एकजना कविले भनेका थिए- जुन देशमा ध्वस्त संरचना हुँदैनन्, त्यो देशको स्मृतिमा केही हुँदैन, जुन देशमा स्मृति हुँदैन, त्यो देशको इतिहास पनि हुँदैन
- कार्लोस बाटो देखाउँदै । तस्विर गुणराज लुइँटेल
‘भद्र महिला तथा सज्जनहरू, म कार्लोस, तपाईंहरू
को आजको पथप्रदर्शक ।’
दोस्रो विश्वयुद्धमा ध्वस्त कोरिज्डोर टापुको भ्रमण दलका सहभागीलाई गरिएको सम्बोधनले हाम्रो ध्यान तान्यो ।
‘कुनै जापानी यहाँ हुनुहुन्छ ? ‘
‘ठिकै छ, कोही पनि हुनुहुन्न रहेछ ।’
यो नयाँ टापुको भ्रमणमा निस्केदेखि हाम्रो भ्रमण टोली अत्यन्त उत्साहित थियो । फिलिपिन्सको राजधानी मनिलाबाट झन्डै ४८ किलोमिटर टाढाको यो टापुमा पुग्नुअघि हामी ठूलो क्रुजमा समुद्रमा दौडिरहेका थियौं । समुद्रका उत्ताल तरंगलाई छिचोल्दै झन्डै डेढ घन्टामा हामी टापु पुग्यौं । चारैतिर हरियाली छाएको यो टापुले हामीलाई त्यसै-त्यसै रोमाञ्चित तुल्याइरहेको थियो ।
भ्रमणको रमाइलो पथप्रदर्शकले गराउन सक्छन् । र, कार्लोसलाई मैले प्रतिभासम्पन्न गाइडका रूपमा पाएँ । उनी हामीलाई चारैतिर हेर्न मिल्ने सानो बस आकारको साधनमा राखेर यात्रामा निस्किए । अनि सुरु भयो उनको रमाइलो वर्णन्।
यो टापु फिलिपिन्सका चर्चित गन्तव्यमध्ये एक हो । दोस्रो विश्वयुद्धमा अमेरिका र जापानले फिलिपिन्सको यो भूमिमा युद्ध गरेका थिए । युद्धका बेला ध्वस्त पारिएका सैन्य आवास, हतियार तथा खरखजाना भण्डार स्थल जस्ताको तस्तै संरक्षण गरिएका छन् । युद्ध वीभिषिकाले ध्वस्त संरचना देखाएर इतिहासको पाठ पढाउने प्रयास यहाँ गरिएको अनुभूति हुन्छ । र,
पर्यटक बसमा चढ्नासाथ यी कुसाग्र बुद्धिका पथप्रदर्शकलाई चिन्ने अवसर प्राप्त भयो । त्यसो त, सबै पथप्रदर्शकमा यी विशेषता हुन्छन् । यी भने विनोदी रहेछन् । जसै हामीलाई बोकेको त्यो विशेष प्रकारको बस अघि बढ्यो, उनले युद्धको विवरण, युद्धमा संलग्न जनरलहरूको भूमिका वर्णन गर्दै गए । कुनै ठाउँमा रोकिँदै हामीलाई फोटो खिच्ने अनुमति दिए । भ्रमणको अन्त्यमा मलाई लाग्यो, पथप्रदर्शकहरू यथार्थमा इतिहासका व्याख्याता हुन्, जसले इतिहास बुझ्न सहयोग पुर्याउँछन् ।
हामी नेपाल भ्रमण वर्ष२०११ आयोजना गर्दैछौं । भ्रमण वर्षसफल पार्न यस्ता पथप्रदर्शकको ठूलो महत्त्व हुन्छ । पर्यटकले घर फर्केपछि पनि तिनै पथप्रदर्शकका माध्यमबाट आफ्नो भ्रमण सम्झिरहन्छन् । त्यस अर्थमा हामीलाई कार्लोसजस्ता धेरै पथप्रदर्शकको आवश्यकता पर्छ । पथप्रदर्शकमा विनोदप्रियता, इतिहासको ज्ञान र अभिव्यक्ति क्षमता आवश्यक पर्छ भन्ने मलाई लाग्छ । म कार्लोसको पथप्रदर्शन विधि बिर्सन सक्दिनँ ।
कार्लोससँगको भ्रमणका केही विवरण घर फर्केको झन्डै तीन सातापछि फेरि सम्झँदै छु :
कार्लोसले इतिहास व्याख्या गर्ने, युद्धले ध्वस्त संरचना देखाउने काममात्र गरेनन्, कार्यक्रमकै बीच कार्लोसले आफ्नो व्यंग्योक्ति यसरी प्रकट गरे :
‘हामी आजको लन्च होटल कोरिज्डोरमा गर्दैछौं ।’ उनले होटलतिर औंला देखाउँदै भने, ‘होटल कोरिज्डोर यो टापुकै सबभन्दा राम्रो होटल हो, किनभने यो यहाँको एकमात्र होटल हो ।’
उनले यति भन्दा-नभन्दै हाम्रो टोली पेट मिचीमिची हाँस्न थाल्यो । यो त हास्यरस प्रवाहको प्रारम्भिक चरणमात्र थियो । उनले होटलपछाडि उभिएको पहाड चिनाउन खोजे । तर, हामी पहिल्यै हाँस्न तयार थियौं । केही साथीको हाँसो फुस्किहाल्यो । कार्लोसले कुरा बुझिहाले, ‘होइन सरहरू, हामीकहाँ यही एउटामात्र पहाड छैन, हामीकहाँ यस्ता धेरै पहाड छन् ।’
आफूले पथप्रदर्शन गरिरहेका यात्रीहरू कुन-कुन मुलुकबाट आएका होलान् भन्ने जिज्ञासा कार्लोसलाई नलाग्ने कुरै भएन । संसारभरबाट आउने यात्रीलाई बाटो देखाइसकेका उनले पालैपालो हाम्रो परिचय सोध्न थाले । ‘फिलिपिन्स, इन्डोनेसिया, चीन, जर्मनी, नेपाल, भारत, ठिक छ -’ उनले फिलिपिनो लवजमा सोधे, ‘महासय, अनि तपाईं – सिंगापुर । हो तपाईं सक्कली सिंगापुरेन लाग्नुहुन्छ, एकदम एसियाली ।’
परिचयको अन्त्यमा कार्लोसले फेरि हामीमध्ये कोही जापानी छन् कि भनी जान्न चाहे । ‘कोही पनि रहेनछन्, ठिकै छ,’ उनले छोटो विश्रामपछि भने । उनको यो छोटो विश्रामपछि पनि हामी हाँस्न छाडेनौं । ‘तपाईंहरू किन हाँस्नुभएको -’ हाम्रो जवाफ नसुनी उनले एउटा चट्टानी भाग देखाए र भने, ‘यहाँ धेरै जापानीले सामूहिक हाराकिरी गरेका थिए ।’
‘मैले किन जापानी पाहुनबारे सोधेँ हुँला -’ उनले हामीलाई प्रश्न गरे ।
हाम्रो जवाफ कुरर्दै नकुरी खुरुखुरु आफैं भन्न थाले, ‘किनभने हामी उनीहरूलाई भिन्नै व्याख्या गर्र्छौं । वास्तवमा हामी उनीहरूलाई युद्धको शुद्धीकृत व्याख्या गर्र्छौं र छुट्टै गाइड दिन्छौं । अहिले उनीहरूप्रति हाम्रो कुनै वैरभाव छैन । हामी एसियाली मित्र हौं ।’
कार्लोसले अहिलेको क्याम्पिङ ग्राउन्ड देखाए । सन् १९०० को सुरुमा यो ठाउँ फिलिपिनो र अमेरिकी सैनिकको खेलमैदान थियो । उनीहरू आपसमा फुटबल, बेसबल, सफ्टबल खेल्ने गर्थे । यस टापुमा अहिले अमेरिका र फिलिपिन्सको सहकार्यमा प्रशान्त क्षेत्रीय युद्ध स्मारक संग्रहालय खोलिएको छ । संग्रहालयको विशाल मैदानमा अमेरिका र फिलिपिन्सका झन्डा हावामा फर्फाइरहेका छन् ।
कार्लोसले युद्धअघि कोरिज्डोर टापु र्स्वर्गजस्तो सुन्दर सैन्य आधार भएको बताए । अमेरिकाले यस सैन्य आधारका लागि सन् १९०९ देखि १९३० बीच करिब १५ करोड अमेरिकी डलर खर्च गरेको थियो । यहाँ अमेरिकाले अत्याधुनिक हातहतियार राखेको थियो । अहिले पनि ती विशाल तोप पथप्रदर्शनका लागि राखिएका छन् ।
यहाँ पहिलो बम खसालिएको डिसेम्बर २९, १९४१ मा हो । जुन ६० टनको थियो । त्यसपछि दिनहुँ १६ हजार बम यहाँ खसालिएका थिए । त्यसकारण कोरिज्डोर संसारमै दोस्रो धेरै बम खसालिएको टापु बन्न पुग्यो ।
युद्धपछि यो टापुमा कोही बसेनन् । बसोबास गर्नसमेत सरकारले रोक लगायो । सन् १९८६ मा मात्र यसको सफाइ भयो । कोही पनि नबसेकाले यो टापुमा पूरै हरियाली छायो । बमबाट ध्वस्त भएका ठाउँमा समेत अचेल रूख देख्न सकिन्छ ।
युद्धबाट क्षतिग्रस्त ठाउँको भ्रमण गरिसकेपछि कार्लोसले भने, ‘हामीले किन यी ध्वस्त संरचना जोगाएर राख्यौं – यसलाई बुल्डोजर लगाएर हामीले किन सपिङ मल बनाएनौं – कुनै बेला एकजना कविले भनेका थिए, जुन देशमा ध्वस्त संरचना हुँदैनन्, त्यो देशको स्मृतिमा केही हुँदैन, जुन देशमा स्मृति हुँदैन, त्यो देशको इतिहास पनि हुँदैन ।’
कोरिज्डोरमा पनि हरिया रूखले ढाकेको वनभित्र ध्वस्त संरचना अझै देख्न सकिन्छ । यी संरचना हेर्न जान सरकारले सडक पुर्याएको छ । दैनिक हजारौं पर्यटक यहाँ आएर युद्धलाई बुझ्ने प्रयास गर्छन् । कोरिज्डोर फाउन्डेसन नामको एउटा निजी संस्थाले यसलाई सञ्चालन गर्दै आएको छ । कार्लोसले भने, ‘कसैले पनि युद्ध जित्दैन । युद्धमा सबैको पराजय हुन्छ । युद्ध अत्यन्त क्रुर हुन्छ । त्यसकारण हामीले आफ्नो जीवनकालमा अर्को युद्ध हेर्नु नपरोस् भन्ने आशा गरौं ।’
भ्रमणको अन्त्यमा, उनले माइक्रोफोन उठाए र भने, ‘भद्र महिला तथा सज्जनहरू, हाम्रो भ्रमण यहीँ सकिन्छ । तपाईंहरूलाई भ्रमण रमाइलो भयो होला भन्ने म ठान्छु । यो इतिहासले भरिएको टापुबारे तपाईंहरूलाई राम्रो जानकारी भयो होला भन्नेमा म विश्वस्त छु ।’
अन्त्यमा उनले कवितात्मक शैलीमा भने, ‘मलाई आशा छ भविष्यमा तपाईंहरू फेरि आउनुहुनेछ । धेरै धन्यवाद । कृपया आफ्ना सामग्रीहरू साथमा लिनुहोस् । तपाईंका पाइलाका डोबबाहेक केही पनि नछाड्नुहोला ।’
नागरिक शनिबार, पृष्ठ ६, २०६७ असार २६

