश्यावलोकन, फेवातालको नौका बिहार र सराङकोटबाट अन्नपूर्ण शृंखलाको आनन्द लिनसमेत लेखिकाको आग्रह छ। सराङकोटको विकासका निम्ति योगदान गर्नसमेत जोड दिइएको छ।
सिंगापुर तथ्यांक विभागका अनुसार, झण्डै ५० लाख जनसंख्या रहेको सिंगापुरमा १० लाख परिवारको बसोबास छ। एक अनुमानअनुसार प्रत्येक तेस्रो घरमा दी स्ट्रेटस् टाइम्स पुग्छ। यसको प्रभावका आधारमा निश्चय पनि नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुग्छ। त्यतिमात्र होइन, यसको अनलाइन सेवाले संसारभर हामीलाई पुर्याएको छ। अब स्ट्रेट टाइम्सको त्यो लेख पढ्न अनलाइनलाई पैसा तिर्नुपर्छ। तर, धन्दा नमान्नु होला, भियतनामको एउटा समाचार सेवाले यसलाई सार्वजनिक गरिसकेको छ। यसको प्रभाव यस क्षेत्रमा राम्रै पर्नेछ।
हामीले आफूलाई पर्यटक प्रेमी देशकारूपमा उभ्याए पनि ससाना कुराले उनीहरूलाई पिरोल्छ भन्नेमा ध्यान पुर्याउन सकेका छैनौं। राजधानी काठमाडौंले सार्वजनिक शौचालयको आवश्यक व्यवस्था छैन। भएकाको दुर्गति वयान गरी साध्य छैन। लेखिका जोसेलिन ली उल्लेख गर्छिन्, ‘सार्वजनिक शौचालयको अर्कै कथा छ, नगरी नहुने भयो भनेमात्र त्यसलाई प्रयोग गर्नुहोला।’ नेपाललाई निकै माया गरेर लेख्दा लेख्दालेख्दै पनि बडो भलादमी पाराले आफ्ना पाठकलाई तयारीपूर्वक जान सल्लाह दिइएको छ।
काठमाडौंको अर्को दुःख सार्वजनिक यातायात हो। सर्वसाधारण नागरिकलाई त्यति दुःख हुन्छ भने कहिलेकाही घुम्न आउने पर्यटकलाई सजिलो हुने कुरै भएन। त्यसमाथि, पर्यटक भनेका पैसाका बिटा बोकेर आउने जन्तु होइनन्। आफूले दुःखले कमाएको पैसाको सदुपयोग गर्न ती यात्रामा निस्किन्छन्। लेखमा यी ठाउँको यात्रामा निस्किदाँ साना गाडी भाडामा लिन आग्रह गरिएको छ। खासगरी अनुभवी ड्राइभर भएका साना गाडी भाडामा लिएर दिनभरि घुम्न निस्किँदा सजिलो पर्ने सुझाव लेखको छ।
धुलाम्य सडक र दिग्दारलाग्दो सडक यातयातको अवस्थालाई लेखले थोरै शब्दमा राम्ररी छोएको छ। ‘धेरै मोटरबाइक, पर्याप्त सडक र संकेतको अभाव, थोरै ट्राफिक लाइट र विभिन्न सवारीसाधनको एक साथको हर्न, धुलाम्य सडकका दिक्क लाग्दा पक्ष हुन्,’ लेखिएको छ। यसबाट प्रष्ट हुन्छ, सडक सभ्यता हासिल गर्न हामीले गर्नुपर्ने केके काम रहेछन्। दुई दिन घुम्न आउने पर्यटकले दिएका यी सुझाव पक्कै पनि हाम्रो राजधानीको सडक र सरसफाइका जिम्मेवार निकायलाई थाहै हुनुपर्छ।
सिंगापुरको सबैभन्दा राम्रो पक्ष जतासुकै पर्याप्त शौचालयको व्यवस्था हो। कम्तीमा, युरोप वा अमेरिकामा जस्तो शौचालय गएपिच्छे पैसा खर्च गर्नु पर्दैन। बियर खानभन्दा शौचालय जान महँगा युरोपका सहर सम्झे पुग्छ। सिंगापुरमा फोहर टुंगो लगाउने भाडाहरू जतासुकै राखिएका छन्। ठाउँमा फोहर थान्को नलगाए मात्र जरिवानामा परिने हो। जतासुकै जान सडक र यातायातको व्यवस्था छ। दिनरातको कुनै मतलब छैन। आफ्नो सुविधा अनुसार बस वा ट्रेनको उपयोग गर्न सकिन्छ। त्यसका निम्ति दुवै थरी यातायातम चलाउन सकिने पहिल्यै भुक्तानी गरिसकिएका कार्ड प्रयोग गर्न सकिन्छ। रह्यो यातायात संकेतको सबाल, यो ज्यादै सजिलोसँग व्यवस्था गरिएको छ। हरेक स्टेसन वा यात्रु प्रतीक्षालय नजिक प्रष्ट संकेत छ। यसले यात्रुलाई कंक्रिटको जंगलमा रनभुल्ल पर्नबाट जोगाउँछ।
हामीकहाँ असुविधै असुविधा भए पनि पर्यटक आउन चाहन्छन्। तिनले आफ्नो मुलुक आफैं बनाएका हुन्। हाम्रो भने प्रकृतिले जति बनाएको हो, त्यति नै छ। बरु आफैंले धेरैजसो बिगारेको हो। त्यसकारण, धेरै गर्नै पर्दैन, जिम्मेवार निकायले आफ्नो भूमिका राम्ररी निर्वाह गरिदिने हो र उपलब्ध स्रोतसाधनको सदुपयोग गर्ने हो भने देशको उन्नति भएरै छोड्छ। त्यसमा पनि हामी नेपालीलाई मनपराउने संसारैभर छन्।
हाम्रो मुलुक प्रकृतिले सुन्दर छ। त्यसमाथि सौन्दर्य थप्न सके गुणस्तरयुक्त पर्यटक आउन सक्छन्। स्ट्रेट्स टाइम्समा छापिएकाजस्ता लेख हाम्रो देशको पर्यटन बजार प्रवर्द्धनका निम्ति उपयोगी हुन सक्छ। ससाना कुराको मूल्य छ। यस्ता लेखका महत्वपूर्ण अंशलाई उल्लेख गरी नेपालले आगामी नेपाल भ्रमण वर्षलाई सफल बनाउन सक्छ। त्यसभन्दा बढी नेपालको छवि सुधार गर्ने हो। गत साता म सिंगापुरको जनशक्ति मन्त्रालयमा पुग्दा नेपाल भन्नेबित्तिकै निकै छिटो काम भयो। कारण एउटै थियो, उनले नेपाल भ्रमण गरिसकेकी थिइन्।
[...] This post was mentioned on Twitter by Nepal News Network . Nepal News Network said: Byroad- सिंगापुरमा नेपाल: हामीले आफूलाई पर्यटक प्रेमी देशकारूपमा उभ्याए पनि ससाना कुराले उनीहरूलाई पिरोल्छ भन्नेमा… http://bit.ly/a39MgQ [...]