क्यारमबोर्डका गोटी

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘धानदेखि संविधान’सम्मको एजेन्डासहित छिमेकी मुलुक चीनको यात्रामा छन् । चीन प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दाहालले भने, ‘चीन र भारतको सहयोगबिना निष्पक्ष निर्वाचन कठिन छ ।’

लोकप्रिय कवि भूपि सेरचनको कविताजस्तै छ हाम्रो मुलुक । उनले लेखेका छन्, ‘हामी आफूखुुसी कहिल्यै मिल्न नसक्ने कसैले हामीलाई मिलाइदिनु पर्ने ।’ कवि भूपि यतिबेलासम्म बाँचिरहेका भए उनले लेख्ने थिए, ‘हामी आफूखुसी कहिल्यै चुनाव गराउन नसक्ने कसै न कसैले हाम्रो चुनाव गराइदिनु पर्ने ।’

मुलुकभित्र कुनै पनि काम गर्नुअघि विदेशी गुहार्नुपर्ने अभिशप्त इतिहासबाट हामी ग्रसित छौं । निष्पक्ष निर्वाचन गर्न चीन र भारत किन चाहिने ? यो आफैंले गर्ने काम होइन ? राजनीतिक दलहरूले आपसमा मिलेर चुनाव निष्पक्ष गराउन सक्नु पर्ने हो । तर, उनीहरूलाई यो काम आफैं गर्न सकिन्छ भन्नेमा विश्वास छैन ।

चुनाव आफैं गराउन नसक्ने भएपछि ‘विदेशी प्रभु’हरूले सुझाएकै उपाय अनुसार अन्तरिम मन्त्रिपरिषद् बनेको जगजाहेर छ । आफूखुसी हुने भए दलहरू यसका निम्ति तयार हुने थिएनन् भन्ने तिनका व्यवहारबाट बुझिएकै छ । सरकार बन्यो, तर चुनाव हुन्छ भन्ने विश्वास तिनलाई छैन । बरु सर्वसाधारणमा चुनाव हुन्छ भन्ने विश्वास छ । नेताहरू नै विश्वस्त हुन नसकेका कारण चुनाव गर्नैपर्ने भाषण गरेर हिडेका छन् ।

हाम्रो मुलुकमा नेता भन्दा जनता तत्पर छन्, चाहे त्यो आन्दोलन होस् वा निर्वाचनमा । जसरी बनेको भए पनि चुनाव हुने सर्तमा स्वीकार गरिएको वर्तमान सरकारसमेत त्यसनिम्ति तत्पर हुन सकेको छैन । असारमै चुनाव गराउने झूठो आश्वासन सर्वसाधारणलाई दिइएको थियो । मंसिर आसपासमा चुनाव गराउने आन्तरिक समझदारी भएर पनि बाहिर भने असारमा गर्ने भनेर प्रचार गरिएको अहिले आएर खुलेको छ ।

हामी यस्तो मुलुकका बासिन्दा हौं जहाँ नेताले जति ढाट्न सक्यो त्यति योग्य मानिन्छ । पश्चिमा मुलुकमा ‘लायर’ अर्थात् ढाँटका निम्ति कुनै स्थान हुन्न । जब तिनी ढाँटमा गनिन्छन्, तिनको राजनीतिक भविश्य समाप्त हुन्छ । अतः अहिलेका ढाँट नेताहरूबाट पनि राजनीतिले मुक्ति खोजेको छ, त्यसका निम्ति पनि चुनाव चाहिएको हो ।

एक किसिमबाट मुलुकमा चुनावको माहोल बन्न थालेको छ । राजनीतिक दलहरूले चुनावलाई ध्यानमा राखेर भेला, बैठक, चियापान र अन्य अभियान सुरु गरिसकेका छन् । तैपनि चुनाव मिति घोषणा गर्नेतर्फ पहल भएको छैन । अझ चुनाव मिति घोषणामा समेत राजनीति सुरुगरेका छन् ।

भर्खरै काभ्रेमा तीन पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, झलनाथ खनाल र बाबुराम भट्टराईले पनि चुनाव हुने आश्वासन स्थानीय जनता र कार्यकर्तालाई दिएर फर्केका छन् । यो हाम्रो मुलुक र राजनीतिक प्रणालीको दुर्दशाको स्थिति हो । चुनाव भनेको नियमित प्रक्रिया हो । हाम्रो मुलुकमा भने नेताले सर्वसाधारणलाई चुनाव हुन्छ भनेर आश्वस्त तुल्याउनुपर्ने आवश्यकता छ ।

निष्पक्ष निर्वाचनका निम्ति चीन र भारत धाउने नेताहरूलाई एउटा प्रष्ट हुनुपर्ने पक्ष के हो भने ती दुबै मुलुकमा नियमितरुपमा चुनाव हुन्छ र नेतृत्व परिवर्तन हुन्छ । भारतको लोकतन्त्रको एउटा सशक्त पक्ष भनेकै चुनाव हो । चीन जस्तो कम्युनिष्ट मुलुकमा पनि नेतृत्व परिवर्तन नियमित हुन्छ । भर्खरै मात्र चीनमा नेतृत्व परिवर्तन भएको हो ।

चुनावका दृष्टिले सर्वसाधारणले असाध्यै कम अवसर पाएका छौं । संसद र संविधानसभाका आधा दर्जनपटक र स्थानीय निकायका पनि यस्तै थोरै निर्वाचन आयोजना वितेका ६० वर्षमा भएका छन् । हरेक चार वा पाँच वर्षमा आवधिक निर्वाचनको सुनिश्चितता कायम गर्ने काम यहाँ भएको छैन । पञ्चायत वा राणा शासन काल मात्र होइन लोकतान्त्रिक शासन कालमा समेत चुनाव गराउने काम भएन ।

हाम्रो राजनीतिक नेतृत्वमा चुनाव नगराई शासन गर्ने तीव्र इच्छा देखिन्छ । हुन त उनीहरूले जनसाधारणको सहयोगमा राजतन्त्रको अन्त्य गरे । तर, आफैं छोटे राजतन्त्रको विकासमा लागेका छन् । संविधानसभाको निरन्तर अवधि बढाएर पनि संविधान नलेख्नु यही प्रवृत्तिको एउटा जिउँदो जाग्दो नमुना हो । अहिले आएर तिनले चुनाव हुनै पर्छ भन्दा एउटा विदुषक चरित्रको पुनरावृत्ति मात्र भएको देखिन्छ ।

लोकतन्त्र, विधिको शासन, मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताजस्ता आधारभूत अधिकारमा अरु कसैबाट खतरा छैन, जति खतरा छोटे राजा बन्ने प्रवृत्तिबाट छ । नियमित रुपमा चुनाव गराउने र सर्वसाधारणलाई आफ्नो अधिकार प्रयोगको अवसर दिने अवस्था नभएसम्म लोकतन्त्र बलियो हुन सक्दैन । अहिले चुनावमा ढिलाइ हुनुको कारण पनि दलहरूले आफू बलियो भएको सुनिश्चित नगरी चुनावमा जान नखोज्ने प्रवृत्ति हो भन्ने प्रष्ट भइसकेको छ ।

असारमै पनि चुनाव हुन सक्ने थियो । तर, त्यतिबेला एमाओवादीले आफू बलियो भएको महसुस गर्न सकेन । पार्टी विभाजन भएको अवस्थामा त्यसलाई बलियो बनाउनेतर्फ ऊ लाग्यो । अहिले दलहरू चुनावको तिथि छिटो तय गर्न पहल गर्नु भन्दा पनि आफ्नो पार्टी छाडेर गएका र अन्य पार्टीका कार्यकर्तालाई प्रवेश गराउने समारोहमा बढता व्यस्त भएका छन् ।

चुनावी सरकारका प्रमुख पनि यसलाई सम्पन्न गर्न तत्पर हुनुको सट्टा वातावरण बनाइदिनु पर्ने मागमै निरन्तर अल्झिएका छन् । सरकारको काम अदालतको भन्दा अप्ठ्यारो हुन सक्छ । धेरै मुद्दामा विचार पु¥याउनु पर्ने हुन्छ । तर, उनले भनेजस्तो वातावरण नभएको चाहिँ के हो ? जनता चुनावका निम्ति तयार छन् । नेताले सत्ता सुम्पिसकेका छन् । राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय वातावरण पनि सकारात्मक भएरै यो अवसर पनि आएको हो भन्ने प्रष्ट छ । अब कुन र कस्तो वातावरण चाहिएको हो ? प्रष्ट भएको छैन । कि कतै यो वातावरण पनि कसैले मिलाइदिनै पर्ने भएको हो ?

कसैको गोटी नभई देशभित्रकै यथार्थलाई स्वीकार गरेर काम गर्ने हो भने चुनाव मात्र होइन विकास निर्माण पनि सम्भव छ । धानदेखि संविधानसम्मका निम्ति विदेश धाउनै पर्दैन । देशभित्रको यथार्थभन्दा विदेशको आडभरोसामै विश्वस्त हुने हो भने २०१७ सालमा भूपिले लेखेको ‘हामी’ कविताभित्रको एउटा स्ट्राइकरको गोटीबाहेक के बन्न सकिएला र ?

हामी रङ–रोगन छुटेका,
टुटेका, फुटेका
पुरानो क्यारमबोर्डका गोटी हौं
एउटा मनोरञ्जक खेलका सामग्री
एउटा खेलाडीमाथि आश्रित,
आफ्नो गति हराएका
एउटा स्ट्राइकरद्वारा संचालित
हो, हामी मानिस कम र बढ्ता गोटी हौं ।

अन्नपूर्ण पोष्ट दैनिक, २०७० वैशाख ३ मंगलबार, पृष्ठ ७



© grluitel.com || Site by: Turup Sangroula