‘अरु पीडित साथीहरुले पनि लेखून् भनेर मैले लेखें’

नारायण सुवेदी
शिक्षक, लेखक : १०० दिन माओवादी कब्जामा

माओवादी सशस्त्र द्वन्द्वकालमा रोल्पाका शिक्षक नारायण सुवेदी अपहरणमा परे । दैनिक डायरी लेख्ने बानी परेका यी शिक्षकको त्यो डायरी अहिले ‘१०० दिन माओवादी कब्जामा’ प्रकाशित छ । द्वन्द्वकालमा हजारौंले यातना अपहरण र मृत्यु भोग्नु परेको थियो । हो उनले भोगेको त्यही यातना र पुस्तक प्रकाशनपछि प्राप्त भएको पाठकको समर्थनले उनी पुलकित छन् । माओवादीको आधारभूमि रोल्पाका यी शिक्षक तथा लेखकको डायरी प्रकाशित भएपछि नागरिकका लागि गुणराज लुइँटेलले स्काइपमार्फत् गरेको अन्तर्वार्ता ।किताब आएपछिको प्रतिकि्रया कस्तो छ  ?
किताब प्रकाशन भएपछि म काठमाडौंमा बसिन् जिल्ला फर्किहाले । जिल्लाको परिस्थितिमा राजनीतिक रुपमा केही हुन्छ कि भन्ने थियो त्यस्तो भएन सकारात्मक नै छ ।

किताब लेख्ने भन्ने सुरु देखिकै सोचाइ थियो कि पछि आएर मात्र छापौँ भन्ने सोच्नुभएको हो  कसरी लेख्नु भयो किताब  ?
मैले विद्यालय पढ्दादेखि नै डायरी लेख्थेँ । पछि विद्यालयमा पढाउँदा पनि लेखेँ । धेरै डायरीको संग्रह मसँग अहिले पनि छन् । डायरी लेख्नु मेरो बानी जस्तै हो । अपहरणमा परेपछि पनि सूचना नपाउँदासम्म त मैले लेखिन । तर जब एकजना माओवादी कार्यकर्ताले तपाईं अपहरणमा पर्नुभयो भनेर घोषणा गरे त्यसपछि अब डायरी लेख्नुपर्छ भन्ने लाग्यो । कमसेकम डायरी लेखेर मलाई माओवादी कार्यकर्ताले लगे भन्ने सूचित गर्नुपर्छ भन्ने सोचेर लेख्न थालेँ ।

माओवादीले जब ०५२ फागुन १ गते विद्रोह सुरु गरे त्यसपछि रोल्पा जिल्ला र समग्र मध्यपश्चिम क्षेत्रका पहाडी जिल्लाका बासिन्दा माओवादीको शब्द सापटी लिएर भन्ने हो भने छलाङमा १० वर्ष पछाडि पुगेका हौँ । राणा शासन पनि त्यत्तिको क्रूर थिएन जस्तो लाग्छ मलाई । त्यस्तो स्थितिमा अपहरणमा परेको म माओवादी विद्रोह कहिलेसम्म जाने हो भन्ने पनि निश्चित थिएन त्यसैले किताब एउटा इतिहासको कडी होला भन्ने सोचेर पनि लेख्न थालेको हुँ । त्यो समय एउटा सपना जस्तो पनि भयो त्यसैको सम्झना पनि हुने भयो भनेर किताब निकालेको हुँ ।

किताबमा सबै कुराहरु लेख्न नसक्नुभएको जस्तो पनि देखिन्छ अलिकति जोगिएर वा बीचमा बसेर लेख्नुभएको हो कि के हो ?
कतैकतै त मैले संकेत गरेको छु । तर मनमा भएका जति सबै भावना आवेग पीडा जस्ताको तस्तै लेख्न सक्ने अवस्था थिएन । कतै यसैका आधारमा मलाई थप सजाय पनि हुन सक्छ यसैलाई प्रमाण बनाएर मलाई अप्ठ्यारो पार्न पनि सक्छन् भन्ने सोचेर अलिकति सजग भएको थिएँ । जीवन कहिलेसम्म रहन्छ भन्ने पनि थिएन आज हो कि भोलि भन्ने थियो । निश्चित भन्ने केही थिएन । न्याय निसाफ भन्ने पनि छैन । माओवादीका मान्छे आएर पनि त्यस्तै-त्यस्तै कुरो गर्ने । लेखेको सबै नष्ट गरिदेलान् कि भन्ने पनि त्रास थियो । त्यसैले उनीहरुलाई पनि खासै आपत्ति नहुने गरी लेख्नुपर्ने वाध्यता थियो । तर एउटा खण्डमा भने मैले खुलेरै आफ्नो अभिव्यक्ति दिएको छु ।

तपाईंलाई अपहरण गर्नेहरु र तपाईं अहिले एउटै समाजमा हुनुहुन्छ उनीहरुको के प्रतिकि्रया छ अहिले  ?
जिल्लामा किताब कमै पुगेको छ त्यसैले सबैले पढेका छैनन् । तर मैले साथीहरुका लागि ल्याइदिएको थिएँ, त्यसको माध्यमबाट उनीहरुले थाहा पाइसकेका छन् । किताब छापिएपछि करिब एक महिना जति म जिल्लामा बसेँ । तर मैले खासै नकारात्मक प्रतिकि्रया पाएको छैन ।

कतिपय अपहरणकारी त अहिले पनि भेटिन्छन् होला उनीहरु के भन्छन्  ?
उनीहरुले मलाई भेटेर तपाईंले यस्तो किताब लेख्नुभएछ भन्ने हिम्मत त गरेका छैनन् । जबकि उनीहरुलाई किताबबारे जानकारी छ । उनीहरुका समर्थकले किताब लगेका छन् पढेका छन् र जानकारी गराएका छन् । तर सोध्ने हिम्मत गरेका छैनन् । अपहरणसँग जोडिएका माओवादीका एक जना कार्यकर्ताले मलाई तपाईंको त्यो किताब उलपब्ध गराइदिनुहोला है भनेका थिए । उनीहरुकै समर्थक एक किताब बिक्रेताले पनि तपाईंको द्वन्द्वकालमा अपहरणबारेको किताब निस्केको रहेछ हामीलाई पनि ल्याइदिनुहोस् बिक्री गरौँला भनेका थिए । यी बाहेक अरुको कुनै प्रतिकि्रया नकारात्मक पाएको छैन ।

मरिन्छ कि बाचिन्छ भन्ने अवस्थाबाट अहिलेको अवस्थामा आएर किताब लेखिसक्दाको अनुभव कस्तो छ  ?
अत्यन्तै धेरै मानसिक दबाब हुँदोरहेछ अभिव्यक्त गर्न नसकिने बोझ थियो त्यो धेरै हल्का भएको छ । तहसनहस र िकंकर्तव्यविमूढको स्थितिमा म धेरै समय रुमलिँए । तर किताब निस्केपछि हल्का र राहत महसुस भएको छ ।

मैले भन्दा धेरै र कठिन पीडा भोगेका साथीहरु पनि छन् । छाला चिरेर नुन खुसा्रनी दलिदिएका साथीहरु पनि छन् माओवादी र सेनाको लडाइँ र गोलीको बीचमा बाँचेका साथीहरु पनि छन् । बन्दीको रुपमा माओवादीका हतियार बोकेर भरियाको जीवन गुजारेका साथीहरु रोल्पा रुकुममा पनि प्रशस्त छन् । मैले अपेक्षा गरेको के हो भने दुवैतर्फबाट द्वन्द्वको समयमा भोगेका पीडा आउन् समाजले १० वर्षे द्वन्द्वका घाउहरु स्पष्ट देख्न सकोस् भन्ने हो । अरु साथीहरुले पनि लेखून् भनेर मैले किताब लेखेको हुँ ।

कृतिले द्वन्द्वको घाउलाई मल्हम पट्टी लगाउन सक्ला  ?
कतिपय साथीहरुको घाउमा मल्हम पट्टी पनि गरिदेला । र कतिपय नेपाली जसले रेडियो टिभी र पत्रपत्रिकाबाट मात्र द्वन्द्वलाई देखेका छन् उनीहरुले पनि यसको स्पष्ट चित्र देख्नसक्ने छन् ।

१० वर्षसम्म नेपालीले भोगेको द्वन्द्वको दस्तावेजीकरण हुनुपर्छ भन्ने लागेको हो तपाईंलाई  ?

हो । किनकि यो द्वन्द्वले समाजमा चलिआएको आपसी मेलमिलाप सद्भाव र सहयोगलाई उथलपुथल पारिदियो । भाई-भाई, परिवार-परिवार लोग्नेस्वास्नी र जातजातिबीच विभेद खडा गरिदिएर रक्तरंजित िहंसाद्वारा टुक्राटुक्रा पार्ने काम गरियो । त्यो पीडा त्यो भोगाइ इतिहासमा क्रूरतम घटना हो । जनताका नाममा राजनीति गर्नेहरुले त्यसो गर्नुहुँदैनथ्यो भन्ने लाग्छ ।

तपाईंलाई माओवादीले अपहरण गरे त्यसपछि सेनाले पनि उत्तिकै आतंकित तुल्याएको छ यो दोहोरो मारमा परेका मानिसहरुको प्रतिनिधि घटना पनि हो कि कसरी लिनुभएको छ यसलाई  ?
सेनाले मलाई जसरी चोट पुर् याउने काम गर् यो त्यसमा पनि माओवादीको भूमिका प्रमुख हो । उनीहरुले नै विभिन्न तरिकाले लगाइदिएका हुन् । उसो त सेनाका व्यवहारको दोस्रो खण्ड त बाँकी नै छ । त्यो किताबमा आएन । मलाई त सेनाको व्यवहारले मानसिक रुपमा मात्रै पीडित बनायो । तर माओवादीले जस्तै गरी सेनाले पनि दुःख दिएका भौतिक कारवाही गरेका पीडा भोगेका थुप्रै साथी हुनुहुन्छ । त्यसैले मलाई के लाग्छ भने असहिष्णु बन्ने सेनामा पनि माओवादीमा भन्दा कम थिएन । पुलिसले पनि ज्यादती गरेका थिए । ०५२ देखि ०५८ सम्म उनीहरुको ज्यादती पनि कम थिएन । तर गाउँमा को मान्छे कस्तो हो भन्ने रेकर्ड प्रहरीमा भएकाले उनीहरुको ज्यादति अलि कम थियो । तर संकटकाल लागेपछि सेनाले आफ्नै आग्रह पूर्वाग्रहबाट मानिसहरुलाई तनाब दियो । माओवादीलाई घरमा सुत्न दिएकै कारण धेरै मान्छे सेनाको निशानामा परे । ०५२ देखि ०५८ सम्म जति मान्छेलाई माओवादी बन्न प्रहरीले वाध्य पार् यो त्यो काम संकटकालपछि सेनाले पनि गर् यो ।

माओवादीको तत्कालीन रुपमा सबैभन्दा बढी प्रभाव क्षेत्र रहेको ठाउँको बासिन्दा भएको नाता द्वन्द्वसँग सम्बन्धित अन्य कुनै कृति पनि ल्याउनुहुन्छ कि  ?
द्वन्द्वले मलाई धेरै प्रभाव पार् यो । त्यसैले त्यो समयमा लेखेका सबैजसो रचना द्वन्द्वबाट प्रभावित छन् । द्वन्द्वबाटै प्रभावित भएर अधिकांश कविता लेखेँ । त्यो कृति तयार भइसकेको छ । कथामा पनि द्वन्द्वको प्रभाव परेको छ । त्यो पनि तयार छ । द्वन्द्वले ल्याएका पीडा निराशा र पे्रम विछोडका कथा छन् । समयले साथ दियो र पाठकले माया गर्नुभयो भने प्रकाशित गर्ने सोच छ । यही किताबको पनि आगामी संस्करणका लागि पाठकको सुझाव अनुसार केही संशोधन र केही स्पष्ट पार्दैछु ।

किताबमा ‘बोई’ सम्बोधन गरेर एक जना बुढी आमाको बारे लेख्नुभएको छ बढी संवेदनशील चरित्र छ । अहिले उनको अवस्था के छ  ?
उहाँ अहिले पनि जीवित हुनुहुन्छ । मेरो सीधा सम्पर्क त छैन म जान पनि पाएको छैन । गाउँका शिक्षक साथी हुनुहुन्छ । उहाँसँग भेट हुँदा हाल खबर सोधिरहन्छु । यसो चुरोट खान सय डेढ सय रुपैयाँ पठाइदिरहन्छु । उहाँले पनि मलाई सम्झिरहनुहुन्छ भन्ने साथीमार्फत् सुनेको छु ।

पश्चिमेली नागरिक १३ साउन २०६९



© grluitel.com || Site by: Turup Sangroula