Byroad ko batoma is a blog and the online archive of published articles of associate editor of Nagarik national daily.
-
Archives
Search
-
Recent Updates
Friend's Blogs
News Sites
Your Views
- MarkSpizer on Nepal Doesn’t Have National Unification Day!
- jana andolan on Happy even at hospital bed
- Tweets that mention सिंगापुरमा नेपाल « GUNA RAJ LUITEL -- Topsy.com on सिंगापुरमा नेपाल
- balji on A week passed like an arrow!
- Tweets that mention Dance, KMJ, Dance! « GUNA RAJ LUITEL -- Topsy.com on Dance, KMJ, Dance!
- Tajim on Singapore or bust !
- आकार on हाई हाई ट्विटर
- national histories on Nepal Doesn’t Have National Unification Day!
- general secretary of the communist party of china - StartTags.com on China: Nation in a hurry
- Aashis Luitel on Singapore or bust !
स्मृतिमा एसएलसी
फेरि एसएलसी मेरो जीवनमा जोडिन आइपुग्यो। कहिले आफ्नै लागि कहिले सन्तानका निम्ति यो जीवनसँग जोडिइरहन्छ। छोरीको एसएलसी रिजल्ट हेरेर उनको फेसबुकको भित्तामा ‘तिमीलाई बधाई है, चियर्स’ लेखिसकेपछि मेरो मन भने आफूले एसएलसी दिएको २७ वर्षअघिको समयतिर फर्कियो।
एसएलसीको रिजल्टले जहिल्यै मलाई ‘नोस्टाल्जिक’ बनाउँछ। तर, यसपाला अलि बढी नै मैले त्यो समयलाई सम्भि्कएँ। अहिले मेरी छोरीको रिजल्ट निस्केको बेला र आफ्नो समयबीच मैले ठूलो भिन्नता महसुस गरेँ। एसएलसीको परिणाम आफ्नै पत्रिकाको न्युज पोर्टल नागरिकन्युजडटकममा हेरेर लगत्तै फेसबुकको भित्तामा लेख्न र सँगसँगै मोबाइल फोनबाट वधाई दिन मैले भ्याइसकेको थिएँ। मेरो समय भने सञ्चार प्रविधिले यति साह्रो सुसज्जित थिएन। एसएलसी जाँच दिइसकेपछि म पूर्वी पहाडको भोजपुर सदरमुकाम छोडेर झन्डै पाँच घन्टा टाढाको गाउँमा फर्किसकेको थिएँ। आफ्ना झोलीतुम्बा, किताब र नोटकापी साथैमा थिए। दश वर्षको कमाइ उठाउने ‘फलामे ढोका’ पार हुने विषयलाई भगवान भरोसा छोड्दै फर्केको मैले त्यसपछिका झन्डै छ महिना पूरै गाउँमा बिताएँ। मैले एसएलसी दिएको भन्ने पनि बिर्सें।
वास्तवमा म एसएससी दिएको किन बिर्सन चाहन्थेँ भने त्यो प्राप्ति हुन पनि सक्थ्यो र नहुन पनि। पहाडी जिल्ला, त्यसमा पनि सरकारी स्कुलको एसएलसी परिणाम अत्यन्त कहालीलाग्दो थियो। हाम्रा निम्ति गणित, विज्ञान र अंग्रेजी पढाउने योग्य शिक्षकको कमी थियो। प्रायः गाउँका स्कुलमा यी विषयका शिक्षकै हुन्थेनन्। अहिले काठमाडौंमा पढ्ने अधिकांश आमाबाबुले छोराछोरीलाई राम्रै अंग्रेजी स्कुलमा राखेर शिक्षा दिने प्रयास गरेका छन्।
हाम्रो पालामा एसएलसी पासमात्रै हुँदा पनि वल्लोपल्लो डाँडा सबैमा आफ्नो नाम सुवास फैलिन्थ्यो। पास हुन पाए पुग्थ्यो। परीक्षामा ‘डिस्टिङसन’ आउनु भनेको कुन चरीको नाम हो थाहा हुन्थेन। अहिलेको एसएलसी परिणामभन्दा ठीक उल्टो धेरै तृतीय श्रेणीमा, त्यसपछि द्वितीय र प्रथम श्रेणीमा पास हुन्थे। अहिले त प्रथम श्रेणीमा पास हुनु पनि झन्डैझन्डै लज्जाको विषयजस्तो हुन थालेको छ।
एसएलसी पास नभए पनि जीवन त चलाउनै पर्थ्यो। त्यसपछि मैले सुरु गरे जीवनकै अर्को नयाँ परीक्षा। खेतबारीमा कति काम गर्थें भने म पूरै लखतरान भएर खेतबाट फर्कन्थे। त्यो बर्खा पूरै धान खेतमा काम गरेँ। चर्का घाममा मकै बारीमा पसेर काम गरेँ। त्यतिमात्र होइन किसान जीवनमा लागि नभइनहुने सामग्री डोको, नाम्लो, दाम्लो, महला बुन्न सिकेँ। यो एकदमै भिन्न स्कुल थियो मेरो जीवनमा। अहिले एसएलसी दिएपछि ‘ब्रिजकोर्स’ सुरु हुन्छ। अझ एसएलसी रिजल्ट नहुँदै यहाँ त कक्षै सुरु भइसक्छन्।
म यथार्थमै एसएलसी दिएको बिर्सन चाहन्थेँ। नभन्दै कसैले सुनायो, एसएलसी परीक्षाफल प्रकाशित भएको खबर रेडियोमा आयो। हाम्रो गाउँमा रेडियोबाहेक कुनै सञ्चार साधन थिएन। त्यही बूढो गोरखापत्र महिनौंदिन भरियाको थाप्लोमा बोकिएर पहाड उक्लिँदै आइपुग्थ्यो। त्यसको मुख बिरलै देख्न पाइन्थ्यो। टेलिफोन कुन चरीको नाम हो, मेरो कल्पनामा थिएन। जिल्ला सदरमुकामबाट आकाशवाणी (आवा) गर्ने चलन थियो तर साह्रै गाह्रोसाँगुरो पर्दामात्र।
रिजल्ट हेर्न सदरमुकाम जाने आँट मैले गरिँन। अलि पल्लो गाउँका केही साथीले पनि जाँच दिएका थिए। तर, कसले पास गरे, कसले गरेनन् भन्ने कुनै जानकारी थिएन। एक दिन गाउँकै शिक्षक काका सदरमुकाम गएका रहेछन्। उनैले एउटा सुखद समाचार बोकेर आए। ओहो, त्यो दिन हाम्रो घरमा ईश्वरीय सुसमाचारजस्तै गरी त्यो खबर आइपुग्यो। त्यो समाचारसँगै मेरा जीवनमा थुनिएका सबै ढोका खुलेको अनुभव भयो। मेरी आमाका आँखामा हर्षका आँसु थिए। हामी एउटै मेलो खन्दै थियौँ। बस्, त्यसपछि मैले कहिल्यै पछि फर्केर हेर्नु परेन। दुई वर्ष जिल्ला सदरमुकामकै कलेज पढेपछि मेरो यात्रा सुरु भयो राजधानी काठमाडौंको। यहाँ आफ्नो अध्ययन, काम र जीवनमा प्राप्त हुनुपर्ने सबै उपलब्धि प्राप्त भए।
यही काठमाडौं खाल्डोमा बसेर मैले ठूला राजनीतिक परिवर्तन हेर्ने अवसर प्राप्त गरे। २०४६ सालको जनआन्दोलनदेखि २०६२/०६३ को जनआन्दोलनसम्मका परिवर्तन देखियो। पञ्चायतको दवदवा, संविधानभन्दा माथिका राजा र ठालुपनको अन्त्य भई मुलुकमा लोकतान्त्रिक गणतन्त्र आयो। हिजो हेपिएका र थिचिएका भन्नेले पनि आफूलाई बराबरीको दाबी गर्ने अवसर आयो। राजनीतिकमात्र होइन सञ्चार क्षेत्रमा समेत ठूलो परिवर्तन देखियो।
देशमा ठूलो परिवर्तन भए पनि हाम्रो गाउँ भने उस्तै छ। मोबाइल फोनबाहेक अरू केही पुगेको छैन। मैले गाउँ छोड्दा तीन दिन हिडेपछि मोटर चढ्न धरान पुगिन्थ्यो। अहिले अलि कम हिडेर धनकुटाबाट बस चढ्न पाइन्छ। मैले मटि्टतेलको कुपी बालेर पढेँ। अहिले पनि बिजुली पुगेको छैन। त्यहाँ पढ्ने बालबालिकाले मैलेजस्तै गरी पढ्नु पर्छ। म हाइस्कुल पढ्न सदरमुकामसम्म गएँ, अहिले गाउँ नजिकै हाइस्कुल खुलेका छन्। तर, तिनले उत्पादन गर्ने बालबालिकाले काठमाडौं वा सन्य शहरी क्षेत्रका तिनका दौँतरीसँग प्रतिस्पर्धा गर्न सक्दैनन्। यथार्थमा तिनीहरू बेरोजगार जनशक्ति उत्पादन गर्ने कारखानाजस्ता भएका छन्।
काठमाडौंमा पढ्ने मेरी छोरीका लागि इन्टरनेटको सुविधा प्राप्त छ। उनी र उनका साथीहरू मोबाइल फोनबाट फेसबुकमा आफ्नो ‘स्टाटस अपडेट’ गरिरहेका हुन्छन्। तर, त्यही सुविधा हाम्रो गाउँमा पुगेको छैन। गाउँ र सहरमामा अझै चर्को ‘डिजिटल ग्याप’ छ। त्यसो त, हामी प्रायः आर्थिक गरिबीको कुरा गरिरहेका हुन्छौं। तर, डिजिटल गरिबी उत्तिकै चासोका साथ सम्बोधन गर्नुपर्ने विषय हो। यतिमात्र भए पनि तिनले आफूलाई ‘अपडेट’ गर्नसक्ने थिए।
एसएलसीको रिजल्ट हेर्न मेरी छोरीका निम्ति केही घन्टा कुर्ने धैर्यसमेत थिएन। उनी मलाई मोबाइलबाट एसएमएस गरेको गर्यै थिइन। मैले उनलाई रिजल्ट भएको केही छिनमै जानकारी गराइसकेको थिए। तर, त्यसको भोलिपल्ट बिहान मेरो गाउँकै एउटा भाइको रिजल्ट हेरिदिन आग्रह गर्दै फोन आयो। आखिर ऊ डिजिटल पहँुचमा त पछि पर्यो। सूचना प्राप्तिमा नानो सेकेन्डको पनि महत्व हुन्छ। जसले ढिलो सूचना पाउँछ, ऊ पछाडि त यसै परिहाल्छ नि!
नागरिक
0
comments
Posted in Commentary