>
Jun 28

बाँसको बलियो स्कुल

बाँसको स्कुलका नामले चिनिएको समता शिक्षा निकेतनको शीरमा यो साता तीनवटा प्वाँख थपिएका छन्। नौ वर्षअघि काठमाडौंको जोरपाटीमा सुरु भएको एउटा सानो अभियान यतिबेला देशका विभिन्न स्थानमा पुग्ने क्रममा छ। यसै सिलसिलामा समताले आफ्नो १८औं शाखाको शिलान्यास गोरखा बजारमा गरेको छ। पोखरा र भैरहवामा पनि यो स्कुलको शाखा उद्घाटन भई पठनपाठन सुरु भएको छ।

विपन्न परिवारबाट आएका विद्यार्थीलाई यस स्कुलमा मासिक सय रुपैयाँ शुल्कमा पढ्ने अवसर दिइएको छ। एकपटक भर्ना हुन १ सय ५० रुपैयाँ बुझाएपछि एसएलसीसम्म भर्ना गरिरहनु पर्दैन। विपन्न परिवारका सन्तानलाई समेत शिक्षाको विकल्प दिएको कारण यसको लोकप्रियता बढ्दो छ। बढ्दो लोकप्रियतासँगै यसमा सहयोगको हात बढाउने व्यक्ति पनि बढिरहेका छन्।

जोरपाटीमा उत्तम सञ्जेल नामका साधारण व्यक्तिले सुरु गरेको यो अभियानले राष्ट्रको नेटो काटेर अन्तर्राष्ट्रिय स्तरसम्म पहिचान बनाइरहेको छ। देशभित्र यो स्कुलको विस्तारका लागि अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) तथा गायिका आनी छोइङ ड्रोल्माको ठूलो योगदान छ। यी जनप्रिय कलाकारहरूका कारण यो अभियानको विस्तारमा ठूलो सहयोग पुगेको छ।

काठमाडौं जोरपाटीबाट ललितपुर र भक्तपुरमा यसको विस्तार गर्ने चरणमा सञ्जेलले निकै हण्डर खाएका थिए। उनी आफ्ना दुःखका दिन अहिले पनि सम्झन्छन्। उनलाई स्थानीय प्रशासनले पक्राउसमेत गरेको थियो। तर, विस्तारै यो अप्ठ्यारोमा सजिलोपन थपिँदै छ। हुँदाहुँदा सरकारले समेत यस अभियानलाई आफ्नो कार्यक्रमका रुपमा राख्न सकिन्छ कि भन्ने सोच बनाउन थालेको छ।

उद्देश्यमा पवित्रता भयो भने त्यस कामले सफलता प्राप्त गर्न सक्छ भन्ने उदाहरण समता हो। यसमा पढ्न आउने निर्दोष अनुहारहरूले धेरैको मन छोएको छ। त्यही भएर मह जोडीले समताका पिताद्वयको भूमिका निर्वाह गर्दै आएका छन्। यस स्कुलका लागि भनी यी दुई कहाँ पुगेका छैनन्। सिन्धुपाल्चोकदेखि सप्तरीसम्म, भरतपुरदेखि भैरहवासम्मका कार्यक्रमका लागि उनीहरूले समय दिने गरेका छन्।

मह जोडी नाम चलेका र स्तरीय सामग्री प्रस्तुत गर्ने कलाकार हुन्। यिनलाई समयको पौल छैन। भएको समय प्रयोग गरे त्यसबाट उनीहरूले आफ्नो आर्थिक स्थिति अरु सुधार गर्न सक्छन्। तर, यो पवित्र कामलाई समय दिएर उनीहरूले ठूलो योगदान गरिरहेका छन्। उत्तम सञ्जेल एक्लैलाई यो अभियान सञ्चालन गर्न यति सजिलो हुने थिएन। यो अभियानको अन्तर्यलाई बुझेर नेपाली मिडिया जगतले समेत सकारात्मक योगदान गरेको छ।

यो अभियान राम्रो भएको बुझेपछि उद्योगी/व्यापारी जगतले समेत आफ्ना तर्फबाट योगदान गर्न थालेको छ। यसमा लगानी गर्न तत्पर हुनुको कारण यस संस्थाप्रतिको सबैको विश्वास हो। चौधरी गु्रपका निर्वाण चौधरीले आफ्ना बाबु विनोद चौधरीलाई सोध्दै नसोधी नवलपरासीको कावासोतीमा स्कुल निर्माणका लागि बजेट दिएछन्। पछि विनोदले यो थाहा पाएपछि मह जोडीलाई दिनुसम्म धन्यवाद दिएछन्, आफ्नो छोरालाई ठीक बाटोमा लगाइदिएको भनेर।

यो शिक्षा अभियानमा जोडिनेहरूलाई गौरव लाग्ने स्थिति सिर्जना भएको छ। रुसमा बसेर व्यवसाय र उद्योग गरिरहेका व्यापारी उपेन्द्र महतोले यो शैक्षिक अभियानका निम्ति ३ करोड ६० लाख रुपैयाँ दिएपछि यसले धमाधम तराईका जिल्लामा समेत काम सुरु गरेको छ। यो साता उनी गोरखादेखि भैरहवासम्मका कार्यक्रममा पुगे र त्यहाँ उत्साहको सञ्चार गरे। धेरैले पैसा कमाएका छन्। तर, विपन्न बालबालिकाको शिक्षाका निम्ति सहयोगको हात जुटाएर उनले प्रशंसनीय काम गरेका छन्।

नेपाल स्रोत साधनका हिसाबले गरिब छैन। यहाँ उदारमना व्यक्तिहरूको संख्या कम छैन। त्यसका लागि योजनाबद्ध अभियान आवश्यक छन्। स्वार्थ नराखी काम गर्न सक्ने व्यक्तिहरूले यस्ता अभियान अघि बढाउन सक्छन्। समता अभियान अघि बढ्न सक्नुमा यसका अभियन्ता सञ्जेलको व्यवहार पनि धेरै हदसम्म कारक छ। यिनको सबैभन्दा ठूलो गुण भनेको आफूले गरेको कामको श्रेय अरुलाई नै दिन चाहन्छन्। उनी आफूले भन्दा पनि महजोडी, आनी छोइङ वा यस्तै अन्य व्यक्तिहरूको नाम दिने गर्छन्।

मह जोडीले उद्घाटन र शिलान्यास कार्यक्रममा उत्तमको यो बानीको पटक-पटक चर्चा गर्ने गरेका छन्। यी काम उत्तम आफैंले गरेको र राम्रो लागेर मात्र यसमा आफूहरूले साथ दिएको बताउने गरेका छन्। राम्रो अभियान जसले सुरु गरे पनि त्यसलाई सहयोग गर्ने हजार हात अघि बढ्ने रहेछन् भन्ने उदाहरण समता हो। त्यही भएर समता परिवारको विस्तार दिनानुदिन भइरहेको छ। गोरखामा जग्गा दिने सामान्य परिवारका एक प्रहरी अधिकृत हुन्। डिएसपी राजुबाबु श्रेष्ठले स्कुलका लागि गोरखा बजारमाथि डाँडामा रहेको जग्गा प्रदान गरे। उनले भने पनि, ‘म धेरै धनी भएर यो दानपुण्यको काम गर्न लागेको होइन।’

देशमा विभिन्न स्थानमा स्कुलको विस्तारका लागि सञ्जेलसँग आग्रह भइरहेका छन्। कोही जग्गा दिन तत्पर छन्। कोही अन्य हिसाबले सहयोगको हात बढाउन चाहन्छन्। यसको एउटै उद्देश्य हो, शिक्षा क्षेत्रमा सफता प्राप्त होस्। आजको राम्रो शिक्षाले भोलिको नेपाललाई सुखद बनाउँछ।

सञ्जेलले यसपटक समतालाई संसारकै सबैभन्दा ठूलो स्कुल बनाउने घोषणा गरे। यथार्थमा यो धेरै टाढा छैन। विद्यार्थी संख्याका हिसाबले यो स्कुल एक- दुई वर्षमै संसारको सबैभन्दा ठूलो स्कुलका रूपमा स्थापित हुँदैछ। समताको विस्तार भनेको अरु स्कुलको विरोध वा त्यसलाई अस्वीकार गर्ने अभियान होइन। मह जोडीले देशका विभिन्न भागमा आयोजना भएका कार्यक्रममा यो कुरा बताउने गरेका छन्। यथार्थमा यो एउटा समाधानमुखी विधि हो। स्रोतसाधन भएका परिवारले आफ्ना नानीलाई महँगा स्कुलमा पढाउन सक्छन्। र, निजी स्कुलहरूको योगदान नेपालमा ठूलो छ। यसले शिक्षाको स्तर वृद्धिमा ठूलो योगदान गरेको छ।

समता विपन्न परिवारका विद्यार्थीका निम्ति समेत स्तरीय शिक्षा दिने अभियान मात्र हो। समता शिक्षा मात्र होइन सामाजिक अभियान पनि हो। यसले दहेज, बोक्सीप्रथा जस्ता सामाजिक विकृतिमा समेत प्रहार गर्ने गरेको छ। यसका कार्यक्रममा मह जोडीले सदैव यी कुरा उठाउने गर्छन्। सबैभन्दा ठूलो कुरा समतामा विद्यार्थीको विविधता छ। यो ठूलो स्कुलमा पढ्ने विद्यार्थीका साथी देशभरि छरिएका छन्।

नागरिक

Share this article:
  • Print
  • Digg
  • del.icio.us
  • Facebook
  • Google Bookmarks
  • email
  • LinkedIn
  • MySpace
  • Ping.fm
  • Reddit
  • StumbleUpon
  • Technorati
  • Twitter

0
comments

Reply

>