>
Mar 15

हाई हाई ट्विटर

अहिले ट्विटर र फेसबुकजस्ता माध्यमले अरु माध्यमलाई समाप्त पार्छन् भनिदैँछ। जे भएपनि, अबका सफल माध्यम ट्विटर, फेसबुकजस्ता ‘सोसल मेडिया’ हुन् भन्नेमा विशेषज्ञहरू एक मत छन्।

अमेरिकी राष्ट्रपति बाराक ओबामाको आसन्न इन्डोनेसिया भ्रमण स्थगित भएको समाचार मूलधारका भनिएका सीएनएन, बीबीसी वा यस्तै ठूला मिडिया होइन, एउटा अपत्यारिलो माध्यमले दियो। त्यो हो, ट्विटर। अमेरिकी विदेश मन्त्रालयले यो खबर सार्वजनिक गर्न चल्तीको सामाजिक मिडिया सञ्जाल ट्विटरलाई रोज्यो।

विदेश मामिलाजस्तो महत्वपूर्ण विषय पनि ट्विटरमा? जुन माध्यम सजिलो छ, त्यसको प्रयोग बढ्दै जान्छ र गम्भीर विषयलाई समेत यिनै माध्यमको प्रयोग नगरी नहुने अवस्था आउँछ। ह्वाइट हाउस प्रवक्ता रोवर्ट गिब्सलाई उद्धृत गर्दै समाचारमा लेखिएको छ, ‘सूचना प्रवाहका निम्ति ट्विटर छिटो माध्यम हो र हामी सम्भवतः यसलाई अरू बढी प्रयोग गर्नेछौँ।’

अमेरिकी राष्ट्रपतिको इन्डोनेसिया भ्रमणलाई यस क्षेत्रमा निकै महत्वका साथ हेरिएको छ। त्यसो त, उनको आफ्नै जीवनमा पनि यो निकै महत्वपूर्ण छ। उनका केन्याली बाबुसँग पारपाचुके गरेपछि आमाले इन्डोनेसियालीसँग विवाह गरेकी थिइन्। यसै क्रममा उनी सन् १९६७ देखि १९७१ सम्म इन्डोनेसियामा बसेका र पढेका थिए। अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भए लगत्तैदेखि इन्डोनेसियामा उनको व्यग्र प्रतीक्षा भइरहेको छ। अझ प्रथम महिला मिसेल ओबामा र उनका दुई छोरी मालिया र सासालाई समेत लैजाने भन्ने थियो। तर, उनको स्वास्थ्योपचार सुधारसम्बन्धी कार्यक्रमको अनुमोदनका लागि समय दिनुपर्ने भएकाले भ्रमण स्थगित गरिएको ह्वाइटहाउसले जनाएको छ।

अझ महत्वपूर्ण त के भने उनको भ्रमण निर्बिध्न सम्पन्न गर्ने क्रममा इन्डोनेसियाले गरेको प्रहरी कारबाहीमा बाली बम काण्डका एक नाइके डुलमाटिन हालै मारिएका छन्। यस घटनालाई इन्डोनिसियाले आतंकवादविरुद्ध हासिल गरेको महत्वपूर्ण उपलब्धिका रूपमा चित्रित गरिएको छ। साथै, सुरक्षा सतर्कतामा विशेष ध्यान दिई तदनुकूल अभ्याससमेत हुन थालेका छन्। यसलाई इन्डोनेसिया सरकारले नियमित कारबाही भने पनि मुख्य ध्यान ओबामाको भ्रमणमा नै थियो। यस्तो महत्वपूर्ण खबर ट्विटरले सार्वजनिक गर्‍यो।

सामाजिक मिडियाको प्रयोग गर्नेहरूका निम्ति यो गौरवको विषय हो। यस्ता माध्यमको प्रयोग सहज संवाद र सूचना प्रसारणका निम्ति जसले पनि गर्छन् भन्ने यो उदाहरण हो। ट्विटर, फेसबुकजस्ता सयौं सामाजिक माध्यमलाई अहिले आफ्नो काम सहज बनाउन प्रयोग गरिन थालेको छ। यी सूचना यस्ता माध्यमबाट किन आउन थाले भने नेटिजन यहीँ फेला पर्छन्। टेलिभिजन वा रेडियोबाट दिनुपर्ने खबर अनलाइन माध्यमबाट सहजै प्राप्त हुनसक्छ।

हालै यहाँ (सिंगापुरमा) ‘सोसल मिडिया’को प्रयोगसम्बन्धी साता लामो तालिम र छलफल भएको थियो। त्यसमा मूलतः यस्तो मिडियाको प्रयोगले काममा बाधा गर्छ कि सहयोग पुर्‍याउँछ भन्ने विमर्श भएको थियो। त्यसबाहेक यसलाई प्रयोग गर्नसमेत सिकाइएको थियो। सोसल मिडियाले अन्य माध्यमलाई समाप्त पार्छ भनी चिन्ता गर्नेलाई यसबाट चिन्तित हुनुको साटो लाभ उठाउन सिकाइएको थियो। यी माध्यमले सञ्चारकर्मीको काम सहज गर्ने वातावरण बनेको छ भन्नेमा सबैको सहमति थियो। त्यसैले नेटिजनसम्म पुग्न र तिनले के ग्रहण गर्छन् भन्ने बुझ्न आग्रह गरिएको थियो।

कुनै पनि माध्यमले अर्को माध्यमलाई समाप्त पार्र्दैन, बरु एउटाले अर्काको काम सहज तुल्याउँछ। रेडियो र टेलिभिजन आएपछि प्रेसको काम सकिन्छ भन्ने थियो। त्यस्तै अहिले ट्विटर र फेसबुकजस्ता माध्यमले अरु माध्यमलाई समाप्त पार्छन् भनिदैँछ। अबका सफल माध्यम ट्विटर, फेसबुकै हुन् भन्नेमा विशेषज्ञहरू एक मत छन्।

कुनै पनि परिवर्तन बिनारोकतोक आएका छैनन्। पहिलो पटक छपाइ मिसिन आउँदा धार्मिक तथा राजनीतिक सिद्धान्तका पहरेदारहरू निकै बेखुसी थिए। छपाइ मिसिनका कारण ‘खतरनाक विचार’ व्यापकरूपमा फैलन्छ भन्ने तिनको धारणा थियो। त्यही भएर छपाइ मेसिन संचालन गर्न लाइसेन्स लिनुपर्ने गरिएको थियो, युनेस्कोद्वारा प्रकाशित म्याकब्रिज प्रतिवेदन ‘वान भ्वाइस् वान वर्ल्ड’ले उदाहरण दिंदै उल्लेख गरेको छ।

आखिर ट्विटर हो के? पछिल्लो समयको सबैभन्दा लोकप्रिय यो सोसल मिडियामा बढीमा १ सय ४० अक्षरमा आफ्नो सन्देश दिन सकिन्छ। यसलाई पत्रकारिताको सबैभन्दा राम्रो माध्यमसमेत मान्न थालिएको छ। कुनै पनि विषयमा सोझो र सटीक सूचना दिन र लिन सकिने भएकोले आफ्ना माध्यमसँग यसबाट जोडिन सकिन्छ। यसमा आन्तरिक र सार्वजनिक सूचना प्रवाह, समाचार आदान प्रदानको सुविधा छ। आफूलाई मनलागेका संस्था वा व्यक्तिलाई पछ्याउन (फलो) गर्न सकिने सुविधा छ।

ट्विटरको प्रयोग गर्नेमा राजनीतिक नेता, चलचित्र अभिनेता, लेखकका साथै सर्वसाधारण पनि छन्। भारतीय विदेश राज्यमन्त्री शशि थरुर ट्विटरहरूबीच चर्चित छन्। उनी प्रत्येक क्षण ट्विट गर्छन्। उनका फलोअरहरू ६ लाख ४२ हजारभन्दा बढी छन्। हालै उनले ट्विट गरेको एउटा शब्दले भारतीय संसद्मा हंगामै मच्चायो। उनले भारत र पाकिस्तानबीच अमेरिकाले ‘मेडिएसन’ गर्नुपर्छ भने भनियो। तर, उनी आफूले अमेरिका ‘इन्टरलोकुटर’ अर्थात् उसले कुराकानीमा भाग लिन सक्छमात्र भनेको बताएका छन्। ट्विटरले उनलाई अप्ठ्यारोमा पारे पनि यस माध्यमलाई उनले आत्मसातै गरेका छन्। उनी गएका कुनै पनि कार्यक्रमबाट मोबाइलमार्फत् ट्वीट गरिरहेका हुन्छन्। उनलाई पछ्याइरहेकाले सहजै उनीबारे जानकारी लिन सक्छन्।

ट्विटर कति लोकप्रिय भएछ भने चिनियाँ कम्युनिष्ट पार्टीको हालैको बैठकमा देखिएका पञ्चेन लामालाई समेत अब ट्वीट गर्न सुझाव दिएका छन्, उनीप्रति सहानुभूति राख्नेहरूले। यी २० वर्षे युवकलाई चीन सरकारले दलाइ लामालाई चुनौती दिन पञ्चेन लामाको रूपमा हुर्काइरहेको छ। बेइजिङस्थित तिब्बत अध्ययनसम्बन्धी चिनियाँ केन्द्रका प्राध्यापक तेन्जिङ लुन्डुप उनलाई अंग्रेजी सिक्न आग्रह गर्दै भन्छन्, ‘उनले धर्मप्रति कम आस्थावान तिब्बती युवाको सामना गर्नुपर्ने हुन्छ। त्यसका निम्ति उनले इन्टरनेट चलाउन, ट्विट गर्नसमेत सिक्नुपर्नेछ।’

नागरिक

Share this article:
  • Print
  • Digg
  • del.icio.us
  • Facebook
  • Google Bookmarks
  • email
  • LinkedIn
  • MySpace
  • Ping.fm
  • Reddit
  • StumbleUpon
  • Technorati
  • Twitter

1
comments

1 comment!

  1. आकार says:

    ट्वीटर मा ट्विटिनु को मज्जै अर्कै छ । इन्टरनेट का सामाजिक सञ्जाल मध्ये को एउटा सशक्त खम्बा भन्दा पनि फरक पर्दैन । कहिलेकाँहि त लाग्छ, संसार नै ट्विटर मा अटेको छ । बलिउडकर्मी देखि बाराक ओवामा सम्म, ट्वीटर मा गफ्फिरहेका बेला, नेपाल का नेता, बुद्धिजिवि, पत्रकार, विद्यार्थी, कलाकार आदि सबैले ट्विटर मा जोडिएर संसार को ताल सँग ताल मिलाउन जरुरी छ !

    म त यहाँ छु है ! :)
    @aakarpost

Reply

>